कञ्चनपुर : शुक्लाफाँटा नगरपालिकामा ५९ औँ राष्ट्रिय बाल दिवसको अवसरमा निबन्ध लेखन प्रतियोगिता सम्पन्न भएको छ । नगरपालिकाद्धारा आयोजित निबन्ध लेखन प्रतियोगितामा नगरभित्रका सामुदायिक तथा संस्थागत गरी २८ विद्यालयको सहभागिता रहेको थियो । प्रतियोगितामा प्रत्येक विद्यालयबाट आधारभूत तह कक्षा (६-८) का एक/एक जना विद्यार्थीको सहभागिता रहेको थियो । कृष्ण माध्यमिक विद्यालय झलारी (साविकको श्रोत केन्द्र भवन) मा बाल अधिकार संरक्षण विषयमा विद्यार्थीहरुले निबन्ध लेखका थिए ।

कक्षा ६,७ र ८ का विद्यार्थीहरुबीच भएको निबन्ध लेखन प्रतियोगितामा सिद्धनाथ माध्यमिक विद्यालय बेलडाडीकी छात्रा करिश्मा भण्डारी प्रथम भएकी छन् ।द्धितीय अनिरुद्र माध्यमिक विद्यालय बनसमितिकी छात्रा जेनिसा विजले र खप्तड इङ्गलिस बोर्डिङ्ग स्कुलकी मेनुका जोशीले तृतीय भएकी छन् । उनीहरुलाई क्रमश: ५ हजार,४ हजार र ३ हजार नगद सहित प्रमाणपत्र,मेडल प्रदान गरिएको थियो । सिद्धबैजनाथ माध्यमिक विद्यालय बन्साहकी महेश्वरी भट्ट सान्त्वना भएकी थिइन् । उनले २ हजार नगद सहित प्रमाणपत्र,मेडल प्राप्त गेरकी थिइन् । कार्यक्रममा पुरस्कार वितरण गर्दै शुक्लाफाँटा नगरपालिकाका नगर प्रमुख रण बहादुर महराले बौद्धिक कार्यक्रमले विद्यार्थीका आन्तरिक प्रतिभा प्रष्फुटित गर्न मद्दत पुग्ने बताए ।

उनले बालबालिका भविष्यको कर्णाधार भएको बताए । उनले विद्यार्थीहरुले अनुशासित भएर अध्ययन गर्नुपर्नेमा जोड दिए । नगर उपप्रमुख कल्पना जोशी पन्तले अतिरिक्त क्रियाकलापहरु भएमा विद्यार्थीहरुको चौतर्फी विकास हुने बताइन् । बालबालिकाहरूमा अन्तर्निहित सृजनात्मक अभिव्यक्ति क्षमताको पहिचान गर्ने भएकाले पालिका स्तरीय निबन्ध लेखन प्रतियोगिताको आयोजना गरीएको शिक्षा शाखा प्रमुख सुरेश प्रसाद भट्टले बताए ।







