मनालीको मोहनी (भारत भ्रमण डायरी २०२३)

कञ्चनपुर : पुर्व निर्धारित समय तालिका (दशैं लगत्तै) जाने योजनामा परिवर्तन आए पश्चात हामी २०८०।७।१ मा भारतका विभिन्न स्थानका भ्रमणमा जाने निधोमा पुग्यौं । आवश्यक सम्पुर्ण तयारी गरी ५ सदस्यीय भ्रमण टोली ७।१ मा अमृतसर,कुल्लु मनाली,सिमलाको गन्तव्य लिइ बिहान ५बजे गन्तव्यका लागि घरबाट निस्किीसकेको थियोैं । शारदीय शालिन बिहानीमा कञ्चन हावा ग्रहण गर्दै हामी अटो रिक्सामा सुकासाल हुदै नेपाल भारत सिमा गड्डाचौकी पुग्यौं । छेउैमा रहेको नेपालको ठुलो झण्डा नजिक सामुहिक फोटो खिची शेयर पश्चात सशस्त्र सिमा बलको चेकिंगका लागि केही समय रोकियौं । बनबासा जानका लागि बिहान ६ बजे पश्चात मात्र एसएसबीको आवश्यक चेकजाँच पश्चात अनुमति हुदो रहेछ । त्यस पछि हामी पैदल रुपमा अगाडी बढी बनबासा पुल मुनिको महाकाली नदिको प्रभातकालीन दृश्यावलोकन गर्दै अगाडी बढिरहेको थियौं । सो पश्चात हामी ईलेक्र्टीक रिक्सामा बसी बनबासा बस स्टेश्न पुग्यौं । पहिलो गन्तव्य हामीले पञ्जाब राज्यको अमृतसरको बनाएका थियो । हामी सुरुमा डाइरेक्ट बसको खोजीमा थियौं ।बुझ्दै जादा डाइरेक्ट बस चाही दिउँसो मात्रै जाने थाहा भए पछि हामीले चिया पिइ ,मोबाइलमा रिचार्ज गरीहरिद्धारको गाडी समात्यौं ।

पावन तिर्थ नगरी हरिद्धारको बसमा बसी करीब ४ बजे तिर हामी बस स्टेश्न पुग्यौं । बसबाट उत्रे पश्चात रिफ्रेस भइ काँक्रा खायौं । गाडीको वाक्वाकीका कारण काँक्रा अत्यन्त मिठा लागिरहेको थिए,उसो त हामी हरिद्धार पुग्दा सम्म पनि गाडीमै बेच्न ल्याउनेहरुबाट चना,चटपट आदि तारान्तर खाइ रहेकै थियौं । हरिद्धार बस स्टेश्नबाट डाइरेक्ट अमृतसरको गाडी समेत नपाइने रहेछ,चाहेका बखत । निश्चित समयमा जाँदो रहेछ । त्यस पछि हामी पञ्जाब हरियाणाको संयुक्त राजधानी चण्डीगढ जाने बसमा बसी अम्बाला केन्ट सम्मको टिकट बनायौं । भ्रमण टोलीका सबै सदस्यका लागि उक्त ठाउँ नयाँ रहेकाले गुगलको सहायताले जानकारी लिइ रहेका थियौं । हरिद्धार जिल्ला समेत ठुलै रहेछ,बाबा रामदेवको पतञ्जलीविश्वविद्यालय(विद्यापिठ) लगायतका संस्थाहरुबाटैमा पर्दा रहेछन । हरिद्धारलाई छिचोले पश्चात उत्तर प्रदेश राज्यको सहारनपुर जिल्ला पर्दो रहेछ । त्यस पश्चात हरियाणा राज्यको ईलाका सुरु हुदो रहेछ । हामीले त्यहाँ ढावामा केही नास्ता लिए पश्चात फेरी बसमा बसी अगाडी बढि रह्यौं । रातीको करीब १० बजेतिर बसले हामीलाई अम्बाला केन्टमा झार्यो । राती पनि दिन जस्तै हुन्छ भारतमा,र पो तरक्की गरेको छ । ओभरब्रिजबाट समेत उत्तिकै गाडी गइ रहेका,२ लेनबाट समेत त्यत्तिकै मान्छे गइ राखेका,खाना नास्ताका ठेलाहरुमा मान्छेहरुको उत्तिकै भिड,अटो रिक्सा समेत सवारी खोज्नका निम्ति लामबद्ध बसेका,दिन भन्दा कुनै कम्ती थिएन,रातिको त्यो समय । बडो प्रकाशमय लाइटिंगको व्यवस्थाले समेत दिन रातको अन्तर थाहा नहुने अवस्था थियो । त्यस पछि हामी रात्री विश्रामका लागि होटल चाहर्दै गर्दा मेरो नजर अम्बालाको नगरपालिका परिषद्ले व्यवस्था गरेको रैनबसेरा(यात्री विश्राम स्थल)मा पर्यो । हामी त्यहाँ गएर बुझ्दा खेरी आइडी प्रुफ चाहिने र निःशुल्क रुपमा बस्ने सकिने त्यहाँका क्लर्कबाट अवगत भए पश्चात हामी सबै जना आ आफ्नो नागरिकता,आइडीको फोटोकपी गर्न पसल तिर लाग्यौं । सो पेश गरे पछि हामी रेैनबसेरा प्रवेश गर्यौं ।

