कञ्चनपुर: कञ्चनपुरको भीमदत्तनगरपालिका वडा नं.–१४ नयाँ कटान स्थित खरले छाएको अर्ध पक्की दुईवटा खोर छन् । एउटा खोरमा विभिन्न जातका बगुर छन् भने अर्को खोरमा बोइलर कुखुरा छन् । उक्त खोरमा विहानै देखि बेलुका सम्म मेहनत साथ दिल बहादुर चौधरी बंगुर र कुखुराहरुको रेखदेखमा तल्लिन देखिन्छन् । बंगुर र कुखुरालाई दाना दिने कार्य देखि लिएर खोर सरसफाई गर्ने कार्य चौधरीकोे दैनिकी बनेको छ । उनी विहान उठने वित्तिकै कुखुरा र बंगुरलाई दाना दिन्छन् । त्यसपछि प्रयाप्त मात्रामा पशु पन्छीलाई पुग्ने पानीको व्यवस्था गर्ने गर्छन् । त्यसपछि मात्रै चौधरी विहानको खाना खान्छन् । एक आधा घण्टाको विश्राम पछि पुनः उनि कुखुरा र बंगुरलाई घाँसको व्यवस्था गर्छन् ।

पशुपन्छीलाई घाँसको व्यवस्था गरे पछि खोरको सरसफाईमा लाग्छन् । बढी गर्मी भएको दिन बंगुरलाई नुहाई पनि दिन्छन् । यावत काम गर्दा गर्दै बेलुकाको ५ बज्छ, ५ बजे पछि पशु पन्छीलाई आहारको व्यवस्था गरे सँगै उनको दिनचर्या सकिन्छ । कृषक चौधरी सँगै उनकी श्रीमतिको पनि दैनिक दिनचर्या त्यसगरी फर्ममै वित्छ । १८ जनाको घर परिवार त्यही फर्मले चलाएको छ । फर्मको काममा घरका अन्य सदस्यले पनि सहयोग गर्ने गरेको कृषक चौधरीले बताए । कडा मिहिनेती चौधरीले २०७७ मा रिदम पशुपन्छी फर्म स्थापना गरेका हुन् । वैदेशिक रोजगारीको सिलसिलामा १३ वर्ष कतारको स्काफोल्डिङ्ग कम्पनिमा समय विताएका चौधरीको मनमा एकाएक स्वदेशमैं स्वारोजगार बन्ने सोच पलाए पछि २०७७मा स्वदेश फर्केका हुन् ।

स्वदेशमा फर्के लगत्तै रु.१३ लाखको लगानीमा रिदम पशुपन्छी फर्म सञ्चालनमा ल्याए । चाइनिज, निसान, डिउरो, हेमसार, योगसार र धरानेकालो बंगुर जातका १०वटा बंगुर खरीद गरी फर्म सञ्चालनमा ल्याएका थिए । बंगुर सँगै लोकल ३०० वटा लोकल कुखुराको चल्ला खरीद गरेका थिए । लोकल कुखुरामा बजारको समस्याले गर्दा नोक्सान भए पछि उनले बोइलर कुखुराको पालन गरेका थिए । बोइलर कुखुराको चारलोट विक्री गरेका चौधरीले शुरुको दुईलटमा खासै नाफा नभए पनि पछिल्ला दुई लटमा सोचेभन्दा राम्रै नाफा भएको बताए । उनको फर्ममा ४ हजार जति बोइलर कुखुरा छन भने १०० वटा लोकल कुखुरा, र २५ वटा, बाख्रा रहेका छन् । गत वैशाखमा ३५ वटा बंगुरका बच्चा विक्री गरेका चौधरी सँग २ महिना पुगेका २२ वटा बंगुर बच्चा मौजुदा छन् भने कही १० वटा माउ लगतै पाढो पाउने छन् । २२ वटा पाढो विक्री नभएमा उनलाई खोरको अभाव हुने चौधरीले बताए ।

बंगुर तथा पाढोको खासै बजार नपाएको बताउने चौधरीले कोरोनाको कारण आफ्नो व्यवसाय नै थला परेको बताउछन् । ‘मैल कृषि व्यवसाय गरेको केही समयमा कोरोनाको महामारी आयो जसले गर्दा फर्ममा लगाएको लगानि आधा लगानी गुम्यो,’ उनले भने ‘बैंक बाट ऋण दिने व्यवस्था खोल्दिए ऋण निकालेर भए पनि व्यवसाय विस्तार गर्ने थिए ।’ आर्थिक मन्दिका कारण बैंकहरुले झण्डै एक वर्ष देखि ऋण दिन बन्द गरेका छन् । गैर किसानहरुले विभिन्न किसिमका सरकारी अनुदान पाए पनि चौधरीले अहिले सम्म कुनै पनि किसिमको कृषि अनुदान पाएका छैनन् । आफुले अहिले सम्म सरकारी निकाय बाट कृषि अनुदान नपाएको चौधरीले बताए । ‘मैले सरकारी निकायबाट कृषि अनुदान पाएको छैन्’ कृषक चौधरीले भने ‘सरकारी अनुदान पाए व्यवसाय विस्तार गरी अन्य स्वरोजगार सृजना गर्ने थिए ।’






