चार दिनमा जंगली हात्तीको बथानले पारयो दश विघाको गहुँबाली स्वाहा

राजेन्द्रप्रसाद पनेरु/कञ्चनपुर : लगातार जंगली हात्तीको बथान शुक्लाफाँटा नगरपालिका ३ मौरीफाँटाका किसानका खेतवारीमा पस्दै आएको छ । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट किसानका खेतमा छिर्ने हात्तीको बथानले चार दिनको अबधिमा २५ जनाको १० विघा जग्गाको गहुँबाली खाएर नोक्सानी पुरयाएको छ । दैनिक राती १२ बजे निकुञ्जबाट दश देखि पन्ध्रको सङख्यामा छावा सहितको हात्तीको बथान स्थानिय किसानको खेतमा छिर्ने गरेको छ ।

गहुँ बाली खाएर पेट टन्न भरिए पछि विहान चार पछि मात्रै निकुञ्ज तर्फ लाग्ने गरेको महेश महराले बताउनु भयो । “हात्तीको बथान लगातार खेतमा छिर्न थालेपछि भगाउनका लागि रात भर जाग्राम बस्नु परेको छ” उहाँले भन्नु भयो, “चार दिन देखि सुत्न पाएका छैनौं ।”दश कठ्ठा जग्गामा लगाएको गहुँबाली खाएर र खुट्टाले कुल्चेर पुरै नोक्सानी पुरयाएको उहाँको भनाई रहेको छ । “हात्ती निकुञ्जबाट खेतमा छिरेको मात्रै थाहा पाईने गरिएको छ” अर्का किसान गोविन्द बहादुर डगौराले भन्नु भयो, “थाहा पाउदा सम्म खेतको गहुँ बाली सफाचट पारि सक्छ ।” हात्ती धपाउनका लागि स्थानिय बासिन्दाले पालो मिलाएर सुत्ने गरेका छन । पटका पड्काउदा समेत पड्केको ठाउ तर्फ आक्रमण गर्न हात्ती आउने गरेकाले भगाउन समेत निकै सकस रहेको पाहरु राम डगौराले बताउनु भयो ।

स्थानिय स्तरमा कार्वाइड राखेर पड्काउने बन्दक बनाई पड्काउने कार्य संगै उज्यालो गर्न बत्ती बाल्ने, आगो बाल्ने, हो हल्ला गर्ने कार्य गरेपछि विस्तारै निकुञ्ज तर्फ हात्तीको बथान जाने गरेको उहाँको भनाई रहेको छ ।एक विघा जग्गामा लगाईएको गहुँबाली पुरै हात्तीले स्वाहा पारेपछि यस वर्ष गहुँ खरिद गरेर खानु पर्ने अबस्थामा पुरयाई दिएको स्थानिय किसान जितेन्द्र बहादुर चौधरीले बताउनु भयो । “खेतकै गहुँ बेचेर घर खर्च चल्थ्यो” उहाँले भन्नु भयो, “वर्षभरीका लागि खान पुग्दथ्यो, हात्तीले गहुँका बोटनै उखेलेर खान थालेपछि निकै तनावमा रहेका छौं ।” गहुँ खेतीलाई मात्रै सिचाई, जोताई, मलखाद गरी रु २० हजार जति खर्च भएको उल्लेख गर्दै उहाँँले खेती गर्दा लागेको खर्च नउठदा मजदुरी गर्न जानु पर्ने अबस्था आईलागेको उहाँले बताउनु भयो । गहुँबाली संगै हात्तीको बथानले तोरी, उखु, केरा र तरकारी बालीमा पनि क्षति गर्दै आएको स्थानिय किसानहरुको भनाई रहेको छ ।

हात्ती नियन्त्रण गर्नका लागि निकुञ्ज कार्यालयलाई गुहार गरेपनि बेवास्ता गरिएको वडा अध्यक्ष नरेन्द्रप्रसाद चौधरीले बताउनु भयो । “किसानको गहुँबालीमा हात्तीको बथानले निकै ठुलो नोक्सानी गरेको छ” उहाँले भन्नु भयो, “किसानलाई क्षतिपूर्ति सहित हात्ती नियन्त्रणका लागि भरपर्दो उपाय गरिनु पर्छ ।” स्थानिय किसानले हात्ती नियन्त्रणका लागि साईरन जडानको कार्य संगै ठुलो उज्यालो दिने टर्चलाईट, सौर्यवत्ती उपलव्ध गराउनुका साथै मचान निर्माण गरिदिन निकुञ्ज कार्यालय संग माग गरेका छन । हात्तीले चार दिन देखि खेतमा छिर्न थालेपनि निकुञ्ज कार्यालयले चासो नदिएको प्रति किसानले आक्रोसित भएका छन । खेतमा लगाईएको गहुँबाली खाएर सिद्धयाउनै लागेको हात्तीको बथान बस्तीमा छिरेर मानविय क्षति गर्न सक्ने आसंका स्थानिय बासिन्दालाई छ ।

ताजा समाचार