मापसे सेवन गर्न नहुने ,बिहान ६ बजे कोठा छोड्नु पर्ने,प्रचलित अन्य नियमको पालना गर्नु पर्ने लगायतका विषय सुने पछि केही साथीहरु खाना खान बाहिर निस्कनु भयो । हामी २ जना(राजेन्द्र कार्की समेत) खाना नखाने निधोमा पुग्यौं,वाक्वाकीर थगानले गर्दा । लुवाको एंग्ल बनाएर खाट माथी समेत खाटको व्यवस्था गरिएका कोठा देख्दा सुरुमा छुट्टै महशुश भयो । राती २ घण्टा मात्रै सुते पनि आफुलाई पुगि हाल्ने कुराबाट त्यहाँका क्लर्कको जागिर प्रतिको निष्ठा अनुभुति भइ रहेको थियो । पालिकाले यस प्रकारको आम मानिसको सजिलोका लागि गरिदिएको निःशुल्क व्यवस्था देख्दा अत्यन्तै खुसी लागेर आयो । सार्वजनिक स्थल भएका कारण होला ,कोठामा बत्ती निभाउन नहुने र ढोका समेत बन्द गर्न नहुने नियम थियो । खानाखाइवरी आइसके पश्चात सबै साथीहरु एक छिन गफगाफ र दिन भरिको खर्च भागवण्डा पश्चात रात्रीकालिन निन्द्रामा प्रवेश गर्यौं । २०८०।७।२ बिहानै उठी नित्य कर्म सकेर हामी नजिकैको अम्बाला बस स्टेश्न पुग्यौं । केही छिनको ढिलाइले हाम्रो डाइरेक्ट अमृतसरको बस भने छुटी सकेको थियो ।त्यस पछि केही समयको प्रतिक्षामा समेत डाइरेक्ट गाडी भेटाउन नसके पश्चात हामी जालन्दरको गाडीमा चढ्यौं । प्रभातकालिन घामका किरणसितै हामी हरियाणा,पञ्जाबका धानका मोहक फाँटहरु,रोडबाट देखिने फेक्र्टीहरु हेर्दै अगाडी बढि रह्यौं । अघिल्लो दिन बनबासा र बाटामा किनिएका चिप्स,पेठा,खजुर खादै आपसी कुराकानी गर्दै बाटोका यात्रा छिचौल्दै थियौं । करिब १२ बजेको समयमा हामी जालन्धर बस अड्डा पुग्यौं । त्यहाँ रिफ्रेस सँगै चिया,पेस्टी खाइ शिख धर्मावलम्बीहरुको पावन तिर्थ अमृतसर स्वर्ण मन्दिरका लागि गाडीमा बस्यौं ।

सधै उस्तै भिड हुदो रहेछ,अमृतसर जाने रोडवेजका बसहरुमा,तिर्थको महानताका कारण । हामी करीब २ः३० बजेतिर बाटामा रहेका विशालकाय भवन,विभिन्न संरचना हेर्दै अमृतसर बस अड्डा पुग्यौं । अमृतसर आफैमा पञ्जाब प्रान्तको एक जिल्ला समेत रहेछ । बस अड्डा समेत ठुलो रहेछ । त्यहाँबाट प्रति सवारी २०।(भा रु) तिरी नजिकैको गोल्डन टेम्पल जानका लागि अगाडी बढ्यौं । अटो रिक्सावाला समेत अलिक चलाखी खेल्दा रहेछन,हामीलाई स्वर्ण मन्दिर नभइ उन्ले होटलमा लगे ,बसाइका निम्ति ,बुझ्दै जादा उक्त होटलका रुमहरुको शुल्क अलिक महंगो भएकाले हामी रिक्सामा बसी गोल्डेन टेम्पलको अगाडी रहेको बजार नजिक पुग्यौं । त्यहाँ कुल्फी आदि खाइ केही छिन सतही विश्राम गर्यौ ।हाम्रो योजना सो दिन भारत पाकिस्तानको वाँगा बोर्डर हेर्ने समेत रहेको थियो,सम्भव भए सम्म नजिकैको जलियावाला बाग समेत । हामी उभिएको छेउमा होटलमा बस्न अनुरोध गर्ने थुप्रै व्यक्ति आउदै थिए । तिनै मध्ये एक जनासँग कुराकानी गरी होटल हरपालमा बस्ने निधो सहित हामी त्यहाँ पुग्यौं । सानै होटलमा समेत लिफ्ट सिस्टम हुदा रहेछन् । माथिल्लो तलाको अटेच रुममा झोला सामान राखी हामी वाँगा बोर्डर जाने सोचका साथ बाहिर आयौं । सुरुमा हामीले आलुपराठा,दही,अचार खाइ शरीरको गाडीलाई उर्जा प्रदान गर्यौं । हामी खाना खाइ रहेकै ठाउँमा रिक्सावालाहरु वाँगा बोर्डरका सवारी खोज्न आइरहेको थिए । ६० । भारुमा ल्याउने पुर्याउने सम्झौता बमोजिम हामी अटो रिक्सामा बसी अमृतसर बजार छिचोल्दै अगाडी बढि रह्यौं । सोही दिन भारतका केन्द्रीय मन्त्री नितिन गडकरीको उपस्थितीमा बांगा बोर्डरमा भारतकै ठुलो झण्डा अनावरण कार्यक्रम समेत रहेकाले बाटामा टार्फिक जाम हुनुका साथै पञ्जाब पुलिसहरु समेत बाटा भरी फिजिएका थिए ,सो को परिणामस्वरुप हामीे मुल मार्गलाई छोडेर वाइपासबाट थप भाडा दिइ बांगा बोर्डर पार्किंग स्थल पुग्यौं ।

