कञ्चनपुरमा खोलादेखि विद्यालयकै छेउमा अवैध क्रसर उद्योग संचालन

कञ्चनपुर :  कञ्चनपुरमा खुलेयाम मापदण्ड विपरित क्रसर उद्योग संचालनमा रहेका छन । जिल्लाका विभिन्न स्थानमा रहेका क्रसर उद्योग मापदण्ड विपरित गैर कानुनी रुपमा संचालनमा रहेका छन । योजना आयोजनाका लागि भन्दै खोलिएका क्रसर उद्योग पनि बषौँ वितिसक्दा संचालनमै रहेका छन । योजनाको म्याद सकिएपछि योजना सम्पन्न गरेर वा नगरेर क्रसर उद्योग गैर कानुनी रुपमा संचालन गरेको भन्दै स्थानीयले बिरोध गरिरहेका छन । क्रसर उद्योग संचालनका लागि आवश्यक मापदण्ड मिचेरै क्रसर उद्योग संचालन भएपछि क्रसर उद्योग छेउछाउका स्थानीयले बिरोध गरिरहेका हुन । स्थानीयले मापदण्ड विपरित विगतका बन्द गरिएका क्रसर उद्योगपनि धमाधम खुलिरहेको र नयाँ क्रसर उद्योगपनि खुलिरहेको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन ।

जिल्लाको पश्चिम क्षेत्र दोधाराचाँदनीदेखि पुर्व गुलरियासम्म ठाँउठाँउमा अवैध क्रसर संचालनमा रहेको भन्दै बन्द गराउन माग अघि सारेका छन । गत विगतका अनुगमन समितिबाट जिल्लाभरी स्थलगत रुपमा अनुगमन गर्दै मापदण्ड र गैर कानुनी रुपमा संचालन गरिएका क्रसर उद्योग पुन संचालन भएको भन्दै स्थानीय, प्रदेश र संघीय सरकारले पुन अनुगमन गर्नुपर्ने माग अघि सारेका छन । उतिबेला अवैध गैर कानुनी भन्दै बन्द गरिएका अहिले के अधारमा खुलिरहेका छन भन्दै प्रशन गरिरहेका छन । गत विगतका बर्षहरुमा स्थानीय प्रशासनबाट अनुगमन गरेर केही अवैध क्रसर उद्योग बन्द गरिएपनि केही पुन संचालनमा आएपछि स्थानीय आश्चर्कित भएका छन । अवैध र मापदण्ड विपरित भनिएका क्रसर उद्योग पुन संचालनमा आएको भन्दै उनीहरुले कतै सेटिङ्ग गरेर त संचालनमा ल्याएको भन्दै सरकारी निकायप्रति आशंका गरेका छन । कञ्चनपुरका हुलाकी राजमार्ग प्रयोजनका लागि भन्दै खोलिएका दुई क्रसर उद्योग मापदण्ड विपरित गैर कानुनी रुपमा संचालनमा छन ।

०७३ फागुनमा ३० महिनामा सम्पन्न हुने गरी ठेक्का भएको हुलाकी राजमार्ग निर्माण कम्पनीद्वय बाबाहंस सिद्धिकीशाही, शर्मा राजेन्द्र जेभीले न काम सकेका छन, न मापदण्ड अनुरुप क्रसर उद्योग संचालन गरेका छन । गत बर्ष जिल्ला अनुगमन समिति कञ्चनपुरले जिल्लाका तीन क्रसर उद्योग बन्द गराएको थियो । उक्त क्रसर उद्योग बारे अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालयमा उजुरी परेपछि अख्तियारका निर्देशन अनुरुप मापदण्ड विपरित गैर कानुनी रुपमा संचालनमा रहेका तीनै उद्योग बन्द गराईएको थियो । अख्तियारका अनुसार दोधाराचाँदनी नगरपालिका ३मा रहेको बासुलिङ्ग कन्सक्ट्रन प्रालि, बेदकोट नगरपालिका ३ को बेदकोट निर्माण समाग्री केन्द्र र कृष्णपुर नगरपालिका ५ गुलरियामा रहेको महाकाली गौरब विल्डर्स क्रसर उद्योग विद्युत लाईन काटेर बन्द गराईएको थियो । यसका साथै तत्तकालिन कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी राम कुमार महतो नेतृत्वको अनुगमन समितिले जिल्लाका क्रसर उद्योगको स्थलगत अनुगमन गरेको थियो ।

गृह मन्त्रालयले देशभरीका क्रसर उद्योगको अनुगमन गर्न सम्बन्धीत प्रमुख जिल्ला अधिकारीलाई निर्देशन दिए अनुरुप जिल्ला अनुगमन टोलीले कञ्चनपुरका दुई उद्योग बाहेक अन्य सबै क्रसर उद्योग अवैध र गैर कानुनी तरिकाले मापदण्ड मिचेर संचालनमा रहेको तथ्य पाएको सार्वजनिक गरेको थियो ।  तत्तकालिन प्रजिअ महतो नेतृत्वको अनुगमन टोलीले बेदकोट नगरपालिका ९ सुन्दरपुरको सिद्धनाथ अनमोल क्रसर उद्योग र बेदकोट नगरपालिका ८ भाँसीको जोशी क्रसर उद्योग बाहेक अन्य सबै क्रसर उद्योग गैर कानुनी र मापदण्ड विपरित संचालनमा रहेको प्रतिवेदन गृहमन्त्रालमा पेश गरेको थियो । उक्त प्रतिवेदन कार्यान्वयन भए नभएको बारेमा समेत स्थानीयले प्रशासनसंग माग गरेको छ । क्रसर उद्योग संचालनका लागि वातावरण प्रभाव मुल्याङ्गकन (आईई) सहितका विभिन्न मापदण्ड रहेका छन ।

हाईटेन्सन लाईनबाट १ सय मिटर टाढा, राजमार्ग, खोला, पक्की पुलबाट ५ सय मिटर टाढा, चुरे र अन्र्तराष्ट्रिय सीमा बाट १ किलोमिटर टाढा, शिक्षा, स्वास्थ्य, सुरक्षा, वन, घनाबस्ती, सुरक्षा निकाय, वन, निकुञ्ज, आरक्ष, धार्मिक साँस्कृतिक पुरातात्विक महत्वका स्थानबाट २ किलोमिटर टाढा हुनुपर्ने र सम्बन्धीत स्थानीय तह, वन, कार्यालयबाट प्रमाणित हुनुपर्ने मापदण्ड तय भएपनि अधिकाँस क्रसर उद्योगले मापदण्ड मिचेर संचालन गरिहेका छन । तर, क्रसर उद्योगका केही संचालकहरुले योजनाका लागि स्वीकृत लिएर संचालन गरिरहेको दावि गर्दै आएका छन । कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी गोपाल कुमारी अधिकारीले अवैध तथा मापदण्ड विपरित संचालनमा रहेका क्रसर उद्योगको जिल्ला समन्वय समिति कञ्चनपुरका प्रमुखको संयोजत्वमा रहेको समिति मार्फत अनुगमन गरेर कार्बाही गरिने बताए । ‘कुनै उजुरी वा त्यस्ता उद्योग गैर कानुनी रुपमा संचालन भएको पाईए, कार्बाही गछौँ, ‘प्रजिअ अधिकारीले भने, ‘गैर कानुनी कामकाज प्रशासनले समेत निरुत्साहित गर्छ ।’

ताजा समाचार