पप्पु गुरुङ्ग
आर्थिक अस्त ब्यस्तता, कोरोना महामारीको बेला दोधारा चाँदनी नगरपालिकाको आर्थिक बिबरण बिच उब्जिएको युवा जमातको वितृष्णा, युवा पलायन, छाडा चौपाया ब्यवस्थापनको नाउमा गरिएको खर्चा, एमसिसी, बढ्दो महंगीको यस समयमा आम सर्वसाधारण एक असल नेतृत्वको मात्र खोजमा पक्कै छन् । उनीहरु एक सक्षम, पारदर्शी र राम्रो नियत भएको नेतृत्वको खोजीमा छन् । आम सर्वसाधारणले बुझिसकेका छन्, हिजो वक्तृत्व वा वादविवाद प्रतियोगिताका विजयीहरु आज राम्रो र मिठो गफ दिन सक्छन्, उनीहरुले बुझिसकेका छन्, हिजोका असफल नेतृत्वले आगामी दिन सुनौलो बनाउन सक्दैनन् भनेर । उनीहरुलाई थाहा छ, भोली फेरि यिनै नेतृत्व शक्तिमा आउने हुन् भनेर । त्यसैले उनीहरुलाई एउटा त्यस्तो नेतृत्वको आवश्यकता छ, जो वास्तवमै उदाहरणिय प्रमाणित होस् । आज कुनै एक नेतृत्वलाई आफ्नो सम्माननिय व्यक्तिको दर्जा दिई उसको तस्बिर आफ्नो बैठकमा सजाउनु परेमा वास्तवमै हामीहरु संग कुनै राजनीतिक व्यक्ति छैनन् । नेतृत्व प्रति सम्मान यदि हुदो हो त फेसबुकमा नेतृत्व सम्बन्धी आउने समाचारमा हाँसेको प्रतिक्रिया सायद आउने थिएन होला । त्यही भएर पनि एउटा सक्षम र उदाहरणिय नेतृत्व आवश्यक छ्, समाजमा, कार्यरत संस्थामा, प्रदेशमा र समग्र मुलुकमा । आमजनता हिजो जस्तो जे, भने पनि पत्याउने प्रवृक्तिबाट मुत्त हुदै गर्दा अहिले चाहिएको भनेको पारदर्शी नेतृत्व हो । होला, नेतृत्वलाई विभिन्न तनाव होला, विभिन्न दबाब होला । तर, एउटा स्वच्छ छविको नेतृत्वले मलाई यस्तो दबाब आयो भनेर खुलेर भन्न सक्ने नेतृत्व वर्तमान आवश्यकता हो । सुरुमै प्रलोभनमा परेर, आफू निम्छरो अवस्थामा पुगिसकेपछि अनि अरुको ईसारामा चल्ने वर्तमान नेतृत्वको प्रमुख खोट रहेको सबै जनताले बुझ्न थालिसकेका छन् । स्थानिय तह आफैमा एक प्रत्यक्ष निर्वाचित कार्यकारी प्रणाली भएको स्थायी सरकार हो । स्थानिय निर्वाचन आउन अब केही दिन मात्रै बाँकी छ् । दलहरुले मतदातालाई रिझाउन घर बस्तीमा भेट गर्ने कार्यमा तिब्रता ल्याएका छन् । संघीयता संगै आएका स्थानिय तहका अधिकांश जनप्रतिनिधीहरुमा बिकास गर्ने भन्दा पनि जनतालाई करको बोझ थोपरेर कर्मचारी संगको मिलेमतोमा बजेट सिध्याउने र जसरी भए पनि पैसा कमाउने काम बाहेक खासै माँखो मार्ने केही गरेको देखिन्न् । यस्ता क्रियाकलापले संघीयता प्रति जनविश्वास घटाउने चाही निश्चित छ् । स्थानिय निर्वाचनको मिति नजिकिदै छ् । हामीलाई अब कस्तो नेतृत्व आवश्यक छ ? अनिवार्य बृहत बहस हुन जरुरी छ् । हाल नेतृत्व गरेका ब्यक्तिहरुको पाँच बर्षे कार्यकालको