राष्टियता प्रति समर्पित भारतका थुप्रै मानिसको उपस्थिति हुदो रहेछ त्यहाँ । भारतको झण्डा(तिरंगा)को टेटु(छाप) बनाइ दिन भनि थुप्रै पेशेवर आइरहेका थिए,भारतको नक्सा र झण्डा अंकित टोपी,टिर्सट बेच्ने पनि उस्तै । बोर्डरको ठाउँबाट पाकिस्तानको सिमा सुरु भइ लाहोर शहर २२ किमिको दुरीमा पर्दो रहेछ ।वारी भारत पारी पाकिस्तान,हेर्दाको दृश्य बढो सुन्दर थियो । भारत पाकिस्तानको बर्डरलाई पुरै तार जालीले घेरिएको रहेछ । सुरक्षार्थ बोर्डर सेकुरिटी फोर्स(बिएसएफ) को ठुलै डफ्फा तैनाथी गरिएको रहेछ ।हजारौंको संख्यामा सुरक्षाकर्मीहरु देशको रक्षार्थ शस्त्र सहित खटिएका देखिन्थे । हामी बिस्तारै दैनिक रुपमा भारत पाकिस्तानको संयुक्त आयोजनामा हुने परेड हेर्न अगाडी बढिरहेका थियौं । परेड लगायतका कार्यक्रम व्यवस्थापन समेतका लागि प्याराफिटयुक्त ठुलै भवन बनाइएको रहेछ । पारी पट्टी पाकिस्तान लेखेको गेट देखिन्थ्यो (उर्दु भाषामा समेत)। गेटको बिच भागमा पाकिस्तानका संस्थापक मोहम्मद अलि जिन्हाको फोटो राखिएको थियो । बिचमा काँडेतारको बार ,गेटमा चाहि भारत र पाकिस्तानका हतियारधारी सुरक्षाकर्मी । बेलुका ५ बजेबाट करिब १ घण्टा समयको परेड हुदो रहेछ । संयुक्त परेडमा भारत तर्फ जय हिन्दको नारा घन्क्दो रहेछ भने पाकिस्तान तर्फ समेत जय पाकको । माइकमा बढो आवाज गुञ्जिने गरी गरिने परेड हेर्न विभिन्न ठाउँमा सुरक्षा जाँच पश्चात मात्रै पुग्न सकिने रहेछ । प्याराफिटको माथिल्लो तलाबाट पाकिस्तानका सिमावर्ती गाउँघरहरु समेत देखिन्थे । छेवैमा भारत पाक् भन्सार समेत रहेछ ।थुप्रै गाडीहरु त्यहाँ थुप्रिएका थिए । ब्ल्याक कमाण्डोका थुप्रै सुरक्षाकर्मी बिच केन्द्रिय मन्त्री नितिन गडकरी समेत मञ्चासिन देखिन्थे । प्याराफिटको ठिक अगाडी रहेको ठुलो झण्डा समेत विशेष तवरले सजाइएको थियो । हामी करीब पौने घण्टा परेड कार्यक्रम र पाकिस्तानको सिमावर्ती दृश्यहेरी त्यहाँका सुरक्षाकर्मी समेतसित फोटो लिइ अमृतसर स्वर्ण मन्दिरका लागि अटोमा बसी रमाना भयौं । अटोमा जम्मु कटरामा रहेको वैष्णो देवी दर्शन गरि आएका मानिस समेत सित परिचय भयो,मध्य प्रदेश निवासी ।हामी अटोमा सुरुमा सिधै बस स्टेश्न गयौं,किनकी हामीले भोलिपल्टै कुल्लु मनालीको यात्रा तय गर्नु थियो । बस अड्डामा बुझ्दा बिहान ४ः४०बजे बस मनालीका लागि छुट्ने जानकारी लिइ हामी ५ सदस्यीय भ्रमण टोली स्वर्ण मन्दिर तर्फ प्रस्थान गर्यौं । स्वर्ण मन्दिर अगाडी खानेकुरा,लुगाफाटा,मौलिक सांस्कृतिक सामानहरु पाइने थुप्रै कलात्मक भवनमा सजिएका पसलहरु थिए । हामीले प्राइभेट गाडीले मनाली पुर्याउने समय र खर्चबारे पनि जानकारी लियौं । सो पश्चात हामीले राम लड्डु खायौं(दलहन पिसेर सो को पिठोबाट बनाइएको सामग्री)। त्यस पश्चात हामी चकमन्न लाइटिंगले सजिएको बजार हुदै मन्दिर प्रवेश पुर्व जुत्ता चप्पल राख्ने ठाउँमा पुग्यौं । सेवाभावको यत्रो पराकाष्ठाकि हामी राख्छौ जुत्ता चप्पल निःशुल्क भनि स्वयम्सेवा गर्नेहरु निःस्वार्थ आइ रहेका थिए ।

लकरमा राख्न दिइ सो को टोकन लिइ शिख धर्मावलम्बीहरुको टाउँको ढाँकी मन्दिर प्रवेश गर्ने परम्पराको नियमलाई निरन्तरता दिइ मन्दिर भित्र प्रवेश गर्यौ । टायल मार्बलले सजिएको, बिचमा तलाउ, सो को बिचमा स्वर्ण लेपले बनेको मन्दिर,हजारौंको संख्यामा दर्शनार्थी बढो आनन्दको अनुभुति भइरहेको थियो । हामीले सुरुमा व्यक्तिगत र सामुहिक फोटा मन्दिर र सरोवर समेत आउने गरी लियौं,त्यस पश्चात आंशिक परिक्रमा गरी मन्दिरको बाहिरबाटै दर्शन गर्यौं । अनि हामीले छेवैमा रहेका भोजन स्थल(लंगर)मा गइ खिर,कडी ,रोटी ,भात,दाल लगायतका परिकारहरु निःशुल्क ग्रहण गर्यौं । दानदाताहरुकै सहयोगबाट त्यहाँ २४ घण्टा जोसुकैका लागि भण्डारा चल्दो रहेछ ,सेवा गर्ने व्यक्ति समेत त्यहाँ प्रायःजसो स्वस्र्फुत रुपमा खटिदा रहेछन । भोजन स्थलबाट हामी फेरी मन्दिरतर्फ प्रवेश गर्यौ,सेवा गर्ने व्यक्तिहरु हातमा धारिलो वस्तु अड्काइएको लठ्ठी लिइ तल्लीन थिए । ठुलो सरोवर बिचमा स्वर्ण लेपित मन्दिर चारै तिर संगमर्मरयुक्त भवन,बिचबिचमा अनुपम हरियाली प्रदान गर्ने वृक्षहरु,छेवछेवमा पुष्प वृक्ष, पानी बाड्न उद्यत सेवकहरु,ठुला प्रकाशमय बल्बको उज्यालो सरोवरमा पर्दा देखिने दृश्य बढो मोहक थिए । सो पश्चात हामी टोकन दिइ आफ्ना जुत्ता चप्पल लिइ बाटामा केशर मिसाइएको तात्तातो दुध माटाको(कुल्लड) गिलासमा खाइ,चस्मा लगायतका सामान किनि गफ गर्दै करीब रातिको ११ बजेतिर होटलको विश्राम कक्षमा पुग्यौं ।त्यहाँका व्यापारीबाट रातिको १२।१ बजे सम्म मानिसहरुको यस्तै चहलपहल रहने र पसल खुल्ला रहने व्यहोरा अवगत भयो । हामीले कोठामा दिनभरीको खर्चको बटवाँरा गरी निन्द्रामा विलिन भयौं । दैनिक रुपमा एक जनाले दिनभरिको खर्चको जिम्मा लिने र राती त्यसलाई सामुहिक भाग लगाइ हिस्सामा परेको रकम दिने व्यववस्था गरेका थियौं ।२०८०।८।३ मा बिहान नित्य कर्म गरी हामी अमृतसर बस अड्डा जाँदा ४ः४० मा  छुट्ने गाडी प्रस्थान भइ सक्दा हामीले तुरुन्तै मनालीको अर्को गाडी नभेटाउदा अलग अलग गाडी भए पनि जाने सोचका साथ चण्डीगढ जाने गाडीबाट यात्रा सुरु गर्यौं । २ घण्टा जतिको समय पश्चात हामी जालन्धर स्टेश्नमा पुग्यौं । गाडी १ ५ मिनेट जति रोकिने जानकारी पश्चात हामीले केही नास्ता लियौं । त्यस पश्चात अम्बालाको सिधा बाटो छाडी गाडी नवानशहरको अर्को रुटमा हुइकिन थाल्यो । चण्डीगढका लागि करीब १० बजेतिर पुनःगाडीले नास्ता ।रिफ्रेसका लागि रोके पछि हामीले केही सुक्खा खानेकुरा किन्यौं । करीब १२ बजेको समय अवधिमा हामी चण्डीगढ बस स्टेश्न पुग्यौं । बढो आकर्षक शहर रहेछ चण्डीगढ,हरियालीलाई उत्तिकै महत्व दिइएको र ठाउँठाउँमा सार्वजनिक आराम कक्ष समेत बनाइएको । चण्डीगढ स्टेश्नमा उत्री आवश्यक रिफ्रेसमेण्ट पश्चात हामीले मनाली जाने गाडीको काउण्टरमा बुझ्दा तत्काल जाने तय नभएपछि मण्डी भन्ने ठाउँ जाने एसी गाडीको टिकट लियौं र सो का लागि प्रस्थान गर्यौं ।मण्डी मनाली जाने बाटोमा पर्ने ठाउँ रहेछ । चण्डीगढ स्टेश्नमा किनेका समोसा र प्याक्ड सस(चटनी)खाइ हामी हिनिरहेका थियौं । बाटोमा केही समय खाना।खाजाका लागि गाडीले रोकेपछि नास्ता।खाना लिइ हामी बसमा बस्यौं । एकछिन समेत फुर्सद नहुने अति व्यस्त जीवनशैली भइरहेको थिया,ेहाम्रो ,गाडीले पनि तोकिएको भन्दा एक मिनेट बढी नरोक्ने,निर्धारित समय भित्रमा जे पनि गरि हाल्नु पर्ने । पञ्जाव प्रान्तलाई बिदा गरी हिमाञ्चल प्रदेशप्रवेश गर्नु पुर्व केही समय गाडी बिग्रिएकाले रोकिनु पर्यौं । गाडीको वेरिंगमा समस्याका कारण बनेपनि गाडीले धेरै गति लिन सकिरहेको थिएन । हिमाञ्चल प्रदेशको पहाड सुरु भइ सक्दा समेत त्यहांको विकास,पुर्वाधारले हामीलाई पहाडको अनुभुति भइरहेको थिएन ।

टु वे सडक,मोडहरुमा फराकिलो बाटो ,ठुला मोडहरुलाई पार गर्न चट्टान फोडेर बनाइएका सुुरुंग मार्गले पहाडलाई झन सुशोभित पाररहेका थिए ।