महेन्द्रनगर : सुदूरपश्चिमको पहाडी जिल्लालाई लक्षित गर्दै डडेल्धुराबाट पनि सवारी लाईन्स पाईने भएको छ । डडेल्धुरामा पहिलोपटक सवारी चालक अनुमति पत्र (लाइसेन्स) को परीक्षा सञ्चालन भएको छ । यातायात व्यवस्था कार्यालय डडेल्धुराले आइतबार लाइसेन्सको लिखित परीक्षा सञ्चालन गरेको हो ।
कार्यालय प्रमुख मेखराज उपाध्यायका अनुसार पहिलोपटक सञ्चालन भएको ए, के र बी वर्ग अथात् मोटरसाइकल, स्कुट, जीप र कारको लिखित परीक्षा सञ्चालन गरिएको बताए ।

कार र जीपका लागि ४८ जनाले बायोमेट्रिक गरेकोमा परीक्षामा ४३ जना सहभागी भएका छन् भने मोटरसाइकल र स्कुटरका लागि १ सय २२ जनाको बायोमेट्रिक भएकोमा ५ जना अनुपस्थित भएको निमित्त कार्यालय प्रमुख उपाध्यायले जानकारी दिए ।
उनका अनुसार अब लिखित परीक्षाको नतिजा प्रकाशन गर्दै भदौ दोस्रो साताभित्र प्रयोगात्मक अर्थात् ट्रायल गर्ने तयारी छ । सुदूरपश्चिम प्रदेश मन्त्रिपरिषद्को बैठकले ०७८ साल चैत १६ गते यातायात व्यवस्था सेवा कार्यालयको स्तरोन्नति गर्दै यातायात व्यवस्था कार्यालय डडेल्धुरा नामाकरण गरेपछि कार्यालयले लाइसेन्स जारीको अधिकार प्राप्त गरेको हो।







