डोटी- डोटीको पुर्वीचौकी गाउँपालिका-७, पोखरीका महिलाहरुलाई ३ महिने सिलाई कटाई तालिम सञ्चालन गरेको छ । सिलाईबाट आयआर्जन गरि आत्मनिर्भर बनाउन बिहीबार मानवीय सेवामा अनेकौ प्रयास (साईन नेपाल) नामक संस्थाले पोखरीका २० जना महिलालाई सिलाई कटाई तालिमको सञ्चालन गरेको हो ।

संस्थाका अध्यक्ष भक्तराज जोशीको सभाध्यक्ष तथा पुर्वीचौकी गाउँपालिका-७ का वडाध्यक्ष प्रकाश साउदको प्रमुख अतिथ्य रहेको कार्यक्रममा पुर्वीचौकी गाउँपालिका-३ का वडाध्यक्ष अमरबहादुर चयडा विशिष्ट अतिथीमा थिए । भने पत्रकार महासंघ डोटीका सचीव पवन महरा लगायतका व्यक्तिहरु अतिथीमा आसिन रहेका थिए । प्रमुख अतिथीको तर्फबाट बोल्दै वडाध्यक्ष साउदले महिलाहरुका लागि निकै ठूलो कार्यक्रम रहेको र यसबाट महिलाहरु आयआर्जनमा आत्मनिर्भर हुने आशा राखेको बताए ।

त्यस्तै संस्थाका अध्यक्ष जोशीले ३ महिने सिलाईबाट उत्कृष्ट नतिजा आए अझै ६ महिने तालिम सञ्चालन गर्ने जानकारी दिए । संस्थाको केयर एण्ड रिलिफ परियोजना अन्तर्गत आयआर्जन तर्फ सिलाई कटाई तालिमको आयोजना गरेको संस्थाले जनाएको छ । २० जना महिलाको सहभागिता रहेको तालिमको प्रशिक्षकको रुपमा देवि धामी रहेकी थिईन । सहभागी रम्भा कुवरको स्वागत मन्तव्यसंगै सुरु भएको कार्यक्रमलाई सञ्चालन कार्यपालिका सदस्य स्मृति चुनाराले गरेकी थिईन ।

