
दोधारा । दोधारा चाँदनी नगरपालिकाका उप मेयर गंगादेवी जोशी भीमदत्त नगरपालिका ६ का वडा अध्यक्ष महेन्द्र खड्काको दाहसंस्कारमा सहभागी भएकी छन् । दोधारा चाँदनीबाट विहान खड्को ऐठपुरस्थित घर आएका शव यात्रामा सहभागी भएर उनी महाकाली नदीमा दाहसंस्कारमा सहभागी भएकी हुन् । उनी मोटरसाइकल पछाडि बसेर महाकाली पुगेकी थिइन् । हिन्दू परम्परा अनुसार मलामी जान नपाउने संस्कार चिर्दै उनी दाहसंस्कारमा सहभागी भएकी छन् । उनी बाहेक अन्य महिला भने दाहसंस्कारमा सहभागी भएनन् ।


ऐठपुरस्थित खड्काको शव यात्रा सुरु भएपछि भीमदत्त नगरपालिका कार्यालय शव पुगाउँदा भने खड्का आफन्त र केही जनप्रतिनिधि शवयात्रासंगै आएका थिए । दोधारा चाँदनीका उप मेयर जोशी पनि उनीहरुसंगै आएकी थिइन् । भीमदत्त नगरपालिका कार्यालयबाट शव यात्रा महाकाली नदीका लागि प्रस्थान गरेपछि जोशी शव यात्रासंगै हिँडेकी हुन् । शव यात्राका सहभागीले उनी दोधारा चाँदनी फर्किन आएको अनुमान गरेका थिए । महाकाली नदीको भुजेला घाट पुगेर उनी दोधारा चाँदनी नगरपालिकाका निवर्तमान मेयर बीर बहादुर सुनारका छोरा मदन सुनार लगायतसित दाहसंस्कार स्थल पुगेकी थिइन् ।काँग्रेसका नेतृ जोशी २०७९ को स्थानीय तह निर्वाचनबाट उप मेयरमा निर्वाचित भएकी हुन् । महिला स्वास्थ्य स्वयम् सेविका पृष्ठभूमिकी जोशी २०७४ को स्थानीय तह निर्वाचनमा पराजित भएकी थिइन् ।

गुल्मी पुख्र्यौलीकी जोशी दोधारा चाँदनी नगरपालिका १० का वासिन्दा हुन् । वडा अध्यक्ष खड्काको पार्थिव शरिरमा उनले विहानै पुष्पगुच्छा अर्पण गरी श्रद्धाञ्जली अर्पण गरेकी थिइन् । दोधारा चाँदनी सहित भीमदत्त नगरपालिका, बेदकोट नगरपालिका, शुक्लाफाँटा नगरपालिका, कृष्णपुर नगरपालिका पुनर्वास नगरपालिकामा उप मेयर र बेलडाँडी गाउँपालिकामा उपाध्यक्ष काँग्रेसका छन् । उनीहरुमध्ये दोधारा चाँदनीका उप मेयर जोशी वडा अध्यक्ष खड्काको दाहसंस्कारमा सहभागी भएकी हुन् ।

बिहीबार विहान मृत भेटिएका खड्काको शवलाई शुक्रबार महाकाली प्रादेशिक अस्पतालबाट घर लगिएको थियो । खड्काका आफन्त, वडाका वासिन्दा सहित राजनीतिक दलका नेता, कार्यकर्ता, शिक्षक, कर्मचारी लगायतका विभिन्न क्षेत्रका व्यक्तित्वले श्रद्धाञ्जली अर्पण गरे । महाकाली नदीको भुजेलामा घाटठमा शनिबार वडा अध्यक्ष खड्काको हिन्दू परम्परा अनुसार महाकाली नदीमा अन्त्येष्टि गरिएको हो ।
महाकाली नदीको भुजेला घाटमा खड्कालाई उनका दुई छोराले दागबत्ती दिएका छन् । खड्काका ८७ वर्षिय बुवा समेत उनका दाहसंस्कारमा सहभागी भए । ४७ वर्षिय खड्का २०७९ बैशाख ३० गतेको स्थानीय तह निर्वाचनबाट वडा अध्यक्ष निर्वाचित भएका हुन् । उनी भीमदत्त नगरपालिकाको नगर प्रवक्ता थिए । स्वर्गिय खड्काका आमा बुवा, श्रीमति र दुई छोरा छन् । काँग्रेसका क्षेत्रीय प्रतिनिधि खड्का यस अघि वडा सभापति थिए ।महाकाली नदीमा दाहसंस्कार अघि खड्काको शवलाई शव यात्रा गरी भीमदत्त नगरपालिका कार्यालय पुगाइएको थियो ।
खड्काको शव यात्रामा राजनीतिक दलका नेता, जनप्रतिनिधि, स्थानीय, आफन्त सहित सयौ जना सहभागी भए ।
शव यात्रा अघि घरमा उनको पार्थिव शरिरमा सुदूरपश्चिम प्रदेश सभा सदस्य एबम् काँग्रेस कञ्चनपुरका पूर्व सभापति बहादुर सिह थापा लगायतले श्रद्धाञ्जली अर्पण गरे । काँग्रेसका युवा नेता खड्काले मिलनसार र व्यवहारिक नेताको छवि बनाएका थिए । स्थानीय तह निर्वाचनमा उनले एक हजार बढी मत ल्याएर निर्वाचित भएका थिए । (साभार : विकल्प दैनिक)






