सीमावर्ती कुतियाकबर गाँउमा कटानी

डिल्लीराज पन्त/ कञ्चनपुर: कञ्चनपुरको सीमावर्ती कुतियाकबर गाँउमा कटानी भईरहेको छ । जगबुढा नदीले भारतसंगै जोडिएको नेपाली गाँउ कुतियाकबरमा कटानी गरिरहेको छ । नेपालको पश्चिम क्षेत्रमा पर्ने उक्त नेपाली बस्ती अन्तिम बस्ती हो, सो बस्तीदेखि दक्षिण भारतीय बस्ती रहेको छ । नदीले एकसातादेखि दोधाराचाँदनी नगरपालिका १० कुतियाकबरका स्थानीयको उर्बराभूमि कटानी गरिरहेको हो ।

कटानी नरोकिएर बस्ती नै विस्थापित हुने स्थानीयक त्रसित भएका छन । नदीमा पानीको बढ्दा र घटदा जमिन कटानी गरिरहेको स्थानीयले बताएका छन । स्थानीय रनराम सुनारले हरेक बर्ष जमिन कटानी गर्दै आएको बताए । ‘कहिले वारी कहिले पारी कटानी गर्दै आएको छ, उनले भने, ‘तटबन्ध निर्माण नहुँदा हामी कटानीका चपेटामा परेका छौँ ।’ काट्दा काट्दै गाँउसम्म आईरहेको बताउँदै स्थानीय सुनारले सरकारले आफ्नो पीडा नबुझिदिएको दुखेसो पोखे । ‘चुनावका बेला भोट माग्न सबै आउँछन, हामीलाई समस्या पर्दा होई आउँदैनन, ‘उनले भने, ‘यो रुखले खेत बचाईदिएको छ ।’

अर्का स्थानीय धममती सुनारले तटबन्ध निर्माण नहुँदा नै हरेक बर्ष बर्षातका बेला निद्रा समेत नलाग्ने गरेको दुखेसो पोखिन् । ‘यो नदीले बर्षातमा अलि ठुलो वितण्डा मच्चाउँछ, ‘उनले भनिन, ‘हिउँदै समेत कटानी हुन्छ, नेता र जनप्रतिनिधीलाई मतलब छैन ।’ उनले कटानी निरन्तर भईराखे सिङ्गै ४० गाँउ नै विस्थापित हुने चिन्ता व्यक्त गरिन् । दोधाराचाँदनी नगरका प्रवक्ता ओम बस्नेतले अस्थायी रुपमा जैविक तटबन्ध निर्माण भईरहेको बताए । ‘अहिले हामी पालिकाका तर्फबाट जैविक तटबन्ध निर्माणमा जुटेका छौँ, ‘उनले भने, ‘सो क्षेत्रमा तटबन्धका लागि पालिका बजेटले नभ्याउने भएकाले प्रदेश र केन्द्रसंग माग गरेर जमिन र बस्ती जोगाउँछौँ ।’

ताजा समाचार