कञ्चनपुर : कञ्चनपुरको पुनर्वास हाट बजार समितिको जमिन गैर कानुनी रुपमा व्यक्तिलाई बेचबिखन गरेको पाईएको छ । जिल्लाको दक्षिणी क्षेत्र पुनर्वास नगरपालिका ६ त्रिभुवनबस्तीमा रहेको हाट बजार समितिको जमिन व्यक्तिलाई बेचेको पाईको हो । हर्क बहादुर थापा नेतृत्वको हाट बजार समितिले सार्वजनिक जमिन व्यक्तिलाई बेचबिखन गरेपछि लफडा मच्चिाएको छ । कृषि हाट बजार प्रयोजनका लागि लिएको जमिन एकातिर हाट बजार बन्द गरेर व्यक्तिलाई बेचबिखन गरेपछि अहिले उक्त मुद्दा उठान गरेर केही स्थानीयले बिरोध गरेका छन । हाट बजारको जमिन फिर्ता हुनुपर्ने माग अघि सारेर उनीहरुले व्यक्तिका नामबाट जमिन खोसेर समितिकै नाममा राख्नुपर्ने माग अघि सारेका छन ।

समितिले तत्तकालिन मालपोत, नापी कार्यालयसंग सेटिङ्ग गरेर सार्वजनिक जमिन व्यक्तिको नाममा नामसारी गर्न लगाएको थियो । संचालक समितिले आफ्न्त, निकट दलका नेता कार्यकर्ता र जनप्रतिनिधीको नाममा नामसारी गरेका छन । स्थानीय राज कुमार श्रेष्ठले समितिले आफन्तका नाममा बेचबिखन गरेको बताए । उनले समितिका अध्यक्ष हर्क बहादुर थापाले नै सार्वजनिक सम्पत्ती दोहन गरेको बताए । २० बर्ष अघि हाट बजार समितिले पुनर्वास राष्ट्रिय आवास कम्पनीसंग १७ कट्टा १० धुर जमिन खरिद गरेको थियो । जसमध्ये १४जनालाई करिब ८ कट्टा बेचेको पाईएको छ । कृषि हाट बजारको प्रंयोजनका लागि भन्दै लिएको जमिनमा समितिले हाट बजार नै बन्द गरेर व्यक्तिहरुलाई धमाधम बिक्रि वितरण गरेपछि स्थानीय बिरोधमा उत्रिएका हुन । ०५८ सालमा पुनर्वास राष्ट्रिय आवास कम्पनीसंग लिएको जमिन किसानले उत्पादन गरेको बस्तुभाउ बिक्रि वितरण गर्न सहजहोस भन्ने उदेश्यले लिएको जमिनमा समितिको बदमासीले किसानले उत्पादन गरेको बस्तु बिक्रिका समेत समस्या भएको छ । समितिले किसानको समस्या भन्दा पनि आफन्तलाई जमिन नामसारी गर्न उद्यत रहेपछि हाट बजार समेत बन्द भएको थियो । समितिको जमिन व्यक्तिका नाममा बेचेपछि अदालतसम्म मुद्दा मामला भएको छ ।

अर्का स्थानीय प्रेम बोहराले किसानमा लागि लिएको जमिन किसान भन्दा गैर किसान व्यवसायीलाई बेचेकोप्रति आपत्ति जनाए । उनले जनतालाई थाहै नदिएर जमिन बिक्रि वितरण गरेर व्यक्तिका नाममा नामसारी गरेको बताए । उक्त जमिन अहिले जनप्रतिनिधी सहित राजनीतिक दलका नेता कार्यकर्ताको नाममा नामसारी भएको पाईएको छ । पुनर्वास नगरका कार्यापालिका सदस्य भारमल सुनार, गंगादेवी थापा, हरिराम खनिया समितिको नाममा नामसारी भएको पाईएको छ । जनप्रतिनिधी भारमल सुनारले आफु कुनै सार्वजनिक पदमा नरहेका बेला संस्थासंग कृषि प्रयोजनका लागि २ धुर जमिन खरिद गरेको बताए । ‘म ०६५ सालमा कुनैपनि सार्वजनिक पदमा थिएन, ‘उनले भने, ‘उतिबेला मैले कृषि कामकै लागि खरिद गरेको हुँ ।’ स्थानीयले सार्वजनिक संस्थाको जमिन व्यक्ति व्यक्तिका नाममा नामसारी गर्ने कार्य नै गैर कानुनी भएको बताएका छन । तत्तकालिन समिति, नापी, मालपोतसंग सेटिङ्ग गरेर सरकारी जमिन व्यक्तिका नाममा नामसारीमा कर्मचारीमाथि समेत छानबिन गरेर कार्बाही गर्नुपर्ने बताएका छन ।

हर्क बहादुर थापा नेतृत्वको समितिले हाट बजारको जमिन दोहन गरेको भन्दै मेनुका उप्रेती नेतृत्वमा गठित हाट बजार समितिले उक्त जमिन समितिकै नाममा फिर्ताका लागि पहल गर्ने बताईन । ‘अघिल्लो समितिले ठुलो बदमासी गरेको छ, उनले भनिन, ‘अब हामी सबै सरकारी निकायमा पुगेर व्यक्तिका नाममा राखेको जमिन रद्द गराउँछौँ ।’ पुनर्वास कृषि हाट बजार समितिका अध्यक्ष हर्क बहादुर थापाले आफुले व्यक्तिगत रुपमा जमिन नबेचेको बताए । उनका अनुसार समितिले पुनर्वास ग्रामिण आवास कम्पनीसंग खरिद गर्दा १लाख ७५ हजार बढिको रकम ऋण तिर्नका लागि समितिकै विद्यान अनुरुप बेचेको बताए । ‘म यो बारेमा विस्तृत पछि भन्छु, ‘उनले भने, ‘जिल्लादेखि सर्वोच्चसम्म मुा छ, पछि फैसला भएपछि बोल्छु ।’ पुनर्वास नगरपालिकाले समेत जुन प्रयोजनका लागि जमिन दिएको हो, त्यही प्रयोजनका लागि मात्रै उपभोग गर्नुपर्ने धारण अघि सारेको छ । पुनर्वासका मेयर जिवनराज थापाले कृषि हाट बजारका लागि लिएको जमिन व्यक्ति व्यक्तिलाई बेच्ने कार्य गलत भएको बताउदै उनले समितिको बदमासी देखिएको बताए । ‘यहाँ बदमासी नै भएको पाईन्छ, ‘उनले भने, ‘किनकी हाट बजारका लागि भन्दै लिएको जमिन संस्थाले व्यक्तिलाई बेच्न पाईदैन ।’
