धिरेन्द्र भट्ट/कंचनपुर : कंचनपुर निर्वाचन क्षेत्र न. २ का प्रतिनिधिसभा सदस्य तथा प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका नेता नरबहादुर धामिले प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा माथि थुप्रै प्रश्नहरुको प्रहार गरेका छन।

बुधबार प्रतिनिधिसभाको बैठकमा धामिले धनगढी गेटा मेडिकल कलेज संचालनमा न आउनुको कारणको माग गर्दै कुन सक्तिले प्रधानमन्त्री देउवालाई गेटा मेडिकल कलेज संचालन गराउन बाट रोकेको प्रश्न गरे। धामिले ३१ बर्ष देखि ६ पटक सुदूरपश्चिमका जनताले देउवालाई निर्वाचन जिताउनु बालुवामा पानी हालेको जस्तो नहोस भन्दै गेट मेडिकल कलेज चाडो भन्दा चाडो संचालमा ल्याउन समेत माग गरे।

‘ सुदूरपश्चिमका जनताको सपना गेटा मेडिकल बिश्वबिद्धालय स्थापनाको लागि निर्णय गर्न किन सक्दैन प्रधानमन्त्री ज्यु। सुदूरपश्चिमका जनताको चाहाना र पबित्र सपनाको यदि हत्या हुने हो र गेटा मेडिकल कलेजको स्थापना हुने होइन भने तपाईंले सुदूरपश्चिममा जन्म लिनु नै धिक्कार हुने छ।’ उनले भने, ‘सुदूरपश्चिम प्रतिको बिश्वासघात र धोकाको पृष्ठभुमिमा तपाईं ५ पटक प्रधानमन्त्री होइन १० पटक प्रधानमन्त्री भएपनि सुदूरपश्चिमका जनताका जनताका लागि “कागलाई बेल पाक्यो हर्ष न बिस्मात” अरु केही पनि हुनेवाला छैन।’

धामिले जिवनको उत्तरार्धमा एतिहासिक चिर उपहार गेटा मेडिकल कलेज सुदूरपश्चिमका जनताका नाममा समर्पण गरेर जानु प्रधानमन्त्री देउवाका लागि एक एतिहासिक कदम हुने भनी भनाई राखे।






