पुनर्वास : मुक्त हलिया सुरक्षीत आवास कार्यक्रम अन्तर्गत वि.स. २०७७ सालमा निर्माण सम्पन्न गरि हस्तान्तरण गरेका मुक्त हलिया बस्तीका घर प्रयोग विहिन बनेका छन् । कंचनपुरको पुनर्वास नगरपालिका-९, ख-गाउँमा अवस्थित उक्त हलिया बस्तीमा निर्माण भएका ४२ घर मध्ये ३० घर प्रयोग विहिन बनेका हुन् । बेरोजगारी, कमाएर खाने जग्गा जमिन टाढा हुनु जस्ता कारणले ३० घरपरिवारले निर्माण भएका घरहरूमा बस्नै छाडेको चन्द्र सुनारको भनाई छ । उनले आफ्नो जग्गा नभएका कारण दैनिक मजदुरी गर्दै पाँच जनाको परिवारसंगै सो भवनमा बस्दै आएको बताए । सरकारले आवास मात्रै हैन हाम्रा समस्या हेरी रोजगारी तथा कुनै सिपमुलक कार्यक्रमको व्यवस्था गरिदिए आफुहरुलाई गुजारा गर्न सहज हुने सोही बस्तीमा बस्दै आएका एक जना अपांग व्यक्ति चन्द्र बिकले बताए ।


“आफू र श्रीमती दुबै अपांग छौ, दुई बच्चा छन् ,न रोजगारी छ, न कुनै सिप नै जानेको छु ।” उनले भने “जमिन र घर भएकाहरु यश बस्तीमा बस्दैनन,आफ्नो केही नहुदा यसै घरमा बसेर ठूलो आभास मिलेको छ ।” सरकारले हलिया मुक्त समाज निर्माण गरेको बस्तीमा नगर र वडा कार्यालयले सडक, विधुत, खानेपानी र शौचालयको व्यवस्था गरेको वडाध्यक्ष नारायण जैशीले बताए । “स्थायी बिधुत मिटर नगरपालिकाले प्रत्येक घरमा निशुल्क जडान गर्न बिधुत कार्यालयमा माग गरेको छ ।” वडाध्यक्ष जैशीले भने “बस्तीमा मान्छे बस्दै गए समस्या हेरी अन्य सुविधाका कुरापनी थपिन्थे ।”

संघीय कृषि,भुमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयको १ करोड ७६ लाख ४७ हजार ५ सय, हेविटाट फर ह्युमानिटी नेपालको ६२ लाख ८७ हजार, पुनर्वास नगरपालिकाको ३ लाख ३५ हजार, घरधुरी योगदान १३ लाख १७ हजार ४ सय बीस रुपैयाँ लागतमा निर्माण सम्पन्न भएको थियो । करोडौं रुपैयाँ लगानीमा निर्माण भएका यी आवासका ढोकामा अहिले ताला लागेको देख्दा सरकारको उद्देश्य पूरा हुन नसकेको र प्रयोग विहिनले बस्तीको शोभा नै गुमेको प्रष्ट देखिन्छ । भवन प्रयोग विहिन किन भए ? उनीहरुलाई स्थायी बसाल्न के गर्नुपर्छ ? भन्ने विषयमा सम्बन्धित पक्षले एकपटक अध्ययन गरि समाधान गर्न जरुरी छ ।






