बझाङ : बझाङमा वडा अध्यक्ष र सचिवमाथि मोसो दलिएको छ । बझाङको बित्थडचिर गाउँपालिका ८ का वडाध्यक्ष जय बहादुर मल्ल र वडा सचिव दत्तराम अवस्थीलाई विप्लव नेतृत्वको नेकपाका कार्यकर्ताले मोसो दलेको हुन् । वडामा वडाध्यक्ष र वडा सचिव मिलेर भ्रष्टाचार गरेको भन्दै नेत्रविक्रम चन्द्र विप्लव नेतृत्वको अनेरास्ववियुले मोसो दलेको पार्टीले जनाएको छ । कार्यालय जादै गर्दा सोमबार दिउँसो बाटोमै नेकपाका कार्यकर्ताले दुर्व्यवहार गरेका हुन् ।
उनीविरूद्ध खानेपानी योजना निमार्णमा भ्रष्टाचार गरेको, मजदुरलाई ज्याला नदिएको, सडक बिस्तारमा कमिसन खाएको, कागजपत्र मिलाएर सामाजिक सुरक्षा भत्तामा अनियमितता गरेको र प्रतिबन्धको समयमा पार्टीविरुद्ध सुराकी गरेको आरोप लगाइएको छ । यता, बित्थडचिर गाउँपालिका प्रवक्ता हर्क धामीले वडाध्यक्ष र वडा सचिवलाई दुर्व्यवहार गर्नेविरुद्ध जिल्ला प्रहरी कार्यालयमा उजूरी दर्ता भइसकेको र उनीहरुलाई प्रहरीले नियन्त्रणमा लिइसकेको बताए ।