पुनर्वास– कंचनपुरको पुनर्वास नगरपालिका भित्रका विभिन्न क्षेत्रमा गैरसरकारी संस्था निड्स नेपालले गरेका गतिविधिहरुको अनुगमन गरिएको छ । बिहीबार संस्थाको रिकभर परियोजना मार्फत पुनर्वासमा ६ महिना सम्म स्वास्थ्य र कृषिमा गरिएका सम्पुर्ण गतिविधिको नगर प्रमुख जिवनराज थापाको संयोजकत्वमा अनुगमन गरिएको हो । दुई करोड १२ लाख ४ हजार ९ सय ७६ रुपैयाँ बजेटको उक्त कार्यक्रमले ३ हजार घरधुरीलाई समेट्ने उद्देश्यले कंचनपुरको भीमदत्त नगरपालिका, कृष्णपुर नगरपालिका र पुनर्वास नगरपालिका क्षेत्रमा सञ्चालन गर्दै आएको छ ।

कार्यक्रममा डोकेबजारमा निर्माण गरिएको होल्डिङ सेन्टर, त्रिभुवनबस्ती स्वास्थ्य चौकीमा निर्माण गरिएको बर्थिङ सेन्टर, पुनर्वास-६ को आधारभुत स्वास्थ्य केन्द्रमा जडान गरिएको टेङ्की धारा, पुनर्वास-५,६ र ९ वडाका कृषि तरकारी खेतीको अनुगमनसंग सो अवधीभर सञ्चालन भएका विभिन्न अभिमुखीकरण कार्यक्रमका विषयमा समीक्षा गरिएको थियो । सो परियोजनाले कोभिडका समयमा सुदुरपश्चिमका जिल्ला अस्पतालहरु र पालिका अन्तर्गतका स्वास्थ्य चौकीहरुमा स्वास्थ्य सामाग्रीहरु सहयोग गर्दै आएको कार्यक्रम संयोजन बिनोद कडाराले बताउनुभयो ।
अनुगमनमा पुनर्वास-५ का वडाध्यक्ष विरबहादुर बोगटी, पुनर्वास-६ का वडाध्यक्ष मनबहादुर गुरुङ, पुनर्वास-९ का वडाध्यक्ष नारायण जैशी, निडस नेपालका कार्यकारी निर्देशक भवराज रेग्मी, सह-सचिव दुर्गा खरेल, नगरपालिकाका विभिन्न शाखाका प्रमुख तथा अधिकृत, निडसका कर्मचारी र पत्रकारको सहभागीता थियो । एल.डब्लु.आर. को प्राविधिक तथा आर्थिक सहयोग र निडस नेपालद्वारा सञ्चालित कार्यक्रमलाई सहजीकरण रिकभर कार्यक्रम संयोजक बिनोद कडाराले गर्नुभएको थियो ।
