नेपालको प्राकृतिक प्याराताल सरसफाईमा भारतीय एसएसबीको अवरोध

पुनर्वास- लामो समय देखि जलकुम्भीका कारण कुरुप देखिएको कञ्चनपुरको पुनर्वास स्थित प्राकृतिक प्याराताल सरसफाइको काममा भारतीय सीमा सुरक्षा बल एसएसबीले अवरोध गरेको छ । करिब एक महिना अघि देखि पुनर्वास नगरपालिकाले प्रधानमन्त्री स्वरोजगार कार्यक्रम अन्तर्गत तालको जलकुम्भी हटाउने कार्यमा बिहिवार भारतीय एसएसबीले अवरोध सिर्जना गर्न पुगेको पुनर्वास नगरपालिका ९ का वडा अध्यक्ष नारायण प्रसाद जैशीले जानकारी दिए ।
वडा कार्यालयले सीमा स्तम्भ नम्बर १९५ देखि झण्डै ३ सय मिटर नेपाल तर्फ रहेको प्राकृतिक प्यारातालमा अनावश्यक रुपमा फैलिएको जलकुम्भी सरसफाई गराउन दैनिक ज्यालादारीमा स्थानीयहरुलाई काममा लगाएको वडाध्यक्ष जैशीले बताए । तालमा पुर्ण रुपले नेपालको अधिकार भएको नेपाल -भारत सीमा स्तम्भ नम्बर १९५ ले पुष्टि गरिरहे पनि भारतले बारम्बार हस्तक्षेप गरिनु बल मिच्याइ भएको वडा अध्यक्ष जैशीको भनाई छ । ताल भन्दा पारी अबस्थित १९५ नम्बरको सीमा स्तम्भका आधारमा प्याराताल नेपालको भएको भए पनि भारतले पटकपटक हस्तक्षेप गर्दै आएको स्थानीय बताउछन् । स्थानीय शिक्षक भविश्वर अर्याल भन्छन् प्याराताल दस्तावेजका आधारमा नेपालकै हो तर पनि भारतले पटकपटक हस्तक्षेप गर्दै आएको छ ।
उनी भन्छन् , पटकपटक भारतीय पक्षबाट हुँदै आएको यो हस्तक्षेप रोकेर सीमाको विवाद सल्टाउन सरकारले पहल गर्नु पर्दछ । यस अघि २०६० सालमा समेत भारतले सीमा स्तम्भ नम्बर १९५ लाई बेवास्ता गर्दै प्याराताल सहित झन्डै ५०० बिगाहा बढी नेपाली भुभाग आफ्नो तर्फ पार्न रातारात पिल्लर गाढ्ने काम गरेको थियो । स्थानीय जनताले अतिक्रमणको बिरोध गरि विवाद मत्थर भएको थियो । प्रष्ट रुपमा नेपालकै ताल हो भन्ने थाहा हुँदा हुँदै पनि नेपाल सरकार भने भारत सामु हाम्रो ताल हो भनी खुलेर बोल्न सक्ने अवस्थामा देखिन्न । सरकारले यसको संरक्षण र प्रवर्द्धन गर्न नसकेकै कारण तालमाथी भारतीय पक्षबाट बेलाबेलामा हस्तक्षेप हुँदै आएको स्थानीयहरुको आरोप छ ।

ताजा समाचार