महेन्द्रनगर : कृष्णपुर नगरपालिकामा किसानहरुलाई तरकारीको बिउ विजन वितरण गरिएको छ । वडा नम्बर–१ का किसानहरुलाई कृषि बिउविजन हस्तान्तरण गरिएको हो । कोभिड– १९ बाट प्रभावित समुदायहरुको लागि पुनरोत्थान परियोजना अन्तर्गत मंगलवार वडा नम्बर १ का ९० जना किसानहरुलाई विभिन्न जाताका विउविजन हस्तान्तरण गरिएको हो ।

निड्स नेपाल र कृष्णपुर नगरपालिकाको संयुक्त साझेदारीमा फर्सी,भिन्टी,करेला,बोडी,काँक्रा,लौकी,खुर्सानी लगायतका विउविजन वितरण गरिएको वडा नम्बर १ का वडाध्यक्ष मोहन बहादुर बस्नेतले जानकारी दिए । कृष्णपुर महिला कृषि सहकारी संस्थामा आवद्ध संगै अन्य कृषि व्यवसायमा सक्रिय रुपमा संलग्न किसानहरुलाई सहकारी संस्था मार्फत विउविजन वितरण गरिएको हो ।

वडाका कृषकलाई व्यवसायीक रुपमा तरकारी खेतीमा आकर्षित गराउन विउविजन वितरण गरिएको वडाध्यक्ष मोहन बस्नेतले बताए । निड्स नेपालका कर्मचारी जीवन चौटतले किसानहरुले विउविजनको सही तरिकाले सदुपयोग गर्नुपर्ने बताए ।







