बिरेन्द्र बाग / महेन्द्रनगर : नेकपा (एमाले) को विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) ले आसन्न स्ववियु चुनावका लागि सुदूरपश्चिम विश्वविद्यालयको केन्द्रीय क्याम्पसमा शुक्रबार एक नम्बरमा संगठन दर्ता गरेको छ। अनेरास्ववियुका कञ्चनपुर अध्यक्ष कमल रोकाया नेतृत्वमा गएका विद्यार्थीहरुले शुक्रबार स्ववियु निर्वाचन समितिको कार्यालयमा संगठन दर्ता गरेको हो। प्रत्यक्ष र समानुपातिक दुबैतर्फको निर्वाचनमा सहभागी हुने प्रयोजनका लागि संगठन दर्ता गरिएको क्याम्पस कमिटीका उपाध्यक्ष गोबिन्द जोशीले जानकारी दिए।

चैत ८ गते हुने स्ववियु निर्वाचनका लागि सुदूरपश्चिम विश्वविद्यालयले निर्वाचन कार्यतालिका सार्वजनिक गरिसकेको छ। विश्वविद्यालयको स्ववियु निर्वाचन केन्द्रीय अनुगमन तथा समन्वय समितिले सार्वजनिक गरेको कार्यतालिकाअनुसार फागुन २६ मा संघ संगठन दर्ता, २८ गते मतदाता सूची प्रकाशन र दाबी विरोधको मिति तोकेको छ। यस्तै, २९ गते अन्तिम मतदाता नामावली प्रकाशन, ३० गते उम्मेदवारका लागि मनोनयन वितरण गरिनेछ। चैत १ मा उम्मेदवारको मनोनयन दर्ता गरिने कार्यक्रम छ। चैत २ मा उम्मेदवारको नामावलीमा दाबी, विरोध र त्यसमा छानबिन गरी उम्मेदवारको नामावली प्रकाशन गरिनेछ। ३ गते उम्मेदवारको नाम फिर्ता र अन्तिम नामावली प्रकाशनको कार्यतालिका छ। चैत ८ गते बिहान ८ देखि ४ बजेसम्म मतदानको कार्यतालिका छ। सुदूरपश्चिम विश्वविद्यालयमा पहिलो पटक स्ववियु निर्वाचन हुन लागेको हो।

पहिलो पटक हुन लागेको निर्वाचन प्रत्यक्ष र समानुपातिक गरी मिश्रित प्रणालीमा हुन लागेको छ। २०६६ मा विश्वविद्यालय स्थापना भएको थियो। विश्वविद्यालयको कानुन संकायका डिन कर्ण थापाका अनुसार निर्वाचन प्रत्यक्ष र समानुपातिक प्रणालीमा हुनेछ। सभापति, सचिव र कोषाध्यक्षको निर्वाचन प्रत्यक्ष हुनेछ। उपसभापति, सहसचिव र सदस्यहरू समानुपातिक प्रणालीबाट आउनेछन। डिन थापाका अनुसार स्ववियुको कार्यसमिति विद्यार्थी संख्याको आधारमा ११ देखि १५ सदस्यीय हुनेछ। सदस्यहरू आधा प्रत्यक्ष र आधा समानुपातिक निर्वाचन प्रणालीबाट छनौट हुनेछन्। कार्यसमितिमा बहुमत प्राप्त संघ, संगठनले निर्वाचित सदस्यमध्येबाटै उपसभापति र सहसचिव चयन गर्ने कार्य







