जग्गा पाएपछि दोधारा चाँदनीका बादी घरपरिवारमा खुशीयाली


दोधारा । केही समय अघि सम्म बाटो पाल टाँगेर बस्दै आएका दोधारा चाँदनी नगरपालिका वडा नं. ३ बडवाल टोलका बादी घरपरिवारले जग्गा पाए संगै उनिहरुमा खुसी छाएको छ् । तत्कालीन नेपाल सरकार र माओबादी द्धन्द्धको समयमा आफुहरु असुरक्षित महशुस गर्दै घर खेत छाडेर अन्यत्र पलाएन भएका बादी घरपरिवारहरुले दोधारा चाँदनी नगरपालिका कार्यालयले जग्गा उपलब्ध गराएपछि उनिहरुको घर परिवारमा खुशीयाली छाएको छ् । नेपाल सरकारले सुकुम्बासीहरुलाई जग्गा दिने भन्ने सुनेपछि दोधारा चाँदनी नगरपालिका वडा नं. ३ बडवाल टोलमा फर्केका बादीका ४ घरपरिवार केही महिना सम्म बाटोमा पाल टाँगेर बस्दै आएका थिए । बाटोमा पाल टाँगेर बस्दै गाँस बाँस र कपासको पिडाले छट्पटी रहेको अवस्था संचार माध्यमहरुमा आउन थालेपछि केही महिना अघि मात्रै बादी घर परिवारको अवस्था बुझ्न सामाजिक विकास मन्त्री कृष्ण राज सुवेदी, सामाजिक विकास समितिका सभापती कुन्ती जोशी लगाएतको टोली बडवाल टोल पुगेका थिए । बादी परिवारको नाजुक अवस्थालाई बुझेर नेपाल दलित संघ, माईती नेपाल कञ्चनपुर, नेपाल रेडक्रस सोसाईटी, सामाजसेवी भिम कुमाल लगाएत दाताहरुले राहत समेत दिएका थिए ।

तत्कालीन नेपाल सरकार र माओबादी द्धन्दको समयमा बडवाल टोलमा स्थानियबासी जोगी महता लगाएत टोलीले आफु माओबादी बताउदै बडवाल टोल तथा आसपास क्षेत्रमा आतंक मच्चाएको कारण चरम आतंक सहन गर्न नसकी ज्यान बचाउन ४ बादी घरपरिवार भारत तर्फ बिस्तापित हुन बाध्य भएको बादी परिवारको मुखिया बिरभाने बादीले बताउदै आएका छन् । बिगतका आफ्नो झण्डै ७ बिघाह जग्गा रहेको ४ बादी घरपरिवारले दाबी गर्दै आएका थिए । दोधारा चाँदनी नगरपालिका वडा नं. ४ का वडा अध्यक्ष भक्त बहादुर सुनारको संयोजकत्वमा गठन भएको बादी घरपरिवारको जग्गा छानबिन समितिले बडवाल टोलमा स्थलगत अनुगमन गरि बादी घरपरिवारको जग्गा उनैलाई दिनु पर्ने सिफारिस गरेसंगै दोधारा चाँदनी नगरपालिका कार्यालयले बिगतका दिनहरुमा बादी घरपरिवारले छाडिगएको जग्गा उनिहरुलाई दिने निर्णय गरेको हो । ‘नगरपालिकाले हाम्रो बिगतका दिनहरुमा छाडिगएको जग्गा दिलाई दिएकोमा हामी नगरपालिका प्रति निकै आभारी छौं’ बिरभाने बादीले भने – ‘अब गरिखाने दिन आयो, हामी सुकुम्बासी रहेनौं ।’ जग्गा दिलाउन सहयोग गर्ने दोधारा चाँदनी नगरपालिका वडा नं. ४ का वडा अध्यक्ष भक्त बहादुर सुनारको बिशेष योगदान रहेको बताउदै दोधारा चाँदनी नगरपालिकाका जनप्रतिनिधी लगाएत सबैलाई उनले धन्यबाद दिएका छन् । नगरपालिकाले थप केही ब्यक्तीहरुले आफ्नो जग्गा छाड्न नखोजेको हुदा बाँकी रहेको जग्गा पनि नगरपालिकाले सहज ढंगबाट भोगचलन गर्ने ब्यवस्था गराईदिए आभारी हुने बिरभान बादीले बताएका छन् । जग्गा पाएपछि बादी परिवारले जग्गामा गहुँ र तरकारी लगाएका छन् । ४ बादी परिवारले झण्डै डेढ बिघाह जग्गा पाएपछि उनिहरुमा खुशीको उमंग छाएको छ् । ‘स्थानिय सरकारले बास्तवमा गरिब परिवारलाई न्याय दियो’ सितली बादीले भने – ‘सुकुम्बासी जिवन बिताउदै आएका दिनहरु सक्किए अब ।’ आफ्ना र अर्काका पीडा गित मार्फत सुनाउदै गाँउ घर चाहारेर माँगी दैनिकी चलाउन खाद्यान्न संकलन गर्दै आएको सितली बादी अहिले नयाँ जिवन जिउने रणनीति बनाउन अब अनेक उपायमा छन् । तर उनिहरुको सपना, सपनै बन्दै आएको थियो । स्थानिय सरकारले जग्गा दिलाई दिएपछि अबका दिनहरुमा आत्मनिर्भर भएर पीडाको जिन्दगीबाट मुक्ति पाएको सितली बादी बताउछन् । नेपाल सरकारले आफुहरुको थप समस्या समाधान गर्नेमा अबका दिनहरमा ढुक्क रहेको सितली बादीले बताए ।


ताजा समाचार

spot_img