दोधारा । कञ्चनपुरको महाकाली नदी माथिको मल्टी स्पान झोलुङ्गे पुलको आवागमन बन्द गरिएको छ । पुल मर्मतका लागि दोधारा चाँदनी नगरपालिकाले पुलको आवागमन बन्द गरेको हो । भोली बिहान ११ बजे देखि ३ बजे सम्म ४ घण्टाको लागी पुल बन्द गरिएको दोधारा चाँदनी नगरपालिका कार्यालयले जनाएको छ् । ‘महाकाली झोलुङ्गे पुलका टुटेका स्टिल डेक फेर्नु परेको भएकोले मिति २०७८/१२/२ (एक दिन) को लागी बिहान ११ बजे देखि ३ बजे सम्म (४ घण्टाको लागी) उक्त पुलमा आवत जावत नगरि/नगराई आवश्यक सहयोग गरिदिन हुन अनुरोध गरिन्छ’ दोधारा चाँदनी नगरपालिका कार्यालयबाट प्रकाशित सुचनामा भनिएको छ् । महाकाली नदी पारीको महाकाली नगरपालिका जोड्ने डेढ मिटर चौडाइको पुलको लम्बाइ १ हजार ४५२ मिटर छ् । नेपालमा रहेका सबै प्रकारका पुल मध्ये यो पुल नै सबै भन्दा लामो पुल हो । विसं २०६१ सालमा रु. ९ करोड ४२ लाख ४१ हजारमा पुल निर्माण गरिएको थियो । यो पुल एसियामै लामो झोलुङ्गे पुलका रुपमा परिचित छ । पुल ३२.७ मिटरका ७ ओटा अग्ला टावरमा ठड्याइएको छ् ।







