भाषा धर्म कला अनेक जतिका भेटिन्छ यै देशमा
मेरो सुन्दर भूमि के छ र कमी लौ के कहाँ भेषमा ?
मेरो देश अनेक फूलहरुको बारी सधैँ सुन्दर
माला एक बनी रहन्छ जगमा गर्दैन त्यो अन्तर
//१//
उच्चा छन् हिम कूट उत्तर दिशा हाँसी बसेका सदा
हेर्दा फाँट मधेस यौवन निकै उस्तै पहाडी अदा
मीठो गाउछ कोइली सुरसता पाखाहरू हाँस्दछन्
सारा कान्ति मभित्र पस्दछ सधैँ पीडाहरू भाग्दछन्
//२//
यी खोला झरना र पर्वतहरू सौन्दर्यका मालिक
भन्छन् स्वर्गकि अप्सरा कि धरती हो सुन्दरी बालिक
कस्तूरी मृगको सुगन्ध वनमा डाफेँ चरी पर्वत
सारा पीर विलाउछन् यि पलमै हेर्दा सबै दौलत
//३//
ब्रह्मा ,विष्णु ,महेश देवगणको कैलाश सैपाल यो
सीता ,बुद्ध र भूमि हो जनकको भूस्वर्ग नेपाल यो
देवीको वरदान भूमि जगको प्राचीन यो लौकिक
धेरै संस्कृति छन् कला र चलती जो छन् सबै मौलिक
//४//
भाला बन्दुक हात काँधभरिमा यो साँचि भो धड्कन
सीमामा म कठोर सेवक वनूँ खेद्दै गरूँ दुश्मन
गोर्खाली म भनेर गर्व मनमा गर्ने थिए कालमा
मेरो अन्तिम सास अन्तिम भए यै स्वर्ग नेपालमा
//५//

भूपि सरोवर
सिगास:०३ बैतडी
हाल:काठमाडौँ