विलासपुरमा केही समय गाडीले रोके पछि हामी बस बाहिर आएर त्यहाँको बस स्टेण्ड लगायत हेर्यौं। सो पश्चात यात्रा गर्दै गर्दा गाडीले करीब ५ बजे तिर मण्डी बस अड्डा पुर्यायो । बस स्टेण्डमा रिफ्रेस पश्चात केही खानेकुरा किनि आउँदा मनालीको गाडी छुटिसकेको थियो । यत्रो व्यस्त कार्यतालिका छ त्यहाँ, र पो तरक्की भएको छ । हतार हतार गाडीमा चढी हामी मनाली जाने रोड तर्फ अगाडी बढ्यौं ,मण्डीबाट । सुरुमा खोलाको किनारै किनार जाँदो रहेछ,बाटो ,खासै राम्रो पिच समेत नभएको बाटो । अलि अगाडीबाट वान वे रहेछ ,वर्षात्मा आएको बाढीका कारण । हामीले आधा घण्टा बढी गाडीको पालोका लागि वेटिंग गर्यौ,क्रमिक रुपमा अगाडी बढिरहेका गाडीका लाइटहरुको लस्कर हेरी राखेका थियौं,बसबाट । काठमाण्डौंजादा नागढुगां अगावै पर्ने जाम जस्तो । गाडी रोकिएको मौकामा चना चटपटे बेच्नेहरु समेत आइरहेका थिए,बाटाभरि प्रायःठाँउमा भुनेका चना,प्याज,मसाला,निम्बु हाली बनाइएको चट्पट् खादा खादा जिब्रो छोलि सकिएको थियो । विस्तारै जाम खुले पछि हामी अगाडी बढ्यौं,कच्ची वान वेमा पुरै धुलो धँुवा थियो । गाडीको गति समेत औधी थियो । मा.प.से. गरेका एक जना यात्रीले पुरै गाडी दुर्गन्धीत पनि पारिराखेका थिए । सुरुंग मार्गहरु समेत पछ्याइ प्रख्यात ठाउँ कुल्लु पुग्दाको रातीको परिवेश पनि आनन्दीत थियो । सो को अल्लि अगाडी गाडीले रोकी अर्को गाडीमा हामीलाई सिफ्ट गरेपछि चण्डीगढबाट मनाली जाने हाम्रो तेश्रो गाडीको यात्रा भइरहेको थियो । त्यस गाडीमा बाँके ।बर्दिया घर भएका केही जागिर गर्न गएका नेपालीहरुसंग समेत भेट भयो । करीब १० बजे राति हामी मनाली बस स्टेश्नमा उत्रियौं,हिमाली क्षेत्र भएको हुनाले अत्यन्तै चिसो अनुभुति भइरहेको थियो । कोठा उपलब्ध गराइ दिने प्रयोजनका लागि होटलका मानिसहरु बसस्टपमै आएका थिए । आवश्यक कुराकानी गरी रात्रीविश्रामका लागि हामी होटलमा गयौं । तातो पानीको व्यवस्थाका लागि गिजर थियो,माथिल्लो तलाको कोठा,मार्बलले सजिएको ।

चेक इन पश्चात अलिक रिफ्रेससितै हामी खाना खान मल रोड आयौं । च्याँउको तरकारी,तन्दुरी लगायतको भोजन ग्रहण गरी जिएसटी समेत समावेश गरिएको बिल पे गरी मनालीको मल रोडको रात्री दृश्य हेर्न तर्फ लाग्यों । रात्रीको ११।१२ बजे सम्म पनि मान्छेहरु मल रोडमा उत्तिकै घुमिराखेका देखिन्थे ।त्यहाँ केही थान फोटा लिइ हामी होटल रुममा प्रवेश गर्यौं । दिनभरिको यात्रा समिक्षा,खर्च शेयर र भोलिपल्टको योजना चर्चा गर्दै निन्द्रामा आफुलाई समाहित गर्यौं । २०८०।७।४ मा बिहान उठ्ने बित्तिकै हिमालको दर्शन गरी आफ्नो दिनचर्या प्रारम्भ गर्यौं । हाम्रो भ्रमणको मुख्य केन्द्र हिमाञ्चल प्रदेशको मनाली भ्रमणको अन्तर्गत हामी नास्ताका लागि मल रोड आयौं । छोले भटुरेको नास्ता पश्चात हामीले मनालीका मुख्य मुख्य घुम्ने स्थल भ्रमण गराउने गाडीको कुरा गर्दा टाटा सुमो गाडी दिनभरको लागि २७००। भारुमा बुक गर्यौं । हामी सुरुमा हिमाल हेर्नका रोहतांग जाने योजना बनाइ अगाडी बढीरहदा बाटामा हिउँ खेल्नका लागि चाहिने उनी कपडा,बुट भाडामा लिइ र मोजा किनि अगाडी बढ्यौं । गाडीवालाले बजाइराख्नु भएका सुन्दर गीत तथा हिमाली परिपवेश विस्तारै आउदै गरेका घामका किरणहरुले बढो आनन्द दिइराखेको थियो । जादै गर्दा बाटामा बाटोमा लटरम्म फलेका स्याउका वृक्षसमेत देखिन्थे । अलिक अगाडी जिप लाइन खेल्ने ठाउंहरु समेत थिए । हाम्रो ५ सदस्यीय समुहका केही साथीहरुले जिप लाइन( नदीको माथी डोरीबाठ ओहोरदोहोर गर्ने) खेल्नु भयो । बाटोमा हामी हिमाल समेत आउने गरी फोटाहरु लिइ जिपभित्र गित गाउदै रमाइलोका भिडियोहरु बनाउदै अगाडी बढीरहेका थियौं । रोहतांगका लागि अगाडी बढ्दै गर्दा बाटामा हामीले चिया पियौं,नास्ता स्टेश्नमा । सार्है चिसो हावाको सिरेटो चलिरहेको थियो । त्यहाँबाट अगाडी बढ्दा हाम्रो नजर पेराग्लाइडिंगमा गयो । समुहका ४ सदस्यले ३०००। भारुमा करीब ४ हजार मिटरको हाइटमा पेराग्लाइडिंग गर्यौ। अत्यन्तै फरक तथा डरको अनुभव भइ रहेको थियो । आवश्यक ड्ेर्स ,बेल्ट,हेल्मेट सहित उच्चो पहाडबाट गाइडका साथमा सेल्फी स्टीक सहित स्वयम्को भिडियो छायांकन गर्दै अलग अलग रुपमा अगाडी बढ्यो । खुला आकाशमा पंक्षी जस्तै उड्न पाउँदा रमाइलो संगै कताकता डर पनि पैदा भइ रहेको थियो । गाइडले सर्र यता सर्र उता गर्दा खेरी खसिन्छ कि भन्ने सोचिन्थ्यो भने सिधा उडाइमा रमाइलो अनुभुति भइरहेको थियो । करीब १०।१५ मिनेटको पेराग्लाइडिंग गरी हामी उडान भरेको स्थानबाट १०।१५ मिनेट दुरीको तलको बाटोमा रहेको ठाउंमा झर्यौं ।

