हरित सडकको परिकल्पना सहित पुनर्वासको कृषि सडक छेउमा बृक्षारोपण

कञ्चनपुर: कञ्चनपुरको दक्षिणी भेग पुनर्वास नगरपालिकामा कृषि सडकको दुवै किनारमा वृक्षरोपण गरेको छ । ‘हरित सडक’ बनाउने अभियान अन्तर्गत पुनर्वास नगरपालिका वडा नं ४ को कृषि सडक छेउमा बिरुवा लगाइएको छ ।  पुनर्वास नगरपालिकाको सहकार्य, कुण्डा सव वन डिभिजन कार्यालय पचगडियाको सहयोग र पुनर्वास नगरपालिका वडा नं ४ को आयोजनामा सुदुरपश्चिमेली हरूको महान् चाड गौरा पर्वको शुभ अवसरमा आज वृक्षारोपण कार्यक्रमको शुभारम्भ गरिएको छ। हरियाली र सुन्दर नगरपालिकाको परिकल्पना सहित वडा नं ४ को कृषि सडक क्षेत्रमा १५ मिटरको दूरीमा वृक्षरोपण गरिएको वडा अध्यक्ष मनोज जैसीले बताउनुभयो । रोपिएका विरुवाहरुको संरक्षणको लागि स्थानिय वडावासीहरूले प्रतिबद्धता जनाए पश्चात पुनर्वास नगरपालिका वडा नं ४ मा बृक्षारोपण गरिएको वडाध्यक्ष जैसीले जानकारी दिनुभयो।

हाल उक्त क्षेत्रमा करिब २ हजार बिरुवा सडकको छेउमा रोपिएको छ । नगरपालिकाको सहकार्य र वडाको आयोजनामा रोपिएको बिरूवाहरूको सुरक्षा र उक्त बिरूवालाई जोगाउने कार्यमा समेत एक्यबद्धता जनाउँदै स्थानिय वडावासीहरू,बुद्धिजीवी समाजसेवी ,युवाहरु र जनप्रतिनिधिले सडक छेउमा गरिएको बृक्षारोपण को खुलेरै प्रशंसा गरेका थिए। पुनर्वास नगरपालिकाका उपमेयर एवं कार्यवाहक नगर प्रमुख भुलिया कुमारी रानाको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा प्रमुख अतिथि रानाले नगरले लगानी गरेर मात्र विकास दिगो नहुने हुनाले स्थानिय सरोकारवाला निकाय,निजि क्षेत्र संघ संस्था व्यक्तिको पनि लगानी रहेमा संरक्षण र संवर्धन र दिगो हुने उल्लेख गर्नुभयो ।

उहाले हालै बृक्षारोपण गरिएको स्थानलाई विसुद्ध गार्डेनिगं रमणिय स्थल बनाउने र पुनर्वास नगरपालिकाकै उदाहरणको रुपमा प्रस्तुत हुने बताउनुभयो । वृक्षारोपण कार्यक्रममा नगर उपप्रमुख एवम् कार्यवाहक नगर प्रमुख भुलिया कुमारी राना,वडाध्यक्ष,वडासदस्य,निजामती कर्मचारी,सुरक्षाकर्मी र स्थानीयहरुको उल्लेख्य सहभागिता रहेको थियो ।पालिकाको सौन्दर्यीकरणसँगै ग्रामीण क्षेत्रमा जीविकोपार्जन सुधारका लागि वृक्षरोपण महत्त्वपूर्ण रहेकोले आगामी दिनहरूमा हरित सडक बनाउने कार्यक्रम अन्तर्गत पालिकाभित्र निर्माण भएको सबै सडक किनारमा वृक्षरोपण गरिने नगरपालिकाले जनाएको छ ।

ताजा समाचार