कञ्चनपुर : शुक्लाफाँटा नगरपालिका ८ नौखरीमा आज आयोजना गरेको निःशुल्क एक दिने सिकलसेल एनिमिया र थाल्सेमिया पहिचान तथा निदान शिविरमा ४२७ जनाको रगत परिक्षण गरिएको छ । नगरपालिकाको स्वास्थ्य शाखाले आयोजना गरेको शिविरमा रगत परिक्षण गरिएका मध्ये ३५ जनामा सिकलसेल एनिमियाको ट्रेट(बाहक) फेला परेको छ ।
बाहक फेला परेका व्यक्तिको रगतलाई पुनः परिक्षणका लागि कैलालीको सेती प्रादेशिक अस्पतालमा पठाईएको छ । सिकलसेल एनिमिया भए नभएको बारे सात दिन भित्र परिक्षण नतिजा आउने शुक्लाफाँटा नगरपालिका स्वास्थ्य शाखाका सिनियर अहेव अधिकृत हरि नाथले बताए ।

थप परिक्षण पछि मात्रै बाहक मात्रै हो वा सिकलसेल एनिमिया हो भन्ने बारे जानकारी हुने उनले बताए । सिकलसेल रोग वंशानुगत रोग भएकाले परिवारमा यस्तो रोगबाट पीडित व्यक्ति भएमा रगत परिक्षण गरेर मात्रै विवाह गर्ने उमेर पुगेका युवाहरुले विवाह गर्दा उपयुक्त हुन्छ । शिविरमा ३३६ महिला र १८७ पुरुष गरी ५५४ जनाले सेवा लिएका छन । चार महिना अघि नगरपालिकाको वडा नं ३ मा गरिएको परिक्षणमा १७ जनामा ट्र्ेट फेला परेको थियो । शिविरको उद्घाट गर्नु हुदै नगर प्रमुख दिल बहादुर ऐरले थारु समुदायमा देखा पर्ने सिकलसेल एनियमया परिक्षणका लागि नगरपालिकाले सघाउ पुरयाउदै आएको बताए ।