त्यहां आकाशमा भइराखेका बेला पेशेवर क्यामेरामेनले स्र्माट क्यामेरा फोटा खिच्दा रहेछन र पछि ति सफ्टकपी फोटाको २००।३०० भा.रुको दरले रकम माग्दा रहेछन । हामी उड्दाका बखतका भिडियो र फोटाहरु लिइ गाडीमा बसी उडान भरेको स्थान सम्म पुग्यांै । त्यहाँ केही समय विश्राम पश्चात रोहतांग पासका लागि अगाडी बढ्यौं । करीब १ः०० बजेतिर रोहतांगमा हिमालको समिपमै पुग्दा एकदमै नविन अनुभव हासिल भइ रहेको थियो । सेताम्य परेको हिमालय,हजारौं मान्छे हिमाल खेल्न आएका,कोही स्केटिंग गरिराखेका,कोही याक(चौरी गाइ)मा बसि हिमाल घुमिरहेका,कोही हिउँ एक अर्कामा फाली रमाइलो गरिराखेका दृश्यहरुले आनन्दानुभुति गरिराखेको थियो । हामी पनि सुरुमा मोहक हिमालका समिपमा फोटाहरु लिइ म्यागी सुप र चिया खाइ आफ्ना हिउँ खेल्ने डिरेस लगाइ रोडबाट तल हिमालमा गयौंं । हिमालका ढिस्काहरुको आकृति बनाइ,एक अर्कामा छ्यापी रमाइ,विभिन्न पोजमा व्यक्तिगत र सामुहिक फोटो लिइ अति आनन्द गर्यौ । विभिन्न साथीहरुले विभिन्न तवरले मजा लिइ रहेका थिए, कसैले हिउँ खेलेर, चौरीमा बसेर त कसैले माथीबाट हेरेर मात्रै । बडो हस्यांग फस्यांग साथ साच्चिकै रमाइलो हुने हिमालमा खेली करीब १ घण्टा पछि हामी फेरी बुकिंग गाडी छेउ आयौं। पुनः मेगी सुप, चिया खाइ हामी ले लद्दाख रोड तर्फ अटल टनलका लागि प्रवेश गर्यौ. । भारतले प्रकृतिमा स्वतः उत्पन्न हुने वस्तुबाट करौडौं आम्दानी गरको छ, हजारौं मान्छेलाई रोजगारी दिएको छ, कारण, विकासका पुर्वाधारको विकास गरेर,सूचना प्रविधिको माध्यमबाट स्थानहरुको व्यापक प्रचार गरेर । यसको ज्वलन्त उदाहरण हो रोहतांगको हिमालय क्षेत्र, जहाँ लाखौं मानिस हिमाल हेर्न बर्सेनी आउँछन, करौडौं खर्च गरेर जान्छन, लगानी छ त केवल बाटाघाटामा र प्रचारमा, बाँकि हिउँ त स्वतः पैदा हुने विषय हो । जम्मु कश्मीर जोड्ने भित्रि मार्ग भएर पनि होला यस क्षेत्रको सडक निर्माणको जिम्मा आर्मीले प्राप्त गरेको रहेछ । रोहतांगमा चिया,नास्ता बेच्नेहरुलाई बोल्न समेत फुर्सत थिएन,चाउचाउ जस्तै मेगी बनाएको ७०।भारु । सिलिण्डरमा भएको गेस जम्ने कारणले मट्टीतेलका माध्यमबाट स्टोभहरुमा नास्ता बनाइ राखेका थिए , नास्ता बेच्नेहरुले । हामी अटल टनल तर्फको यात्रामा थियौं ,बाटामा गाडीमा बिस्कीट खादै अगाडी बढिरहेका थियौं,गाडीवालाबाट त्यहाँका स्थान तथा विषयका बारेमा समेत जानकारी लिदै थियौं । रोहतांगबाट उत्तर तर्फ जाने बाटो ले लद्दाखका लागि अटल टनलबाट छुट्टिो रहेछ । हामीले भारतकै लामो १० कि.मि. दुरीको सुरुंग मार्गको जिपबाटै अवलोकन गर्यौं। पहाडका मोडबाट लामो दुरीलाई घटाउन त्यत्रो विशाल टनलको चट्टान फोडी निर्माण गरिएको रहेछ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले उद्घाटन गरेको त्यो टनल अटल विहारी वाजपेयीका नामबाट निर्माण गरिएको रहेछ,त्यसको पश्चिमी प्रारम्भ बिन्दुमा फोटा खिची हामी गाडीमा बसी अगाडी बढ्यौं । त्यस पछि हामी अलिक अगाडी सोलांग भेली पुग्यौं,जहां उचाइबाट हिमाल हेर्ने व्यवस्था मिलाइएको रहेछ ।

