कञ्चनपुर: भीमदत्त नगरपालिका वडा नम्बर १०, १५, १८ र १९ का जम्मा ३४ जना महिला स्वास्थ्य स्वयंसेविकाहरूलाई कोभिड १९ बारे जानकारी तथा यसका विरुद्ध लगाइने विभिन्न खोपहरू र यसको प्रभावकारिताका बारेमा अभिमुखीकरण गरिएको छ । एमसिएपिको आर्थिक सहयोग र एलडब्ल्युआरको साझेदारी तथा निड्स नेपालको सहकार्यमा सञ्चालित रिकवर परियोजना अन्तर्गत अभिमुखीकरण कार्यक्रम गरिएको हो ।

कोभिड १९ बाट प्रभावित समुदायको लागि स्थानीय सरकारसँग समन्वय गरी स्वास्थ्य संस्थाहरूको माध्यमबाट गैरसरकारी संस्था निड्सको साझेदारीमा कोभिड १९ जस्ता महामारी रोकथाम र पहिचान, व्यवस्थापन र उपचारका लागि आवश्यक सामग्री तथा उपचारमा सहयोग उपलब्ध गराउने साथै कोभिडका कारण विस्थापित भएका आप्रवासीहरूलाई सहयोग र सहायता प्रदान गर्ने परियोजनाको मुख्य उद्देश्य रहेको बताइएको छ ।
भीमदत्त नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख नरेन्द्र जोशी र स्वास्थ्य अधिकृत भीम सिंह महराले अभिमुखीकरण कार्यक्रमको सहजीकरण गर्नु भएको थियो । साथै ३ वटा वर्थिङ सेन्टरमा स्वास्थ्य सामग्री सहित कम्बलहरू हस्तान्तरण गरिएको छ ।





