महेन्द्रनगर : बाजुरामा होलीको दिनमा नाङ्गो खुकुरी देखाई फरार रहेका एक जनालाई प्रहरीले पक्राउ गरेको छ । बजारमा नाङ्गो खुकुरी देखाई अभद्र व्यवहार गर्ने एक जना पक्राउ परेका हो । पक्राउ पर्नेमा बाजुरा बडिमालिका नगरपालिका वडा नं.८ बस्ने बर्ष २० को काले भन्ने भिम रावल रहेका छन् । फागु पुर्णिमा होलीको दिन दिउँसोको समयमा जिल्ला बाजुरा सदरमुकाम मार्तडी बजारमा मादक पदार्थ रक्सी सेवन गरी सार्वजनिक स्थान बिच सडक बजारमा नाङ्गो खुकुरी देखाएका थिए ।

स्थानिय मानिसहरुलाई डर त्रासमा पारी तर्साउने गतिबिधी गरेको आरोपमा पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । सार्वजनिक स्थानमा अभद्र व्यवहार गरी नाङ्गो खुकुरी हातमा नचाएको भिडियो र नाङ्गो खुकुरी अस्भाविक तरिकाले बोकेको फोटो सामाजिक संजाल टिकटकमा अपलोड गरी भागी फरार भएका उनलाई सोमबार पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । उनलाई पक्राउ गरी जिल्ला प्रशासन कार्यालय बाजुराबाट अभद्र व्यवहार गर्न नहुने कसूर मुद्दामा म्याद थप भई अनुसन्धान भईराखेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।

