राजेन्द्रप्रसाद पनेरु / कञ्चनपुर : चाईना फाउण्डेसन फोर रुलर डिभपलपमेन्टको सहयोगमा कञ्चनपुरका एक हजार दुई सय ४९ विद्यार्थीलाई न्यानो कपडा वितरण गरिएको छ ।
तीन स्थानिय तहका आधारभूत तहका ११ विद्यालयमा मित्र राष्ट्र चीनबाट उपहार स्वरुप विद्यार्थीका लागि पठाइएको न्यानो कपडा वितरण गरिएको हो । फाउण्डेसनका प्रतिनिधि कवित बहादुर नेपालीका अनुसार शुक्लाफाँटाका पाँच, कृष्णपुरका तीन र बेदकोट नगरपालिकाका तीन विद्यालयका विद्यार्थीलाई न्यानो ट्रयाक सुट, गलबन्दी, उनको टोपी, मोजा, पञ्जा लगायत वितरण गरिएको छ । “स्थानिय तहको समन्वयमा मुक्त कमैंया, भूमिहीन, सुकुम्बासी, दलित, विपन्न वर्गका परिवारका बालबालिका पढने विद्यालयको छनौट गरी न्यानो कपडा वितरण गरेका छौं” उहाँले भन्नु भयो, “वितरण गरिएको न्यानो कपडाले चिसोबाट जोगाउन बालबालिकालाई सहयोग पुग्ने अपेक्षा गरेका छौं ।”

शुक्लाफाँटा नगरपालिका वडा नं ९ सिसैया स्थीत मंगल आधारभूत विद्यालयमा आज न्यानो कपडा वितरण कार्यक्रममा बोल्दै नगर उप प्रमुख कल्पना पन्तले पराष्ट्र मन्त्री नारायणप्रकास साउदको पहलमा चीन सरकारका तर्फबाट लक्षित वर्गका बालबालिकालाई न्यानो कपडा वितरण गरिएको बताउनु भयो । नगरपालिकाका छ सय ४९ आधारभूत तहका बालबालीकाले उपहार स्वरुप पठाएको न्यानो कपडा पाएको उहाँले बताउनु भयो । केही दिन अघि मात्रै संयुक्त राष्ट्र संघको सेभ द् चिल्ड्रन नामक संस्थाको सहयोगमा उपलव्ध गराईएको न्यानो कम्बल नगरपालिकाका १२ वटै वडाका पाँच सय जेष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति, सुत्केरी भएका महिला लगायतलाई वितरण गरिएको उहाँले जानकारी दिनु भयो ।

“विपन्न परिवार संग आर्थिक अभाव हुदा बालबालिकालाई न्यानो कपडा उपलवध गराउन सक्ने अबस्थामा थिएन” वडा अध्यक्ष रमेश बहादुर ऐरले भन्नु भयो, “कठयाङग्रीदो चिसोमा पनि बालबालिका एक सरो लुगामै विद्यालय आउजाउ गर्दै आएका थिए, यसै क्रममा धेरै बालबालिका विरामी पनि परेका छन, न्यानो कपडा उपलब्ध गराए पछि बालबालिकालाई नियमित विद्यालय आउन सहज हुने भएको छ ।” उहाँका अनुसार गत वर्ष वडा कार्यालयका तर्फबाट रु एक लाख बजेट विनियोजन गरी विद्यार्थीलाई न्यानो लुगा वितरण गरिएको थियो । चाईना फाउण्डेसलाई लुगा वितरणको कार्यमा ग्लोवल को अप्रेसन अफ डिभलपमेन्ट नामक संस्थाले सहजीकरण गरेको छ ।







