कञ्चनपुर :जगशक्ति गोल्ड टिएमटी तेस्रो सुदूरपश्चिम गौरीगंगा गोल्ड कपमा रेसिङ सहारा क्लब सेमिफाइनलमा प्रवेश गरेको छ।
बुधबार भएको खेलमा एपिएफको टोलीलाई ३–१ गोल अन्तरले पराजित गर्दै बाँके कोहलपुर रेसिङ सहारा क्लब अन्तिम चारमा पुग्न सफल भएको हो।

खेलको १५ औँ मिनेटमा पेनाल्टी पाएर अग्रता बनाउन सफल भएको एपिएफमाथि रेसिङ सहारा क्लबले पुनरागमन जित निकाल्न सफल भयो।डी बक्सभित्र रेसिङका खेलाडीको हातमा बल लागेर फल भएपछि पाएको पेनाल्टीमा एपिएफका आश तामाङले उक्त पेनाल्टीलाई गोलमा परिणत गरे।

निरन्तर दबाबमा राखेको रेसिङका अविनाश थापाले खेलको २८ औँ र ८७ औँ मिनेटमा दुई गोल गरे । उसका कृष्ण क्षेत्रीले पहिलो हाफको ४२ औँ मिनेटमा १ गोल गरे। खेलको प्लेयर अफ दी म्याच अविनाश चुनिए।

प्रतियोगिता अन्तरगत बिहीबार आज बाजुराको रानीवन क्लब र नेपाल पुलिसको टिम प्रतिस्पर्धा गर्नेछन्। प्रतियोगिताको विजेतालाई ट्रफीसहित नगद ४ लाख र उपविजेतालाई ट्रफीसहित नगद २ लाख पुरस्कार प्रदान गरिने छ भने सर्वोत्कृष्ट खेलाडीलाई नगद ५० हजार प्रदान गरिने आयोजकले जनाएको छ। साथै सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोल रक्षक लगायत विभिन्न विद्याका उत्कृष्ट खेलाडीलाई विधागत रूपमा ट्रफीसहित नगद १० हजार पुरस्कार दिइने छ।







