पुनर्वास– कंचनपुरको पुनर्वासमा विद्यार्थीहरुको बौद्धिक क्षमता अभिबृद्धी गर्ने अभिप्रायले सञ्चालन गरिएको नगरपालिका स्तरीय हाजिरी जवाफ प्रतियोगिता सम्पन्न भएको छ । बिहिवार पुनर्वास-३ स्थित जनकल्याण माध्यमिक विद्यालयको प्राङ्गणमा भएको फाईनल प्रतियोगितामा पुनर्वास नगरपालिका-१ मा अवस्थित नवयुग विद्या निकेतन प्रथम भएको हो । त्यस्तै द्वितीय पुरस्कार पुनर्वास-२ स्थित सरस्वती माध्यमिक बिधालय, तृतीय पुरस्कार पुनर्वास-१० स्थित दुर्गा सेकेन्डरी स्कुल र सान्त्वना पुरस्कार पुनर्वास-६ स्थित पुनर्वास माध्यमिक बिद्यालयले प्राप्त गरेको थियो ।

प्रतियोगितामा प्रथम पुरस्कार नगद पच्चीस सय सहित प्रमाणपत्र, द्वितीय पुरस्कार दुई हजार सहित प्रमाणपत्र, तृतीय पुरस्कार पन्ध्र सय सहित प्रमाणपत्र र सान्त्वना पुरस्कार एक हजार सहित प्रमाणपत्रको व्यवस्था गरिएको शिक्षा शाखा प्रमुख शिवराज भट्टले जानकारी दिए । फागुन २७ गते चार विद्यालयलाई छनौट केन्द्र तोकेर नगरपालिका अन्तर्गतका ४० निजि तथा सामुदायिक विद्यालयहरुमा गरिएको प्रतिस्पर्धाबाट फाईनलका लागि छनौट नवयुग विद्या निकेतन ,खप्तड बोर्डिङ स्कुल,दुर्गा सेकेन्डरी स्कुल,अलंकार पब्लिक स्कुल, सरस्वती माध्यमिक बिद्यालय,पुनर्वास माध्यमिक बिद्यालय, सिताबस्ती पब्लिक स्कुल, आदर्श ईङ्गलिश स्कुल भएका थिए ।

शिक्षा शाखाका प्रमुख शिवराज भट्टको सभाध्यक्ष तथा पुनर्वास नगरपालिकाका नगर प्रमुख जिवनराज थापाको प्रमुख आतिथ्य रहेको प्रतियोगितामा कक्षा ६ देखि ८ सम्म अध्ययन गरिरहेका तीन जना विद्यार्थीहरुलाई सहभागी गराएको थियो । वार्षिक कार्यक्रम अन्तर्गत पुनर्वास नगरपालिका शिक्षा शाखाको आयोजनामा भएको प्रतियोगितामा जनकल्याण माध्यमिक विद्यालयले व्यवस्थापनको भुमिका निर्वाह गरेको थियो ।

