कञ्चनपुर : शुक्लाफाँटा नगरपालिकाले चालु आ.व.को छ महिनाको अबधिमा रु २४ लाख ४३ हजार १८० राजस्व संकलन गरेको छ । बार्षिक लक्ष्यको ११ दशमवलव १३ प्रतिशत राजस्व संकलन गरेको छ । चालु आ.व.मा नगरपालिकाले बार्षिक लक्ष्य रु दुई करोड १९ लाख ३८ हजार निर्धारण गरेको छ । कोरोना महामारीका कारण राजस्व संकलनमा कमी देखिएको नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत टिकेन्द्र भट्टले बताए । ‘चालु आ.व.को असार मसान्त सम्म निर्धारित लक्ष्यमा पुग्छौं’ उनले भने, ‘कोरोनाको दोश्रो लहरको संक्रमणले राजस्व संकलनमा अवरोध भयो । कोरोनाको संक्रमणको अबस्थामा सुधार लक्ष्यमा पुगिन्छ ।’

उनका अनुसार एकीकृत सम्पती कर वाफत रु दुई लाख ८ हजार ५११, भूमिकर रु ६ लाख १२ हजार २५४, घर बहाल कर रु दुई लाख १५ हजार ८९, वहाल विटौरीकर रु ८००, अन्यकर रु नौ हजार ८५०, अन्य प्रशासनिक सेवा शुल्क रु एक लाख ८० हजार ९३ राजस्व संकलन भएको छ । यसैगरी, नक्सापास दस्तुर रु एक लाख २८ हजार १५२, सिफारिस दस्तुर वाफत रु दुई लाख २४ हजार ३५०, व्यवसाय कर रु पाँच लाख ४९ हजार ३६० र बेरुजु असुली रु दुई लाख ३३ हजार ९१० राजस्व संकलन भएको छ । नगरपालिको आर्थिक प्रशासन शाखाका कम्प्युटर अपरेटर राजेश ऐरका अनुसार आब ०७६/७७ को तुलनमा आब ०७७/७८ मा कुल अनुमान भन्दा ४२ दशमलव ५१ प्रतिशत बढी राजस्व संकलन गरेको थियो । आब ०७६/७७ मा रु एक करोड ४५ लाख ४९ हजार राजस्व संकलन भएकोमा आब ०७७/७८ मा रु दुई करोड ७७ लाख ८९ हजार ७७३ राजस्व संकलन भएको थियो ।

सो आ.व.का लागि वार्षिक राजस्व संकलन गर्ने लक्ष्य रु एक करोड ९५ लाख निर्धारण गरिएको थियो । जसको असुली प्रतिशत रु १४२ दशमलव ५१ प्रतिशत रहेको थियो । यसैगरी, नगरपालिकाको चालु आबको कुल आम्दानी अनुमान रु ७९ करोड ४९ लाख २४ लाख ५४ गरिएकोमा चालु आबको आम्दानी आय रु ३१ करोड ५३ लाख १८ हजार ४४८ रहेको छ । कुल आम्दानीबाट खर्च सामाजिक सुरक्षामा रु पाँच करोड ७१ लाख ५१ हजार ८७ भएको छ । नगरपालिकाको चालु खर्च रु १५ करोड ५७ लाख ६० हजार ६२२ र पूजिँगत खर्च रु एक करोड ३१ लाख ४२ हजार ९९५ रहेको छ । खर्च प्रतिशत भने २८ दशमलव ४३ प्रतिशत रहेको छ । आम्दानीका श्रोतका रुपमा समानिकरण अनुदान, सशर्त अनुदान, प्रदेश राजस्व बाँडफाँड, आन्तरिक आम्दानी र सामाजिक सुरक्षा भत्ता लगायत रहेका छन । खर्चका श्रोतहरुमा प्रशासनिक खर्च, वडा कार्यालय भवन निर्माण,सडक निर्माण, आधारभूत स्वास्थ्य केन्द, नगर अस्पताल र विकास निर्माणका अन्य कार्यक्रमहरु रहेका छन






