दोधारा । दोधारा चाँदनी नगरपालिकामा बिद्यालय अनुगमन सुरु गरिएको छ् । दोधारा चाँदनी नगरपालिकामा रहेका बिद्यालयको शैक्षिक गुणस्तर सुधारका लागि दोधारा चाँदनी नगरपालिकाका मेयर किशोर कुमार लिम्बुले सामुदायिक र संस्थागत विद्यालयमा अनुगमन सुरु गरेका छन् । अनुगमनमा दोधारा चाँदनी नगरपालिका कार्यालयका कार्यकारी अधिकृत गणेश दत्त मिश्र लगाएत टोली सम्मलित रहेका छन् । दोधारा चाँदनीको महाकाली आदर्श माध्यमिक बिद्यालय र पुर्णा आधारभुत बिद्यालयमा आज दोधारा चाँदनी नगरपालिकाका मेयर लिम्बुले अनुगमन गरेको बिद्यालयहरुले जनाएका छन् ।


नगर भित्रका शिक्षण संस्थाहरुको शैक्षिक, भौतिक अवस्थाको थप यथार्थ जानकारी लिन अनुगमन थालिएको दोधारा चाँदनी नगरपालिका कार्यालयका प्रमुख प्रशासकिय अधिकृत गणेश दत्त मिश्रले जानकारी दिएका छन् । ‘नगरका शिक्षण संस्थाको अवस्था सुधारको लागी अनुगमनमा छौं’ दोधारा चाँदनीका मेयर किशोर कुमार लिम्बुले भने । मेयर लिम्बुले बिद्यालयको भौतिक अवस्था, बिद्यालयमा पढाईको अवस्था, शिक्षकहरुको समस्या लगाएत बिषयमा जानकारी लिएका छन् ।


अनुगमनका क्रममा शिक्षक दरबन्दी, भौतिक पूर्वाधार, विद्यार्थी संख्या, विद्यार्थी शिक्षकको उपस्थिती, शैक्षिक गुणस्तर सुधारको योजना, कार्यक्रम लगाएतका विषय हेरिएको मेयर लिम्बुले बताएका छन् । दोधारा चाँदनी नगरपालिका क्षेत्रमा २२ वटा सामुदायिक बिद्यालय र २० वटा संस्थागत बिद्यालय रहेका छन् । बिद्यालय अनुगमनपछि प्रतिवेदन तयार गरी नगर क्षेत्रको शैक्षिक अवस्था थप सुधारका लागि ठोस कार्य योजना बनाउने दोधारा चाँदनी नगरपालिकाका मेयर किशोर कुमार लिम्बुले जानकारी दिए ।







