दोधारा । बडुवाल टोलका डब्बु सार्की कसरी गुलेली चलाउने भन्ने सिक्दै छन् । झण्डै ५८ वर्षका डब्बुलाई यो उमेरमा आएर गुलेली चलाउने सिक्नु पर्ने भएको छ् । कारण जंगली हात्तीलाई धपाउन उनले गुलेली चलाउन सिक्न थालेका हुन् । दोधारा चाँदनी नगरपालिकाको वडा नं. ३ बडुवाल टोल लगाएत आसपास बस्तीमा जंगली हात्तीको आतंक बढेर गएको छ् । बस्तीमा हात्तीको डरले स्थानियहरु राभरी जाग्रम बस्दै आएका छन् । हात्तीहरुको प्राकृतिक मार्गहरुमा मानव बस्ती विस्तार भएका कारण कुनै पनि समय तिनीहरुको झुन्ड हिंस्रक भएर मानविय क्षती पुगाउन सक्ने सम्भावना त्यत्तीकै बढेर गएको छ् । बडुवाल टोलका स्थानियहरु आधा शताब्दी देखिको ‘हात्ती आतंक’ कम गर्न अनेक उपाय रच्दै आएका छन् । कम हुनुको साटो झन् बढ्दै गएको स्थानियहरुले बताएका छन् । भारतिय जंगलबाट बस्ती भित्रिएको जंगली हात्तीको हुललाई धपाउन स्थानीयवासीले यतिबेला भने गुलेलीको सहारा लिएका छन् । ‘टाढाबाट तन्काएर हान्दा हात्तीलाई लाग्यो भनेर केही हलचल गर्छ’ स्थानिय टेक सुनारले भने । हात्ती धपाउन बस्तीमा साईरन बजाउने, खुर्सानीलाई जलाएर धुवा बनाउने लगाएत अनगिन्ती उपाय गर्दा समेत हात्ती नभाग्ने गरेको स्थानियहरु बताउछन् । ‘हात्ती धपाउन अन्य उपाय भन्दा गुलेली थोरै भएपनि प्रभावकारी देखियो’ टेक सुनारले भने । विगतमा हात्ती आतंक नियन्त्रणका लागि भाडाकुडा बजाउने, मौरीपालन, हात्तीबार, विद्युतीय तारबार दर्जनौं उपाय गरिएको उनले बताएका छन् । ‘तर, सबै निष्प्रभावी बने’ सुनारले भने । स्थानीयवासीलाई हात्ती मार्नु हुन्न भन्ने हेक्का छ् । त्यसैले उनीहरु कम क्षति हुने गुलेली जस्ता हतियार प्रयोग गर्न थालेका हुन् । सीमापारीको जंगलबाट साँझ पर्न नपाउदै नेपाल छिरेर हात्तीले ताण्डव मच्चाउछ् । ‘हात्ती नजिकै रहेको भारतिय जंगलबाट बस्ती भित्रिन थाल्छ् अनि हाहाहुहु गर्दै गुलेली तन्काउन थाल्छन्’ अर्का स्थानिय बल बहादुर सुनारले भने । आफु सिधा रहेको मान्छेलाई हात्तीले हत्तपत्त आक्रमण गर्न खेद्ने गरेको उनले बताए । ‘गुलेली लागेपछि अघि बढदै गरेको हात्ती एक पटक फनक्क फर्कन्छ्’ बल बहादुरले आफ्नो अनुभव सुनाए– ‘एउटा फर्किए पछि सबै बिस्तारै र्फकन्छन् ।’ हात्तीको आतंक नियन्त्रणका लागि गुलेली थोरै भएपनि राम्रै काम गर्दै आएको उनले बताएका छन् । दिनभर भारतको जंगलमा बस्ने हात्ती साँझ पर्ना साथ आहारा खोज्दै बडुवाल टोल तथा आसपासका बस्तीमा भित्रिने गर्दछ् । धान तथा मकै हात्तीले खाएर तथा उधनेर नष्ट गर्न थालेपछि स्थानिय किसानहरुले खेती नपाक्दै काटेर चौपायालाई खुवाउन थालेका छन् । ‘हात्तीले सबै नोक्सानी गरिसक्यो, बाँकी रहेको वाली हात्तीलाई खुवाउनुको साटो चौपायालाई खुवाउन थालेका छौं’ आशा राना क्षेत्रीले भने । नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली समसाँझ बडुवाल गएपछि बिहान मात्रै फर्किने गरेको सुरक्षाअधिकारीहरुले जनाएका छन् । नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले रातभरी स्थानियहरु संग मिलेर जंगली हात्ती धपाउदै आएको स्थानियहरुको भनाई रहेको छ् ।







