कञ्चनपुर : कञ्चनपुरमा बजार अनुगमन शुरु भएको छ । यस बर्ष चालु आर्थिक बर्ष २०७९÷०८०को शुरुवातमै सरकारी निकायबाट बजार अनुगमन शुरु गरिएको छ । जिल्ला प्रशासन कार्यालय कञ्चनपुरका सहायक प्रमुख जिल्ला अधिकारी अशोक कुमार भण्डारी नेतृत्वमा बुधबारदेखि महेन्द्रनगरमा बजार अनुगमन शुरु गरिएको हो । सहायक प्रमुख जिल्ला अधिकारी नेतृत्वको विभिन्न सरकारी अधिकारको टोलीले भीमदत्त नगरपालिका ४ महेन्द्रनगर सब्जीमण्डी क्षेत्रमा बजार अनुगमन गरेको छ ।

पहिलो दिन विभिन्न ८ पसलमा बजार अनुगमन गरिएको सहायक प्रमुख जिल्ला अधिकारी भण्डारीले बताए । ‘माथिको परिपत्र योजना अनुरुप देशभर बजार अनुगमन अनुरुप कञ्चनपुरमा पनि हामीले पहिलो दिन बजार अनुगमन गरेका छौँ, ‘उनले भने, ‘सोही अनुरुप जिल्लाका अन्य पालिकालाई पनि पत्राचार भए अनुरुप बजार अनुगमन गरेको होला ।’ पहिलो दिन माछा तथा मासु पसलमा बजार अनुगमन गरिएको छ । ‘केही माछा तथा मासु पसल मापदण्ड विपरित संचालनमा रहेको भेटिए, ‘उनले भने, ‘यस्ता पसललाई बन्द गरेर आवश्यक मापदण्ड पुरा गरेर संचालन गर्न अनुमती दिएका छौँ ।’ दुई किराना र औषध पसलमा समेत अनुगमन गरिएको बताउदै सहायक प्रजिअ भण्डारीले मृुल्यसुचि नराखेको पाईएको छ ।

‘कैफियत देखिएका पसलमा आवश्यक निर्देशन र कार्बाही गरेका र्छाैँ, ‘उनले भने, ‘अब चाडबार्ड नजिकिदै जाँदा बजारमा बेथिति बढ्ने भएकाले चाडबार्ड अगावै अनुगमन गरेका हौँ ।’ बजार अनुगमन नियन्तर हुने उनले बताए । बजार अनुगमन गर्दै उपभोक्ताको हकहित सुरक्षित पार्नका लागि प्रशासन कार्यालयबाट संयुक्त बजार अनुगमन गरिएको सहायक प्रजिअ भण्डारीले बताए । अनुगमनमा प्रशासन,स्वास्थ्य, घरेलु, राजस्व, भीमदत्त नगरपालिका, कृषि, प्रहरी, उपभोक्ता हित समितिका पदाधिकारीको सहभागिता रहेको थियो । सब्जीमण्डी व्यवसायी संघका अध्यक्ष विशाल सोनारले भीमदत्त नगरपालिकाबाट सब्जीमण्डीमा रहेका सटर व्यवसाय नगर्नेले भाडामा लिने अर्कोलाई दिने प्रचलनका कारण व्यवसायीले मासु पसल व्यवस्थित गर्न नसकेको बताए । ‘जसले व्यवसाय गर्छ, उसैलाई नगरपालिकाले सटर दिनुपर्छ, ‘अध्यक्ष सोनारले भने, ‘त्यसपछि थप लगानी गरेर मासु पसल सुधार गछौँ ।’ उपभोक्ताले समेत बजार अनुगमन निरन्तर गर्नुपर्नेमा जोडदिएका छन ।