स – सानो पार्क समेत रहेको त्यस ठाउँमा केही बेर बाहिरबाटै हेरी हामी हिडम्बा देवी टेम्पल गयौं,जसका लागि गाडीवालाले अतिरिक्त सुविधा लिएका थिए । शारदीय नवरात्रको समय समेत चलिरहेकाले हिडम्बा देवी मन्दिरसंगै जाँत समेत अवलोकन गरी केही बेर मन्दिरमा बस्यौं । भारतको आर्कियोलोजिकल सर्वे अफ इन्डिया भित्र पर्दो रहेछ ,यो मन्दिर ,महाभारतकालिन समयका भिमसंग जोडिएको । मन्दिर दर्शन पश्चात हामी गफ गर्दै हिन्दै मनालीको मल रोड पुग्यौं ,भोलिपल्ट सिमला जाने बसको समयको समेत जानकारी लियौं । केही बेर बजारको रमाइलो हेरी हामी कोठामा आयौं रेष्ट ,रिफ्रेस पश्चात खाना खाइ घरका लागि केही लुगा,खानेकुरा(काजु।बदाम) खरिद गरि रमाइलो गर्दै कोठामा पुग्यौं । नियमित जस्तै दिनभरिको हिसाब शेयर गरी हामी दिनभरिका फोटाहरुलाई आ आफ्नो मोबाइलमा शेयर गरि भोलिपल्टको कार्ययोजना निर्माण गर्यौ । हामीले ७ गते बिहान दशैंको टिकाका लागि घरसमेत पुग्नु थियो भने सिमला भ्रमणको आनन्दको अनुभुति पनि गर्नु थियो । केही बेर भएपनि सिमला घुमेरै जाने योजना पास गरी हामी निन्द्रामा विलाप भयौं ।
२०८०।७।५ बिहानै नित्यकर्म पश्चात होटलबाट चेकआउट भइ मनाली बसस्टेश्नकामा नास्ता खाइ सिमलाका लागि हिमाञ्चल पथ परिवहन निगमको बसमा बस्यौं । बाटामा अघिल्लो दिनका फोटाहरु फेशबुकमा शेयर गर्ने काम समेत चलिरहेको थियो । गाडीले तोकेको समयमा नपुग्दा कण्डक्टरबाट फट्कार खादा समयपालनाको महत्व हृदयंगम भइरहेको थियो । करीब १२ बजेतिर खाना खाइ ३ बजे नास्ता सितै हामी सोलन जिल्ला हुदै ४ः३०बजे तिर हिमाञ्चलको राजधानी सिमलाको मल्टीपर्पस बसस्टेश्नमा पुग्यौं,जहाँ विभिन्न ठाउँका लागि छुट्ने बसहरु विभिन्न तलामा थिए । भुइमा रोड,त्यसमाथीको तलामा बस ।हामी बसबाट उत्री सुरुमा रिफ्रेस भइ बनबासा।टनकपुर जाने बसका लागि सोध्यौं,काउण्टरमा । बेलुकीपख डाइरेक्ट बस जाने व्यहोरा अवगत पछि हामी भोलि पल्ट बिहानको फस्ट गाडीमा हरिद्धार जाने र त्यहाँ समेत केही बेर घुमि बनबासा हुदै घर जाने योजनाका साथ त्यस रातको विश्रामका लागि होटल खोज्न अगाडी बढ्यौं । सिमलाको मेन बजार मल बजार बसपार्क भन्दा करिब २ कि.मि.पर रहेछ । हामीले १६००। भारुमा कोठा बुक गरी सिमलाका मुख्य ठाउँहरु हेर्ने योजना साथ बसपार्क आयौं,टेक्सीवालाले बढी भाडा दिइ पुगाउदा रहेछन भने सिमला इन्टरस्टेट बस अड्डाबाट रातिको ९ बजे सम्म मल रोडका लागि गाडी जादा रहेछन,रु.१० कोप्रति यात्री टिकटमा । करीब १० मिनेटको अवधिमा हामी मलरोड पुग्यौं,समुहका १ जना सदस्यको आकस्मिक योजना परिवर्तनले मन त्यति खुलि रहेको नभए नि मल रोडका दृश्यहरुले मनमा नौलो भाव पैदा भइ रहेको थियो ।बजार चाहिँ रोड भन्दा अलि हाइटमा रहेछ,त्यही रहेछ हिमाञ्चल प्रदेशको विधान सभा,राज्य पुस्तकालय ।

अन्य थुप्रै सरकारी अड्डा समेत त्यही रहेछन् । हामीले त्यहाँको प्रख्यात पर्यटकीय बजार,द रिज लगायतको अवलोकन गर्यौ । भ्यु टावरमा गएर रात्रीकालिन जुनकिरिझै उज्याला छरिरहेका दृश्य हेर्यौं । सार्है मनमोहक रहेछ सिमला,पहाडको बिचमा औधी विकास । टिरेन समेतको सुविधा,मोहित पार्ने वातावरण,सार्हेै आनन्दीत भइ राखेको थियो ,मन ।रातीमा हामी फोटोहरु लिदै,गुडपापडी खादै सिमला बजार घुमिरहदा केही स्थान चाँही पुग्न समय अभाव भएको महशुस भएको थियो । अग्लो स्थानको जाखु मन्दिर्र,स्याउ बगान ,टोइ टिरेन चढ्ने रहरचाँही पुरा नहुने फिक्स भइ सकेको थियो । किन्की हामीले भोलिपल्टै हरिद्धारका लागि प्रस्थान गर्नु पर्ने थियो । हामी सिमला बजार हेरी बसमा बसी करीब १० बजे बस अड्डा पुग्यौं,त्यहाँ खाना खाइ होटलमा पुग्यौं,दिनभरिको खर्च शेयरसंगै सामान्य गफपछि बेड रेष्ट गर्यौं । २०८०।