कञ्चनपुर : जङ्गली हात्तीको आक्रमणबाट कञ्चनपुरमा दम्पतीको मृत्यु भएको छ । जङ्गली हात्तीको आक्रमणबाट शुक्लाफाँटा नगरपालिका वडा नम्बर १२ वसन्तपुर बस्ने ५५ वर्षीय ध्वज बहादुर कार्की र उहाँकी श्रीमती ४५ वर्षीया मथुरा कार्कीको मृत्यु भएको इलाका प्रहरी कार्यालय झलारीका प्रहरी निरीक्षक कर्ण बहादुर बोहराले जानकारी दिनुभएको छ । उहाँका अनुसार, बुधबार बिहान साढे ३ बजेतिर खेतबारीमा भैँसी आएको ठानी भगाउन निस्किएका कार्की दम्पतीलाई हात्तीको बथानले आक्रमण गरी मारेको हो ।
मृतक कार्की दम्पतीको महाकाली प्रादेशिक अस्पतालमा शव परीक्षण गरी परिवारजनलाई बुझाइने प्रहरीले जनाएको छ । घटनापछि सुरक्षा निकाय सहित सुदूरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्री लाल बहादुर खड्का, शुक्लाफाँटा नगरपालिकाका नगर प्रमुख दिल बहादुर ऐर सहितका जनप्रतिनिधि र सरोकारवालाहरू घटना स्थलमा पुग्नुभएको थियो । उक्त घटना प्रति दुःख व्यक्त गर्दै सतर्क रहन डिभिजन बन कार्यालय कञ्चनपुरका निमित्त प्रमुख दिनेश कुमार यादवले अनुरोध गर्नुभयो । पीडित परिवारलाई कानुन बमोजिम राहत उपलब्ध गराइने समेत उहाँले जानकारी दिनुभएको छ ।