कञ्चनपुर : नेपाल कम्युनिस्ट पार्टी निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) जिल्ला समिति कञ्चनपुरको तेस्रो पूर्ण बैठक सम्पन्न भएको छ । बैठकले भरत विक को संयोजकत्वमा ३५ सदस्यीय जिल्ला सम्मेलन आयोजक समिति गठन गरेको छ । संगठनका तत्कालीन अध्यक्ष टेकेन्द्र पाठकमा राजनीतिक विचलनता आई पलायन भएकाले उनी पार्टी संगठनको कुनै जिम्मेवारीमा नरहेको जनाउँदै आम जनसमुदायलाई भ्रममा नपर्न पनि संगठनले आईतबार एक विज्ञप्ति जारी गर्दैआग्रह गरेको छ ।

वर्तमान स्थितिमा बढ्दै गएको महंगी, भ्रष्टाचार, शिक्षा क्षेत्रको विकृति विसंगति, एमसीसी सम्झौताको विरुद्ध लगायतका मुद्दामा संगठनले संघर्ष गर्ने पनि जनाइएको छ । बैठकमा अखिल (क्रान्तिकारी ) केन्द्रिय सचिवालय सदस्य तथा सुदुरपश्चिम इन्चार्ज प्रकाश जप्रेल, पूर्व विद्यार्थी नेता वीरेन्द्र विक, संगठन कञ्चनपुर जिल्ला इन्चार्ज ललित एसके अथितिका रूपमा सहभागी थिए भने लगायत अन्य जिल्ला समिति का सदस्य उपस्थित थिए ।







