कञ्चनपुर : गजलकार सिद्धनारायण आचार्य (गगन चुम्बन) को गजल संग्रह ‘गगनाँसु’ विमोचन भएको छ । काठमाडौँमा शनिबार हातेमालो साहित्य सङ्गम काठमाडौको आयोजनमा, आयोजित एक कार्यक्रमकाबीच उक्त गजल संग्रह विमोचन गरिएको हो । कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथि डा. कृष्णहरि बरालले ‘गगनाँसु’ गजल संग्रहमा समाजको यथार्त चित्रणको प्रयास भएको पाइएको बताए ।

उनले ‘गगनाँसु’ गजल संग्रहमा रहेका सेरहरू मार्मिक रहेको समेत बताए । लेखक आचार्यलाई बधाई तथा कृति सफलताको कामना गर्दै आगामि दिनमा झन शशक्त रुपमा प्रस्तुतका लागि शुभकामना दिए ।गजलका रचनाकार आचार्यले आफनै जीवनको भोगाईमा केन्द्रीत रहेर गजल रचना गरेको बताए । ‘गगनासु गजल सङ्ग्रह मात्र होइन, यो मेरो आँसुको सङग्रह पनि हो । यो सङ्ग्रहमा रहेका हरेक सेरहरूमा आँसुले कोरिएका अनुभूतिहरू पोखिएका छन् ।

उनले दोस्रो कृति बजारमा ल्याउन पाउँदा निकै खुसी लागेको बताए । भोलिका दिनमा पनि थप कृतिहरू प्रकाशित गर्ने प्रतिबद्धता जनाए । विमोचित कृतिका बारेमा भुवन निस्तेजले समीक्षा गरेका थिए। कृतिको समीक्षा गर्दै उनले सङ्ग्रहमा धेरै विषय र स्वादका गजलहरु समावेश भएकाले पठनीय रहेको बताए। गगन चुम्बनको गजल संग्रह ‘गगनाँसु’ दोस्रो कृति हो । कृतिमा विभिन्न विषयवस्तुमा आधारित ७६ गजल सङ्ग्रित छन्। गगन चुम्बनको २०७४ मा ‘काका’ पहिलो गजल सङ्ग्रह प्रकाशित भएको थियो।