प्रधानमन्त्री शेरबहादुर देउवा बिहीबार गृहप्रदेश सुदूरपश्चिममा बाढीपहिरोले पुऱ्याएको क्षतिको निरीक्षणमा जाने भएका छन्। उनी एक मन्त्री र तीन जना पूर्वमन्त्रीका साथ गृहप्रदेशमा बाढीपहिरोले पुऱ्याएको क्षतिको निरीक्षणमा जाने भएका हुन्। नेपाली कांग्रेसका नेता एनपी साउदसँग बुधबार अपरान्ह भएको सरसल्लाहका क्रममा उनले बिहीबार बिहान सुदूरपश्चिमको क्षति निरीक्षणका लागि जाने तय गरेका हुन्। नेता साउदकाअनुसार प्रधानमन्त्री देउवा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेलाई लिएर सुदूरपश्चिम जाँदै छन्। प्रधानमन्त्रीको उक्त टोलीमा कांग्रेस केन्द्रीय सदस्यहरु साउद, लेखक र वीरबहादुर बलायर पनि रहने छन्। टोली काठमाडौंबाट सोझै कुन जिल्ला जाने भन्ने बारेमा भने तय भइनसकेको नेता साउदले जानकारी दिए। उनले छलफलका क्रममा आफूले प्रधानमन्त्रीलाई नदी किनारका बस्तीहरु जोखिममा रहेका, पहाडी जिल्लाहरुमा पहिरोको उच्च जोखिम रहेको, सडक सञ्जाल भताभुंग भएको, विद्युत–टेलिफोन सेवा अवरुद्ध भएकोबारे ‘ब्रिफिङ’ गरेको बताए। ‘सुदूरपश्चिमका दुई जिल्ला कैलाली र कञ्चनपुरका किसनाहरुले धानको एकतिहाइ खेतबाट घर ल्याउन सकेका छैनन। कतै धान बगाएको छ भने कतै डुबाएको छ। यसका बारेमा मैले प्रधानमन्त्रीलाई अवगत गराएको छु,’ नेता साउदले भने।