८।६ मा बिहान ५ः०० बजे उठी नित्यकर्म पश्चात हामी सिमला बसस्टेश्न पुग्यौं, रुपेडिहा जाने बसमा बसी हरिद्धार झर्ने योजना सहित यात्रा सुरु गर्नु पुर्व केही साथीहरु स्याउको दर बारे बुझ्न जाँदा बगानमा सस्तो हुने र बजारमा सस्तो नहुने व्यहोरा अवगत गरी यात्रा सुरु गर्यौं । करीब पौने घण्टाको हिनाइ पश्चात गाडीमा आएको खराबीले केही समय बाटामा रोकिनुु पर्यो । नास्ता लिइ हामी गाडीमा बस्दा कुरा गर्दै जाँदा प्रायः यात्रुहरु नेपालकै भेटिन्थे जो कामका शिलशिलामा त्यहां गएका र दशैका अवसरमा घर फर्कि रहेका थिए ।हामी हिमाञ्चल प्रदेशलाई बिदा गरी पहाड कटाइ हरियाणाको समथर भुभाग पुग्दा गाडीले आफ्नो गति समेत तेज पार्दै लगिरहेको थियो । बाटामा नास्ता लिइ हामी जाँदाकै बाटो सहारनपुर हुदै आइरहदा बाटामा मौसमी लगायतका खानेकुरा खादै गफ गरिरहेका थियौं,करिब ३ः३० बजेतिर बसले हामीलाई हरिद्धार बस स्टेश्नमा छोडिसके पछि रिफ्रेस भइ हरियो धनिया मिसाइएको भिजाएको चना खाइ नाताका व्यक्ति रमेश कलौनी मुख्य व्यवस्थापक रहेको कनखल स्थित हंशाश्रम जानका लागि अटोमा रु.२०। प्रति सवारी दिइ चढ्यौं । हंशाश्रममा कलौनीजी संग भलाकुसारी पश्चात केही बेरमा कोठामा आराम गर्यौ,चिया खाइ सामुहिक फोटो लिइ त्यहाबाट हरिकि पैडी तर्फ आयौं । बाटामा अमृतसरमै खाने धोको रहेको चने कुल्छे खाइ पावनधाम हरिद्धारमा गंगा आरती हेर्यौं । हजारौं तिर्थालु बिच बगीरहेकी गंगानदीमा हामीले पनि श्रद्धाका डुब लगायौं ।

वाह ,सुरुमा चिसो जस्तो लागे पनि पछिको न्यानो अनुभुति सितै गंगा सभालाई केही स्वऐच्छिक सहयोग गरी हामी फपलफुल खाइ प्रसादी किनि होटलमा भोजन ग्रहण बाटामा घरका लागि चाहिने पुजा तथा अन्य सामग्री किनि अटो चढी बस स्टेश्न पुग्यौं । बसस्टेण्डमा केही पेठा तथा स्याउ किनि हामी बनबासाका लागि करिब ८ः३० बजे बसमा बसी बाटामा बस रोकिएको स्थान चौधरी ढावामा लस्सी खाइ २०८०।७।७ गते करिब ३ः३० बजेतिर बनबासा पुग्यौं । अकस्मात रुपमा शान्तिकुञ्ज गायत्री परिवारका सदस्य तथा कृषि विकास बैंकका पुर्व प्रबन्धक देव दत्त ओझासरसितको भेटले समेत हर्षित तुल्यायो ।रातिनै भएकाले केही बेर विश्राम गरी करीब ५ बजेतिर ५सदस्यीय भ्रमण टोली बनबासाबाट घरका लागि चाहिने केही सामग्री किनि अटोमा चढी शारदा इन्टरकलेज पुग्यौं,त्यहाँको गेट ६ बजे खुले पछि बिहानीको पैदल यात्रामा मज्जाले लमक लमक हिन्दै बनबासा पुल हुदै एसएसबी चेकपोष्टमा चेकजाँच गराइ आफुसंग भएको सामान बाँदरबाट सुरक्षित राखी गड्डाचौकी ७ नम्बर पिल्लर नजिक पुग्यौं । नेपाल पुगिसकेको जानकारी सबैलाई सार्वजनिक गर्ने हेतुले ७ नं.पिल्लरमा सामुहिक फोटो लिइ ई रिक्सामा चढी कुशलतापुर्वक विजया दशमी २०८० को सुअवसरमा करीब ७ः३० बजे सकुशल घर पुग्यौं । समग्रमा भारतका उत्तराखण्ड,उत्तरप्रदेश,हरियाणा,पञ्जाव,हिमाञ्चल गरी ५ राज्यका केही स्थानको ७ दिने भ्रमण बडो आनन्द पुर्वक सम्पन्न भयो । व्यवस्थीत योजनाबाट थोरै बजेटमा पनि धेरै ठाँउ घुम्न सकिने थाहा भयो । साथीहरु बिचको आत्मीयतालाई थप प्रवर्धनका निम्ति ,नयाँ नयाँ ठाउँको ज्ञान आर्जन तथा अनुभव ग्रहणका लागि यस प्रकारका भ्रमण आवश्यक रहेको अनुभुति भयो ।
भ्रमण टोलीका सदस्य :
१. सुशिल भट्ट
२.राजेन्द्र कार्की
३.अमित प्रसाद भट्ट
४.राजन भट्ट
५.पंकज राज जोशी


लेखक : अमित प्रसाद भट्ट
भीमदत्त न.पा.७, हल्दुखाल, कञ्चनपुर
सुदुरपश्चिम प्रदेश, नेपाल । मोबाइल : ९८४८७४४५३५

ताजा समाचार