कञ्चनपुर ः शुक्लाफाँटा नगरपालिकाका सामुदायिक विद्यालयमा अध्यापन गराउँदै आएका निजी श्रोतका शिक्षक नगर शिक्षक घोषणाको माग गर्दै धर्नामा बसेका छन । शिक्षकहरू निरन्तर रुपमा तीन दिन देखि धर्नामा बस्दै आएका छन । नगरपालिकाले नगर शिक्षक व्यवस्थापन कार्यविधि २०८० ल्याएर व्यवस्थापनको बहानामा निजी श्रोतका शिक्षकहरूलाई विस्थापन गर्ने षड्यन्त्र गरेको नगर स्तरीय निजी श्रोत शिक्षक संघर्ष समितिका अध्यक्ष भुपेन्द्र सिंह धामीले बताउनु भयो ।
“कार्यविधि संसोधन गरी निजी श्रोतमा वर्षौ देखि पढाउदै आएका शिक्षकलाई निरन्तरता दिनु पर्ने माग राखेका छौं” उहाँले भन्नु भयो, “सामुदायिक विद्यालयमा निजी श्रोतमा कार्यरत अंग्रेजी, गणित, विज्ञान विषयको हकमा कम्तीमा दुई वर्ष भित्र शिक्षक लाइसेन्स पेश गर्ने गरी नगर शिक्षक घोषणा गरिनु पर्छ ।”

न्यूनतम पारिश्रमिकमा काम गरि रहेका निजी श्रोतका शिक्षकहरूलाई नगर शिक्षक राख्ने बहानामा विस्थापन पार्ने कार्य कदापी स्वीकार्य नहुने उहाँको भनाई रहेको छ । उहाँका अनुसार वि.सं २०७८ साल असार ३० गते शिक्षक व्यवस्थापन सम्बन्धीको कार्यदलले लामो समय देखि अध्यापनको कार्य गर्दै आएका बालविकास सहजकर्ता, निजी श्रोतका शिक्षकलाई व्यवस्थापन गरी नगर शिक्षकका रुपमा कार्यमा लगाउने निर्णय गरेको थियो । पुरानो निर्णय विपरित निजी श्रोतका शिक्षकलाई विस्थापनमा पारेर आ आफना नजिकका व्यक्तिहरूलाई जागिर दिने परिपञ्च रचिन थालेको शिक्षकहरूको आरोप छ । “ नीजि श्रोतका शिक्षक भर्ना गर्दा नीति र विधि अनुसार भर्ना भएका हुन” शिक्षक तेज सिंह साउदले भन्नु भयो, सबैले टप्प टिपेर शिक्षक बनाएको होईन ।”

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष, विद्यालयका प्रधानअध्यापक, शिक्षा विद् र नगर शिक्षा शाखाका प्रमुखको रोहबरमा लिखित र मौखिक परीक्षा गरी उत्कृष्टलाई निजी शिक्षकका रुपमा नियुक्त गरिएको उहाँको भनाई रहेको छ ।
विद्यालय व्यवस्थापन समितिले जसरी राख्यो उसैले जानोस् भनेर बहानाबाजी गरी विस्थापनमा पार्ने कार्य गरिनु नहुने शिक्षक रमेश ओडले बताउनु भयो । सामुदायिक विद्यालयमा विषयत शिक्षक दरबन्दी थोरै हुदा नीजि श्रोतका शिक्षकको योगदान रहदै आएको छ । नीजि श्रोतमा १० वर्ष देखि १८ वर्ष सम्म सेवा गरेका शिक्षकहरु कार्यरत रहेका छन । नगरपालिकाका ३२ वटा सामुदायिक विद्यालयमा ८३ जना नीजि श्रोतका शिक्षक कार्यरत रहेका छन ।

नगर शिक्षक व्यवस्थापन सम्बन्धी कार्यविधि अनुसार शिक्षक नियुक्त गर्दा नीजि श्रोतमा कार्यरत शिक्षकको हकमा एक पटकका लागि उमेरको हद नलाग्ने व्यवस्था गरिएको नगरपालिकाको कार्यपालिकाका सदस्य उत्तर देव भट्ट बताउनु हुन्छ ।
“ निजी श्रोतका शिक्षकका हकमा एक पटकका लागि प्रति वर्ष एक अङ्कका दरले पाँच अङ्क अनुभवका आधारमा दिने व्यवस्था गरिएको छ” उहाँले भन्नु भयो, “ निजी श्रोतका शिक्षकलाई विस्थापन गर्ने भनेकै छैन, विद्यालय व्यवस्थापन समितिले आवश्यकता भए राख्न सक्छ, आवश्यकता नभए हटाउ छ, हटाउने राख्ने कार्य विद्यालय व्यवस्थापन समितिको हो ।”यसमा नगरको कुनै भूमिका नभएको उहाँ बताउनु हुन्छ ।






