पुनर्वास- कंचनपुरको पुनर्वास नगरपालिकामा किशोर किशोरीहरुलाई तीन दिने मनोपरामर्श सम्बन्धी प्रशिक्षण सम्पन्न भएको छ । पुनर्वास नगरपालिकाको आयोजनामा शुक्रबार देखि नगरपालिकाको सभाहलमा सञ्चालन भएको प्रशिक्षण कार्यक्रमको आईतबार समापन गरिएको हो । पुनर्वास नगरपालिकाकी नगर उपप्रमुख शारदा बिष्टको सभाध्यक्ष तथा नगर प्रमुख जिवनराज थापाको प्रमुख आतिथ्य रहेको कार्यक्रममा प्रमुख प्रशासकिय अधिकृत गणेश सिंह ऎर रहनुभएको थियो ।

कार्यक्रममा प्रमुख प्रशासकिय अधिकृत ऎरले वर्तमान अवस्थामा मनोपरामर्श निकै आवश्यक रहेको बताउनुभयो । उहाँले मोबाईल प्रविधिको बढ्दो दुरुपयोगबाट मनोसामाजिक घटनाहरुमा वृद्धि देखिएकाले विद्यार्थीहरुलाई यसबाट जोगिन अनुरोध गर्नुभएको थियो । त्यस्तै नगर प्रमुख थापाले तीन दिने प्रशिक्षण कार्यक्रमबाट सिकेका कुरा कार्यान्वयनमा ल्याउन सके मात्रै सहभागिताको औचित्य हुने बताउनुभयो ।

“यस्तो मनोसामाजिक समस्या निराकरण गर्न किशोर किशोरी,बाल क्लबको माध्यमबाट मात्रै सम्भव हुन्छ ।” उहाँले भन्नुभयो, “सरकारको नीति नै बिधालय स्तरमा मनोपरामर्श सम्बन्धी अध्ययन हुने विषयको सुरुवात गर्ने किसिमको हुन् जरुरी छ ।” त्यसैगरी, नगर उपप्रमुख बिष्टले विद्यार्थीहरुलाई शिक्षासंगै हरेक कामलाई अतिरिक्त रुपमा लैजान सके यस्ता समस्याबाट वचन सकिने बताउनुभयो । कसैले पनि गलत निर्णय तर्फ नगई आफ्नो परिवारको क्षमता अनुसारको आवश्यकतामा चल्नुपर्ने र जबसम्म युवा वर्गलाई सचेत बनाउन सक्दैनौं तब सम्म यस्ता समाजमा जगडिएका अनेकौं समस्याहरुको समाधान हुन असम्भव हुने उहाँको भनाई छ ।

“समाजमा यी समस्या देखिनुको मुख्य कारण आर्थिक अभाव हो । त्यसैले, नगरपालिकाले यस्ता समस्याको समाधान गर्ने माध्यमको खोजी गर्दै आएको छ।” उहाँ भन्नुहुन्छ, ” बिद्यार्थीहरुले प्रशिक्षण कार्यक्रमबाट सिकेका सिकाईलाई समाजमा प्रभावकारी बनाउनु हुनेछ भन्नेमा हामी पुर्ण आशावादी छौँ ।” कार्यक्रममा प्रत्येक वडाबाट दुई छात्रा र दुई छात्रा गरि ११ वडाबाट ४४ जना छात्रछात्राहरुको उपस्थिति रहेको थियो । तीन दिने कार्यक्रमको सहजीकरण नायब सुब्बा गणेशराज उपाध्यायले गर्नुभएको प्रशिक्षण कार्यक्रममा डिग्निटी फाउन्डेसनका अध्यक्ष तथा मनोविमर्श कर्ता रुकमणि परियार प्रशिक्षकको रुपमा रहनुभएको थियो ।
