पुनर्वास–कञ्चनपुरको पुनर्वास नगरपालिका कार्यालयको दशौ नगर सभा उद्घाटन भएको छ । बिहिबार स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाई नगर प्रमुख जिवनराज थापाले पानसमा बत्ति बालेर नगरपालिकाको दशौ नगर सभालाई उद्घाटन गर्नुभएको हो । सभाध्यक्ष समेत रहनुभएका नगर प्रमुख थापाले सभालाई सम्बोधन गर्नुहुँदै चालु आर्थिक वर्षको योजनामा नगरवासीहरुलाई आधारभुत शिक्षा, स्वास्थ्य, रोजगारी र सामाजिक सुरक्षा तथा संरक्षणका अवसर उपलब्ध गराई शान्त, न्यायपूर्ण समुन्नत, सभ्य र सुसँस्कृत समाज निर्माणको प्रयासमा लागेको बताउनुभयो ।

उहाँले चालु आ.व.का नगरपालिका र वडाबाट सञ्चालित योजनाका अवस्थाका विषयलाई समेत सभामा प्रष्ट पार्नुभएको थियो । सो क्षेत्रमा खुला सीमानाकाका कारण बारम्बार देखिने विवाद, तस्करी र विभिन्न अपराधिक क्रियाकलापहरुलाई नियन्त्रण गराउन सीमामा तारबार गर्ने योजना समेत बनाएको नगर सभामा बताउनुभयोे । त्यसैगरि स्वागत मन्तव्यसँगै वार्षिक प्रगती समिक्षाका विषयमा नगर उपप्रमुख शारदा बिष्टले सभामा आ.व.२०७८/०७९ मा ७८ करोड ६६ लाख ७७ हजार रुपैयाँ क्षेत्रगत बजेट मध्ये सोहि आ.व.को पौष ३० सम्म १८ करोड ७३ लाख ४९ हजार ३ सय ९० रुपैँया खर्च हुन आएको रकम प्रस्तुत गर्नुभएको थियो ।

त्यस्तै यसै आ.व.को चालु तर्फ ४४ करोड ६९ लाख ४४ हजार बजेटमा पौष ३० सम्म १४ करोड ३५ लाख ३७ हजार ९ सय ५९ रुपैँया खर्च देखिएको थियो । भने पुँजिगत तर्फ ३३ करोड ९७ लाख ३३ हजार बजेटमा ४ करोड ३८ लाख ११ हजार ४ सय ३२ रुपैँया खर्च भएको प्रगती विवरण प्रतिवेदन पेश गर्नुभएको थियो । सम्पूण जनप्रतिनिधिहरुको सहभागिता रहेको दशौ नगर सभालाई उद्घाटन सत्रमै स्थगित गर्दै समापन एक हप्ता भित्रै गरिने जनाईएको छ ।

