कञ्चनपुर: महाकाली र जगबुढा नदीले कटानी गरिरहेको कञ्चनपुरको सीमावर्ती गाँउ कुतियाकबरमा जैविक तटबन्ध निर्माण गरिएको छ । स्थानीय तह, समुदाय, निड्स नेपालले उक्त कटानी गरिरहेको विपद्को उच्च जोखिम रहेको स्थान कुतियाकबरमा जैविक तटबन्ध निर्माण शुरु गरेको हो । कुतियाकबर विप्द व्यवस्थापन समितिका अध्यक्ष टेक बहादुर सुनारले पालिका सहित निड्स नेपालको आर्थिक सहयोगमा तटबन्ध निर्माण शुरु गरिएको बताए । ‘हाम्रो यहाँ कटानी भएको स्थानमा जैविक तटबन्ध निर्माणका लागि पालिका सहितका विभिन्न गैर सरकारी संस्थाले बजेट दिने प्रतिबद्धता जाहेर गरेर जैविक तटबन्ध काम शुरु गरिएको हो, ‘उनले भने, ‘हालसम्म निड्स नेपालबाट १ लाख रुपैया दिएको छ ।’

स्थानीय एव कुतियाकबर विप्द व्यवस्थापन समितिका सदस्य खडके बुढाले विपद्बाट बाँच्न जैविक तटबन्ध निर्माण कार्यका लागि निड्स नेपालले १ लाख बजेट दिएपछि निर्माण कार्य शुरु गरेको बताए । बुढाले अहिले कटानी भईरहेको स्थानमा बाँस, बोरा सहितको अस्थायी तटबन्ध निर्माण गरिरहेका बताए । ‘अस्थायी तटबन्ध निर्माणका लागि आवश्यक समाग्री खरिद गर्न निड्स नेपालले बजेट दिईसक्यो, पालिका सहित अन्य निकायबाट बजेट पाएका छैनौँ, खाली प्रतिबद्धता मात्रै आएको छ, ‘उनले भने, ‘स्थानीय जनता श्रमदान गरेर बस्ती जोगाउन खटिएका छौँ ।’ निड्स नेपाल समुदायको वाढी उत्थानशिलता मापन परियोजना(एफआरएमसी)का कार्यक्रम संयोजक नविन भण्डारीले विपद्को उच्च जोखिममा रहेको कुतियाबरमा जैविक तटबन्ध निर्माणका लागि संस्थाबाट १ लाख रुपैया सहयोग गरिएको बताए ।

‘यो ठाँउ विपद्को उच्च जोखिममा छ, ‘उनले भने, ‘निड्स नेपालका तर्फबाट जैविक तटबन्ध निर्माण गर्न एक लाख बजेट दिएर बस्ती जोगाउने काम भईरहेको छ ।’ दोधाराचाँदनी नगरपालिका १० का वडाध्यक्ष चन्द्र बहादुर सिहले कटानी भईरहेको स्थानमा निड्स नेपालले १ लाख दिएको बताए । ‘अहिले अस्थायी रुपमा हामीले गैसस सहित स्थानीय जनता मिलेर जैविक तटबन्ध निर्माण गरिरहेका छौँ, ‘उनले भने, ‘भविष्यमा हामीले उक्त स्थानमा बलियो तटबन्ध निर्माण गर्ने योजना अघि सारेका छौँ, त्यसका लागि वडा पालिकाले प्रदेश र संघीय सरकारलाई घचघच्याउँछ ।’ हरेक बर्ष दुई नदीको उच्च जोखिममा रहेको कुतियाकरमा बलियो पक्की तटबन्ध निर्माणको स्थानीयले माग अघि सार्दै आएका छन ।

