पप्पु गुरुङ्ग, दोधारा । दोधारा चाँदनी नगरपालिका वडा नं. १० को जगबुडा पारिको बस्ती कुतियाकवर र अठार नम्वर पिल्लर बस्ती विकासको प्रतिक्षा गरेको एक शताब्दी भन्दा बढी भयो तर, त्यहा विकासको आधारभूत पूर्वाधार समेत सरकारले पुर्याउन सकिएको छैन । यो तीतो यथार्थ सरकार र राजनीतिक दललाई थाहा नभएको होईन तर, उनीहरुले त्यहाका गाँउलेलाई दिने भनेको आश्वासन मात्रै हो । त्यस बस्तीमा सरकार र राजनीतिक दलका प्रतिनिधी पुग्दा अन्तरक्रिया वा छलफलमा उनीहरु भोलीनै आकाश झारिदिने कुरा गर्छन् । बस्तीका लागि भने त्यो ‘विकासको फल आँखा तरी मर’ हुने गरेको छ् । अझ विडम्बना त के छ भने, त्यस क्षेत्रका नागरिकको सरल र सहज बजार सम्पर्क सीमा पारि भारतीय बजार संग हुने गर्छ र उनीहरु नेपाली रुपैया भन्दा भारतीय रुपैया लेनदेन गर्न रुचाउछन् । कुतियाकवरमा २ वर्ष मात्रै बिद्युत्त सेवा बिस्तार भएपनि १८ नंम्वर बस्तीले भने बिजुली बत्ती बाल्ने सपना देखेको वर्षौं भइसक्यो । अठार नम्वर पिल्लर बस्तीका स्थानियहरु अझै पनि टुकीको भरमा रात बिताउन बाध्य भएका छन् । मोवाईल चार्ज गर्न समेत भारत धाउनु पर्ने उनिहरुको बाध्यात्मक परिस्थिती रहेको छ् । विकासका नाममा सरकारले कच्ची सडकमा ग्रबेलिङ्ग गर्ने बाहेक ठोस काम केही गर्न नसक्दा कुतियाकवर र १८ नम्वर पिल्लर बस्ती सधै अभाव र कष्टमा बाँच्न विवश छन् । कुतियाकवर र १८ नम्वर पिल्लर बस्तीमा प्राबि तहको विद्यालय छैन, एम्बुलेन्सको व्यवस्था छैन, तत्काल उपचार गर्नुपर्ने बिरामीलाई कि, भारत पु–याउनु पर्छ कि भगवान् भरोसा छाड्नु बाहेक अर्को विकल्प छैन् । बजार जानु पर्यो भने त्यस क्षेत्रका नागरिक दोधारा चाँदनीको मुख्य बजार जानुको साटो भारतीय बजार रोज्छन् किन भने त्यहा पुग्न सजिलो छ् । कुतियाकवरवासी र अठार नम्वर पिल्लर बस्तीले भोग्नुपरेका अनगिन्ती पीडा मध्ये प्रमुख समस्या बर्षेनीको बाढी र डुबान पनि हो । भारतले बनबासा ब्यारेजको ढोका खोलिदिए पछि सो क्षेत्रका अधिकांश भाग डुबानमा पर्ने गर्छन् । उनीहरुले बाढीबाट भोगेका क्षतिको दीर्घकालीन समाधान पनि सरकारले खोज्न सकेको छैन । गएको बाढीमा महाकाली नदीको धार बस्तीमा पसेका अवस्थामा अबका दिनहरुमा बाढी आएपछि महाकाली नदीले कुतियावकर बस्ती तहसनहस गर्ने पक्का पक्की छ् । उता अठार नम्वर पिल्लर बस्ती जगबुडा नदीले वर्षा र हिउदमा गर्ने कटानीको कारण बस्तीनै बिस्तापितको उच्च जोखिममा रहेको छ् । त्यस क्षेत्रका बासिन्दा भन्छन् – ‘विगत त्रासमै बित्यो, वर्तमान पनि उस्तै छ, भविष्य झनै अन्योलपूर्ण छ ।’ हरेक वर्ष उर्लिने महाकाली र जगबुडा नदी समय क्रम संगै नदीको सतह फैलिदै र अग्लिदै गईरहेको छ । तर, कुतियाकवरवासी र अठार नम्वर पिल्लर बस्तीको दुःख भने थपिदै गएको छ् । कहिले वर्षायाममा बाढीको मार खेपेका छन् भने कहिले चिसो र शीतलहरबाट आक्रान्त बन्न पुग्छन् । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट बस्ती भित्रिने जंगली जनावरको डर पनि उनीहरुको दुःख माथी दुःख थपिएको अर्को पीडा छ् । गएको वर्षमा महाकाली र जगबुडा नदीको बाढीले कैयौं घरवार विहीनहरु आफ्नै देशको भूगोल भित्र शरणार्थी भएका छन् । सरकारले उचित व्यवस्थापन गर्न नसक्दा बजारबाट सिमा क्षेत्र सम्म धकेलिएका उनीहरु त्यहांबाट पनि कुन बेला लखेटिने हुन् पत्तो छैन । महाकालीको कुतियाकवर, १८ नम्वर पिल्लर बस्ती लगाएत क्षेत्रलाई विकासको मूलप्रवाहमा ल्याउनेनै हो भने दीर्घकालीन एकीकृत योजना सञ्चालन ल्याउन जरुरी छ् । तर यथार्थमा करनी र कथनीको उल्टो उनिहरुलाई सिमा क्षेत्रबाट खदेडिने सक्ने जो कोहीले पनि सहजै देख्न सक्छ् । सरकारले साच्चैनै कुतियाकवर, १८ नम्वर पिल्लर बस्तीको पीडा सुन्ने हो भने नीति तथा कार्यक्रम र बजेटमा ठोस योजना आउनै पछर्् । अन्यथा सरकारको सिमा क्षेत्र बिकास योजना पनि अर्थ न वर्थको हुने पक्का छ् । गत कार्तिक २ गते दोधारा चाँदनी नगरपालिका–१० कुतियाकवर बस्ती पूरै डुबानमा पर्यो । महाकाली र जोगबुढा नदी उर्लिदा रातारात स्थानियहरु तथा प्रहरी प्रशासनले कुतियकवार बस्तीमा स्थानियहरुको उद्धार गरे । सिंगो बस्ती बाढीका कारण विस्थापित बन्यो । अहिले आएर अवस्था सामान्य बनेको छ् । कुतियाकवर बस्तीका खेती योग्य जग्गा बगरमा परिणत हुदा स्थानीयवासी चिन्तित छन् । भारतको सिमा सित आँगन जोडिएको कुतियाकवरमा ४५ घरपरिवार बसोबास गर्छन् । ‘सबै घरपरिवारको कमाई खाने खेत बालुवाले पुरिएकै छ्’ स्थानियबासी मोतीराम सुनारले भने । सरकारले बाढीपिडितहरुलाई घोषणा अझै सम्म उनिहरुले पाएका छैनन् । वर्षा लागिसक्यो गएको बाढी सरह बाढी आएमा बस्तीनै सखाफ गर्ने निश्चित भएको स्थानिय मोतिराम सुनारले बताउछन् ।







