डोटी: मानवीय सेवामा अनेकौं प्रयास (साईन नेपाल) नमक गैरसरकारी संस्था कैलाली समाजमा व्याप्त रहेको छाउपडी प्रथा अन्त्य गर्ने दौडमा देखिएको छ । प्राचीनकालदेखी समाजमा जगडीएर कुप्रथाको रुपमा रहेको छाउपडी प्रथा अन्त्यका लागि विभिन्न सचेतना कार्यक्रम सहित महिलाहरुलाई केही स्वच्छता सामाग्री वितरण गर्दै साईन नेपाल संस्था सुदुरका विभिन्न पालिकामा सक्रिय देखिएको हो । संस्थाले आईतबार डोटीको आदर्श गाउँपालिका-४ का ४ सय ५४ महिलाहरुका बीच सचेतना कार्यक्रम गर्दै स्वच्छता सामाग्री वितरण गरेको छ । कार्यक्रममा साईन नेपालका अध्यक्ष भक्तराज जोशीले सरकारले गाउँघरका छाउगोँठ भत्काउने कार्यक्रम ल्याएपनि व्यक्तिका मनबाट महिनावारीका छुवाछूत हटाउन नसकेको बताउनुभयो । “महिनावारीका छुवाछूत सचेतना कार्यक्रम मार्फत हटाउन सकिन्छ कि भनेर लागेका हौ ।”

अध्यक्ष जोशीले भन्नुभयो “सो अवस्थामा महिलाहरुलाई स्वस्थ्य रहन स्वच्छता सामाग्री पनि वितरण गर्यौ ।” कार्यक्रममा उपस्थित केही महिलाहरुले छुवाछूतमा आधारित डेउडा गित प्रस्तुत गर्दै अब यस्ता प्रथाको अन्त्य गर्न हामी सबै सचेत हुनुपर्ने बताएका हुन् । संस्थाले एकहप्ता यता कैलालीको गोदावरी नगरपालिका-१२ का ५ सय २१ जना महिला, बाजुराको बडिमालिका नगरपालिका-२,८ का ४ सय जना महिला, बुढीगंगा नगरपालिका-७,८ का ४ सय जना महिला र डोटीको सायल गाउँपालिका-३ का ४ सय महिलाहरु माझ सचेतनासंगै स्वच्छता सामाग्री वितरण गरेको हो ।

महिलाहरुलाई सचेत बनाई छाउगोठबाट हुन सक्ने सम्भावित घटनाबाट जोगाउन सकिन्छ भन्ने उद्देश्यले संस्थाले सो कार्यक्रम सञ्चालन गरेको कोषाध्यक्ष मेघराज भट्टले जानकारी दिनुभयो । सरकारले सो प्रथाको अन्त्य गर्न केही समयसम्म छाउगोठ भत्काउने अभियान थालनी गरेपनि सुदूरपश्चिमका अछाम, बाजुरा, बझाङ, डोटी, दार्चुला, बैतडी, डडेलधुरा लगायतका पहाडी क्षेत्र र तराईका क्षेत्रमा यो प्रथा अझै सलबलाई रहेको अवस्थामा पाईन्छ ।
