पुनर्वास – कञ्चनपुरको पुनर्वास नगरपालिकामा युएसएआईडीको साझेदारी संघियता कार्यक्रम अन्तर्गत दुई दिने प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । नगरपालिकाको सभाहलमा सोमबारबाट सुरु भएको स्थानिय सरकारका पदाधिकारीहरुका लागि लैङ्गिक समानता तथा सामाजिक समावेशीकरण परिक्षण सम्बन्धी दुई दिने तालिम मंगलबार सम्पन्न भएको हो । कार्यक्रममा पहिलो दिन लैङ्गिक समानता तथा सामाजिक समावेशीकरणको वर्तमान अवस्था, समस्या, चुनौती र अवसरहरुका विषयमा तालिम दिईएको थियो ।

दोस्रो दिन आर्थिक वर्ष २०७७/०७८ को लैङ्गिक समानता तथा सामाजिक समावेशीकरणका गतिविधि, त्यसको संभावित जोखिम र त्यसको न्यूनिकरणका विषयमा प्रशिक्षण गरिएको थियो । समापन कार्यक्रममा बोल्दै नगर प्रमुख जिवनराज थापाले ऐन,नियमका कारण आफ्ना अधिकारहरुको प्रयोगमा असहजता र कतिपय योजनाहरु कोरोनाका असरले अपूरा रहेकोे बताउनु भएको थियो । मन्तव्यकै क्रममा उपप्रमुख शारदा बिष्टले जनप्रतिनिधिहरुको समयावधी छोटो भएपनि सिस्टमको थालनी गर्ने बताउनुभयो । उहाँले यस्ता कार्यक्रमले लेखाजोखा तर्फमा नेपालमै नमुना नगरपालिका बनाउनमा मद्धत पुग्ने भन्दै आयोजक पदाधिकारीहरुलाई धन्यवाद व्यक्त गर्नुभएको थियो । त्यस्तै नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत शिवराज भट्टले कार्यक्रमको उद्धेश्य अनुसारका योजना भएपनि लैङ्गिक समानता भन्दा अलिक फरक हुने गरेको बताउनुभयो ।

उहाँले नेपालको शासकिय व्यवस्थामा संस्थाहरुको योगदान ठुलो रहेको बताउनुभयो । प्रशिक्षण कार्यक्रममा वडाध्यक्षहरु, विषयगत शाखाका कर्मचारी र वडासचिवहरुको उपस्थिती रहेको थियो । पुनर्वास नगरपालिकाका नगर प्रमुख जिवनराज थापाको अध्यक्षतामा सम्पन्न भएको सो प्रशिक्षण कार्यक्रमलाई लैङ्गिक समानता तथा सामाजिक समावेशीकरणकी सल्लाहकार निग्मा ताम्राकार, विशेषज्ञ उषा बानिया, वरिष्ठ सुशासन विज्ञ महेश नेपाल र पालिका संयोजक खडक राम ओडले सहजीकरण गर्नुभएको थियो । लैङ्गिक समानता तथा सामाजिक समावेशीकरण तालिम विगतका वर्षहरुमा सञ्चालन भएपनि यस नगरपालिकामा सञ्चालन यो परिक्षण भने पहिलो भएको संस्थाले जनाएको छ ।

