पुनर्वास : कंचनपुरको पुनर्वास नगरपालिका कार्यालयले स्वास्थ्य क्षेत्रको विस्तार गर्दै आखा उपचार केन्द्रको स्थापना गरेको छ । मंगलबार पुनर्वास नगरपालिकाका नगर प्रमुख जिवनराज थापाले रिवन काट्दै पुनर्वास नगरपालिका-५ स्थित त्रिभुवनबस्ती स्वास्थ्य संस्थामा स्थापना गरेको आँखा उपचार केन्द्रको उद्घाटन गरेको हो । उद्घाटनका क्रममा नगर प्रमुख जिवनराज थापाले आँखाका बिरामीहरुले कैलाली लगायतका अन्य क्षेत्रमा जादा निकै कठिनाई भोग्दै आएको कुरालाई मध्यनजर गर्दै आँखा उपचार केन्द्र नगरद्वारा सञ्चालनमा ल्याएको बताए ।

“ठेक्का गरि निर्माण कार्यको शुभारम्भ गरिसकेका छौं,आगामी दिनमा पुनर्वासमा ५० सैयाको अस्पताल निर्माण हुन्छ ।” उनले भने, “जनताले दिएको मताधिकारको सदुपयोग गर्न बजेटले भ्याए सम्मको नगरमा सुविधा थप्दै छु ।” पुनर्वास नगरपालिका कार्यालय र च्यारीटी हेल्थ फाउन्डेसनद्वारा संयुक्त रुपमा सञ्चालन गरिएको सो आँखा उपचार केन्द्रमा प्रत्येक दिन बिहान १० बजेदेखी साझ ५ बजेसम्म आँखाका बिरामीहरुलाई नि:शुल्क चेकजाँच गरिने जनाएको छ । पुनर्वास-५ का वडाध्यक्ष विरबहादुर बोगटीको सभाध्यक्षमा भएको उद्घाटन कार्यक्रममा नगर उपप्रमुख शारदा बिष्टको बिशिस्ट आतिथ्य त्यस्तै स्वास्थ्य प्रमुख रामबहादुर धामी लगायतका व्यक्तिहरु आतिथ्य रहेका थिए।

