छरुवा(डिआरएस) प्रविधिले धानको उत्पादन बढ्दो

राजेन्द्रप्रसाद पनेरु/बेदकोट : बेदकोट नगरपालिका ८ का रण बहादुर मल्ल सेवानिवृत कृषि अधिकृत हुन । उहाँले लिजमा जग्गा लिएर उन्नत प्रविधिको प्रयोग गरी कम मिहिनेतमै बढी धान उत्पादनमा लाग्नु भएको छ । धानको उत्पादन बढाउनका लागि उहाँले छरुवा धान खेती प्रणाली (डिआरएस) अपनाउनु भएको छ । रोपेको धान भन्दा उहाँले खेतमा छरेको धान फस्टाउदो छ । चिस्यानयुक्त खेतमा मेसिनको सहायताले सिधै उहाँले उन्नत जातको युएस ३०५ जातको धान छर्नु भएको हो । “यस प्रविधिमा धान रोप्नका लागि खेल हिल्याउनु पर्दैन” उहाँले भन्नु भयो, “नत रोपाहाको खोजी गरी खेतमा धान रोप्नुनै पर्छ, सिधै खेतमा सिड ड्रिल मेसिनको प्रयोग गरी धानको बीउ र मल राख्ने गरिन्छ ।” परम्परागत विधिको तुलनामा प्रविधिको प्रयोग गरी लगाईएको धान खेतीको लागत खर्च तीन गुणाले कम हुने गर्दछ ।

एक बिघा जग्गामा परम्परागत विधिमा लगाईएको धान भन्दा यस प्रविधिमा लगाईएको धानको लाग खर्च रु १५ हजार देखि रु २० हजार कम लाग्ने गरेको उहाँ बताउनु हुन्छ । “छरुवा विधिबाट लगाईएको धानको बालामा तीन सय ८० देखि ४०० दाना लागेका छन” सेवनिवृत अधिकृत मल्लले भन्नु भयो, “परम्परागत विधि रोपाई गरी लगाएको धानमा अधिकमा एक ६० दाना मात्रै रहेका छन, प्रविधिको प्रयोग गरी गरिएको धान खेतीको उत्पादन दोव्वरले बढी भएको छ ।” चार बिघा जग्गामा उहाँले छरुवा विधिबाट धान खेती गर्नु भएको छ । धानको उत्पादन बढ्दो रुपमा रहेकाले अर्को वर्ष बढी जग्गा लिजमा लिएर धान खेती गर्ने उहाँको सोच रहेको छ । उहाँकै प्रेरणाले बेदकोट नगरपालिका ३ का किसान दिपेन्द्र रावलले पनि छरुवा विधिको प्रयोग गरी एक हेक्टर क्षेत्रफलमा धान खेती गर्नु भएको छ । मेसिनको प्रयोग गरी धान खेतमा र्छन थालेपछि छिमेकीले जग्गा बाँझो राख्ने भो भनेर मुखामुख गरेको उहाँ स्मरण गर्नु हुन्छ ।

“धानका बोटले गाँड फोडेर जव बाला लाग्न शुरु भए मुखामुख गर्नेहरु यसै प्रविधिको प्रयोग गरी अर्को वर्ष देखि धान खेती गर्छौ भन्न थालेका छन” उहाँले भन्नु भयो, “अर्को वर्ष देखि छिमेकका २५ जना किसानले यस प्रविधिमा धान खेती गर्ने भएका छन ।” डेढ बिघा जग्गामा रोपाई गरेर धान खेती गर्दा मुश्किलले २० देखि २२ बोरी मात्रै धान उत्पादन हुने गरेको उहाँ बताउनु हुन्छ । आधुनिक तरिकाले थोरै श्रममा धान खेती गर्दा यस वर्ष धानको उत्पादन बढेर दोव्वर बढी हुनेमा उहाँ विश्वस्त हुनुहुन्छ ।“खेतमा झुलेका धानका बाला हेर्न दैनिक खेतमा पुग्ने गरेको छु” उहाँले भन्नु भयो, “यसरी धान खेतमा झुलेको पहिलो पटकनै हो, लोभ लाग्दो छ, नगरपालिकका कृषि जेटिए पनि हप्तामा एक पटक धान नियाल्नका लागि पुग्ने गरेका छन ।” पहिलो वर्ष भएकाले झारपात व्यवस्थापन भनेजस्तो गर्न नसकिएको उल्लेख गर्नु हुदै उहाँले अर्को वर्ष देखि व्यवस्थीत तरिकाले खेती गरी बढी उत्पादन लिने बताउनु हुन्छ । यस प्रविधिबाट धान खेती गर्दा प्रति हेक्टर पाँच मेट्रिक टन धान उत्पादन हुने सेवनिवृत कृषि अधिकृत मल्लको भनाई रहेको छ । थोरै सिचाई गरे पुग्ने, कम बीउ लाग्ने, न्यून श्रमशक्तिको प्रयोग हुने भएकाले यस प्रविधिमा धान खेती गर्दा लागत खर्च घटने उहाँ बताउनु हुन्छ ।

“जलवायु परिवर्तका कारण केही वर्ष यता देखि मनसुनी वर्षा ढिलो गरी हुन थालेको छ” उहाँले भन्नु भयो, “यसले धानबाली प्रणालीमा नकारात्मक असर गरेको छ, यस्तो अबस्थामा छरुवा धान खेती प्रविधि उयुक्त छ ।” अधिकृत मल्लले आफुल मात्रै यस्तो प्रविधिमा धान खेती नगरेर अरु किसानलाई पनि प्रविधि बारे जानकारी गराई उन्नत धान खेती गर्न तर्फ किसानलाई उत्प्रेरित गर्दै आउनु भएको छ । वर्षातका बेला डिआरएस प्रविधिमा धान खेती र हिउदमा उहाँले रैथाने जातको आलु खेती गरि आम्दानी लिदै आउनु भएको छ । वर्षमा दुवै खेतीबाट रु १५ देखि रु २० लाख जति आम्दानी हुने गरेको उहाँँ बताउनु हुन्छ । उन्नत प्रविधिमा खेती गर्नका लागि प्रधानमन्त्री कृषि आधुनिकिरण परियोजना कार्यान्वयन इकाई कञ्चनपुरले मलखाद र बीउमा सहयोग पुरयाएको छ ।

ताजा समाचार

spot_img