सॅाझ पर्दै गएको छ, ॲध्यारो हुन बॅाकी छ।
धप्प धप्प भयो बत्ती, निभ्न मात्रै त बॅाकी छ।१।
औईलाउॅदै गएको छ, फक्रेको फूल डालीमा।
सुक्दै सुक्दै गएको छ, बूढो बृक्ष उकालीमा।२।
सुकेका पात झर्दैछन्, सुस्त सुस्त क्रमै सित।
सट्टामा पालुवा नौला, फेरिदैछन् क्रमै संग।३।
प्रतापी सूर्यको ज्योति, मन्द मन्द हुंदै गयो ।
जल्दो जोवनको जोश, खुम्चिदै खुम्चिदै गयो।४।
तेजश्वी देहको जादू, देखिदैन कतै पनि ।
गल्दै गल्दै गएका छन्, अंग प्रत्यंग जो पनि।५।
कसैले रोक्न सक्तैन, सृष्टिको नीति पद्धति।
राजा होस् रंक होस् जो होस्,भोग्नै पर्दछ यो गति।६
उषाले देख्नु नै पर्छ, सन्ध्याको पीर बेसरी।
देहले भोग्नु नै पर्छ, सुख दुःख बराबरी ।७।
मायावी स्वप्न झैं हाम्रो, हुन्छ जीवनको गति।
ब्यर्थको मोहमा पारी, पीडा दिन्छ सके जति।८।
पाईदैनन् सबै वस्तु, सबैलाई सबैथरी ।
तैपनि मोह यो कस्तो,काम गर्छौं मरी मरी।९।
लेखेको हुन्छ जे जस्तो, बिधाताले निधारमा ।
हो,त्यस्तै पाइने हुन्छ, हाम्रो जीवनकालमा ।१०।
ब्यर्थको लोभले हाम्रो, ब्यर्थै चिन्ता बढाउॅछ।
शान्त जीवनमा खाली, असन्तुष्टि बढाउॅछ ।११।
यसैले शान्त भै बस्नु, यौटै मात्र बिकल्प छ ।
अन्यथा शोकको भारी, बोकेरै बॅाच्नु पर्दछ ।१२।

-डा. टेकराज पन्त
