चितवन: जिल्ला फुटबल संघको आयोजनामा चार दिने फुटबल प्रशिक्षक प्रशिक्षण सुरु भएको छ ।
मंगलबार एक कार्यक्रमका साथ तालिमको उद्घाटन अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष कर्मा छिरिङ्ग शेर्पाले गर्नु भएको हो।नेपाली फुटबललाई वैज्ञानिक ढंग बाट सञ्चालन गर्नका लागि फुटबल प्रतिको ज्ञान शिक्षा निकै महत्त्वपूर्ण हुने हुँदा निरन्तर फुटबलको शिक्षा हासिल गरे मात्रै कुशल सक्षम क्षमतावान प्रशिक्षक बन्न र खेलाडी उत्पादन गर्न सकिने एन्फा अध्यक्ष शेर्पाले बताए।

प्रशिक्षणमा ‘डी’ लाइसेन्स प्राप्त उत्कृष्ट प्रशिक्षकलाई ‘सी’ को, ‘सी’ लाई ‘बी’ को र ‘बी’ लाई ‘ए’ को प्रशिक्षण दिईने छ। पछिल्लो समयमा निरन्तर फुटबल प्रशिक्षक उत्पादनमा एन्फाले धेरै जोड दिदै आएको छ।
अहिले नेपालमा ‘ए’ लाइसेन्स प्राप्त प्रशिक्षकहरुको अभाव रहेको हुँदा एन्फाले प्रशिक्षक उत्पादनमा पनि जोड दिईरहेक छ। जसमा अहिलेको प्रशिक्षणबाट ‘डी’ लाइसेन्स प्राप्त गर्ने प्रशिक्षकहरुलाई प्रशिक्षणको अवसर प्रदान गर्नका लागि स्थानीय तहसँग समन्वय गरिने छ।

चार दिनसम्म चल्ने तालिममा सातै पालिकाका ३० प्रशिक्षार्थीहरु सहभागि रहेको चितवन जिल्ला फुटबल संघका महासचिव रामहरि ढकालले जानकारी दिए । उनीहरुलाई अखिल नेपाल फुटबल संघका हेड अफ कोच एजुकेसन सन्जित सिंह र हेड अफ युथ डेभलप्मेन्ट नविन महर्जनले प्रशिक्षण दिनेछन् । तालिम अवधिभर ‘बी’ लाइसेन्स प्राप्त तथा जिल्ला फुटबल संघका प्रशिक्षक सुमन श्रेष्ठ र पूर्व राष्ट्रिय खेलाडी तथा एएफसी लेभल वान गोलकिपर प्रशिक्षक छन्नुराम चौधरी सहजकर्ता रुपमा रहनेछन् ।
