
दोधारा । महाकाली नदीमा निर्माण गरिएको चार लेनको पक्की पुल भोलि देखि पुनः सञ्चालनमा आउने भएको छ। एकातर्फको दुई लेन खोलेर आवागमन सहज गरिने भएको हो।

पुलको दुवैतर्फ विंगस वाल निर्माण (पर्खाल) गर्नुपर्ने भएकाले ११ चैतदेखि पुल बन्द गरिएको थियो। पुल बन्द हुँदा ठूला साना सवारीसाधन चल्न नसक्दा र पैदल यात्रुलाई पनि सास्ती भएको थियो।

पुल निर्माण कम्पनी कुमार श्रेष्ठ सिएफइसी जेभीका इन्जिनियर किशोर पाण्डेयका अनुसार भोलि दिउसोबाट पुलको एकातर्फको दुई लेन खुल्ला गरिने छ। ‘दुवैतर्फ विंगस वाल निर्माण गर्नुपर्ने भएकाले पुलमा आवागमन बन्द गरेका थियौँ,’ उनले भने, ‘वाल निर्माण भइसकेको छ, एकातर्फको दुई लेन खुलाएर आउजाउ सहज बनाउछौँ।’

पुलको दुवै छेउमा गहिरो खाल्डो खनेर पर्खाल निर्माण गरिएको छ। दुवैतर्फ पर्खाल निर्माण भएकाले पुलको काम झण्डै पूरा भएको छ। पर्खाल निर्माणसँगै पुलको पूर्वतर्फ पोखरीको काम पनि चलिरहेको छ। पहुँच मार्गको काम पनि अन्तिम चरणमा रहेको इन्जिनियर पाण्डेयले बताए।
अहिले पुलको पूर्वपट्टि भीमदत्त नगरपालिकातर्फको पोखरी निर्माणको काम चलिरहेको छ। बर्खाअगावै उक्त पोखरीको काम सक्ने लक्ष्य रहेको निर्माण कम्पनीले जनाएको छ। बर्खापछि पश्चिमपट्टि दोधारा चाँदनीतर्फको पोखरी निर्माण हुनेछ।
पुलको डिजाइनअनुसार दुवैतर्फ ६ सय मिटर चौडा र २६ सय मिटर लम्बाइका दुई पोखरी निर्माण गर्नुपर्नेछ। निर्माणाधीन चार लेनको पक्की पुललाई दोधारा चाँदनीमा बन्ने भनेको सुक्खा बन्दरगाहको प्रमुख पूर्वाधारका रूपमा लिइएको छ।
दोधारा चाँदनी नगरपालिका १ मा निर्माण हुने सुक्खा बन्दरगाहको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) निर्माणको काम अन्तिम चरणमा रहेको इन्टरमोडल यातायात विकास समितिले जनाएको छ।






