कञ्चनपुर : बेदकोट नगरपालिकाले सघीय सरकारसंग कञ्चनपुरको दैजी छेला औद्योगिक क्षेत्र संचालनको माग अघि सारेको छ । बेदकोट स्थानीय सरकारले नगरपालिका २ र ३ मा बन्ने भनिएको दैजी छेला औद्योगिक क्षेत्र शिघ्र संचालनको माग अघि सारेको हो । शिलान्यास भएको ३० महिनासम्म पनि कार्यान्वयनमा नआएको भन्दै स्थानीय सरकारले संघीय सरकारको ध्यानाकर्षण गराएको छ । बेदकोट नगरपालिका प्रमुख भोजराज बोहरा, निवर्तमान मेयर अशोक चन्द भीमदत्त नगरका मेयर पदम बोगटी सहितको टोलीले संघीय सरकारका मन्त्री सहितका निकायलाई ज्ञापन पत्र बुझाउँदै छेला औद्योगिक क्षेत्र संचालनका लागि ध्यानाकर्षण गराएका छन ।

बुधबार बेदकोटका मेयर भोजराज बोहरा निवर्तमान मेयर अशोक चन्द, भीमदत्त नगरका मेयर पदम बोगटी सहितको टोलीले वन तथा वातावरणमन्त्री बिरेन्द्र महतो, परराष्ट्रमन्त्री एनपी साउद, औद्योगिक विकास केन्द्र कम्पनीका सचिव भुषण उपाध्याय सहितको टोलीलाई भेटेर यथाशिघ्र औद्योगिक क्षेत्र संचालनको माग अघि सारेका हुन । बेदकोट नगरका मेयर भोजराज बोहराले संघीय वनमन्त्री, परराष्ट्रमन्त्री सहितका सरोकारवाला पक्षको ध्यानाकर्षण गराउँदै काम अघि बढाउन माग अघि सारेको बताए । १४ माघ ०७३ को मन्त्रिपरिषद् बैठकले साबिक चारकिल्ला संशोधन गरी पूर्वतर्फ मुक्त कमैयाबस्ती, धेउडीथुम खोल्सा, पश्चिमतर्फ साजगाड खोला, उत्तरतर्फ चुरे वन र दक्षिणमा चाँदनीफाँटाबस्ती राजमार्ग पश्चिमतर्फको पर्ती जग्गा कायम गरिएको छ । चार सय बिघा क्षेत्रफलमा उद्योग स्थापना गरिनेछ । एक उद्योगीका लागि पाँच कट्ठादेखि पाँच बिघा जमिन छुट्याएको छ । कुल नौ अर्ब लागत अनुमान गरिएको छ । ६ भदौ ०७५ मा औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेड सञ्चालक समितिको बैठकबाट तीन सय ५५ बिघा जमिनको डिपिआर सम्पन्न भएर स्वीकृत भइसकेको छ । साना २३ उद्योगका लागि सातदेखि १० कट्ठा, ४४ मझौला उद्योगका लागि १०–२० कट्ठा र ३३ ठूला उद्योगका लागि एकदेखि पाँच बिघा जग्गा छुट्याइएको छ ।

सरकारको वान स्टप सर्भिर सेन्टर नीतिका आधारमा औद्योगिक क्षेत्रभित्र उद्योग दर्ताको भन्सार तथा कर कार्यान्वयन स्थापन गर्न मिल्ने पूर्वाधार डिजाइनसमेत भएको छ । उद्योग स्थापना भएमा प्रत्यक्ष तथा अप्रत्यक्ष २२ हजारले रोजगारी पाउनेछन ।पाँच वर्षसम्ममा सम्पन्न गर्ने लक्ष्य राखिएको औद्योगिक क्षेत्रमा दुई वर्ष बित्दासमेत कुनै काम नभएकोमा स्थानीयहरू चिन्तित भएका छन । अढाई दशकअघि तत्कालीन प्रधानमन्त्री मनमोहन अधिकारीको कार्यकालमा घोषणा गरिएको क्षेत्रलाई २८ वर्षपछि शिलान्यास गरिएको थियो । १० फागुन ०७७ सालमा तत्तकालिन प्रधानमन्त्री केपी शर्मा ओलीले दैजी छेला औद्योगिक क्षेत्रको शिलान्यास गरेका थिए । उतिबेला भोगाधिकार बिनै शिलान्यास गरिएको भन्दै केही सरोकारवाले असन्तुष्टी जनाएका थिए ।