समिक्षा र स्थानिय तहको नेतृत्वको कार्य कौशलता मुल्यांकन हुनुपर्छ् । स्थानिय तहको जनप्रतिनिधीमा रिपिट हुन चाहेका ब्यक्तीको ५ वर्ष सम्म गरेको उनका मुल्याकंन र समिक्षा गर्न जरुरी छ् । बहसको सुरुवात यतैबाट गरौं । अहिलेको नेतृत्वमा ऊर्जा, निष्ठा, दृष्टि, बौद्धिकता, रचनात्मकता, क्रियाशिलता, मौलिकता आखिर के नपुगेर होला जनअपेक्षा अनुरुपको काम भएको सुनिएको छैन् । हुनत पहिलो पटक अनुभव नभएको कारण पनि हुनसक्छ् । स्थानिय तहलाई संविद्यानले दिएको अधिकारको क्षेत्र पनि बृहत् नै छ् । जनताको आर्थिक अवस्थालाई कसरी उकास्ने स्थानिय सरकारको हातमा हुन्छ् । जनप्रतिनिधी कत्तीको जनताको मर्म र पिडा सोच्छन् त्यसैमा भर पर्ने बिषय हो । जनताको चाहना धेरै ठूलो र फरक छैनन् । तपाई हामीले चाहेकै विकास जनताले पनि चाहेका हुन् । सरकारी कामकाजमा हुने ढिला सुस्तीको अन्त्य होस, दोधारा चाँदनी नगरपालिकाको आधारभुत आवश्यकता पुरा होस्। छिटोछरितो होस् अनि एउटै कामका लागि धेरै दिन दुःख पाउनु नपरोस् भन्ने चाहना जनताको छ् । सरकारी अड्डा, शिक्षा, स्वास्थ्य जस्तो क्षेत्रमा लामो समय भोग्नुपरेको सास्ती अब अन्त्य होस् भन्ने चाहना छ् । स्वास्थ्य संस्थामा उपचार सेवा र औषधी निःशुल्क पाईयोस् तथा सुबिद्या सम्पन्न स्वास्थ्य सेवा होस्, बालिबालिकाले राम्रो संग पढ्न पाउन भन्ने चाहन्छन् । महाकाली नदी र जगबुडा नदीमा तटबन्ध निमार्ण, छाडा चौपाया ब्यवस्थापन, वन्यजन्तुको आतंक रोक्ने जस्ता दीर्घकालिन विकासका कामलाई अघि बढाएको जनताले हेर्न चाहेका छन् । एकपटक मात्रै आउने समयलाई हाम्रो समाजले ठिक मार्गमा लाग्ने उपयुक्त वातावरण दिएको छ, सबैले सोच्नै पर्ने बेला आएको छ । दुखद् कुरा समय गतिशील छ अर्को सुखद कुरा त्यो गतिशील समयरुपी जहाजको चालक तपाई हामी नै हौं । त्यो जहाज कहाँ कसरी पुर्याउने सचेत चेतनशील युवाको हातमा छ् । आजकै दिन देखि सोच्नै पर्ने बेला आएको छ् । मतदान गर्ने दिन मुखैमा छ् । दक्ष जनशक्ती खुरु खुरु बिदेश पठाउदै आयातित खाद्यान्नको स्वाद लिएर मुलुकमा समृद्धि आउछ् जस्तो लाग्दैन, प्रत्येक स्थानिय तहमा सम्भाव्यतालाई अध्यन गरि औधोगिक क्षेत्र घोषणा गरि प्रसस्त रोजगारीको वातावरण बनाई उत्पादन वढाउनु पर्छ् । स्वदेशी पुँजी र दक्ष जनशक्ति विदेश पलायन हुन रोकिनु पर्छ् । हामी नेपालीले देशको बिकास र समृद्धि गर्नै चाहेको हो भनी जस्तो ब्यक्तीलाई र जो पायो त्यसैलाइ जनप्रनिधी बनाउने काम बन्द गरिनु पर्दछ् । योग्यतवान क्षमतावानलाई अगाडि सारिनु पर्छ् । अनि मात्र सबैको भलो हुन सक्छ् ।







