पुनर्वास – कंचनपुरको पुनर्वासमा कोरोना माहामारीका कारण दुई वर्ष देखि रोकिएको नवरात्री श्री रामलिला कार्यक्रम यस वर्ष पुनः सुरु गरिएको छ । पुनर्वास नगरपालिका-८, क-गाउँ स्थित कोटेश्वर महादेव मन्दिरको आयोजनामा हिन्दुहरुको महान पर्व विजया दशमीको पावन अवसरमा आयोजित नवरात्री श्री रामलीला महोत्सव बिहिबार देखि बागिश्वरी माध्यमिक विद्यालयको प्राङ्गणमा सुरु गरिएको हो । आयोजक समितिका अध्यक्ष सुरेश केसीको सभाध्यक्षमा सुरु भएको सो कार्यक्रममा पुनर्वास नगरपालिकाका नगर प्रमुख जिवनराज थापा प्रमुख अतिथिमा आसिन हुनुहुन्थ्यो भने पुनर्वास-८ का वडाध्यक्ष राना श्रवण र बागिश्वरी माध्यमिक बिधालयका प्रधानाध्यापक डिल्ली प्रसाद शर्मा बिशिष्ट अतिथीमा हुनुहुन्थ्यो ।

त्यसैगरी उपस्थित विभिन्न तह तप्काका व्यक्तित्वहरु अतिथीमा रहनुभएको थियो । प्रमुख अतिथिको तर्फबाट बोल्नुहुदै नगर प्रमुख थापाले कार्यक्रम सम्पन्न गर्न आर्थिकका लागि नडराउन आयोजक समितिलाई अनुरोध गर्नुभएको छ । उहाँले अरुले भोगचलन गर्दै आएको कोटेश्वर महादेव मन्दिरको नाममा रहेको पाँच कट्ठा जमिन नगरपालिकाको न्यायिक समितिमा दुई पक्ष छलफल गराउने यदि सहमतिमा नआए अदालतबाट कानुनी हिसाबले फोर्स लगाएर भएपनी नगरकै पहलमा कित्ता काट गराउने बताउनु भएको हो । घटस्थापनाका दिन देखि सुरु भएको रामलीला महोत्सव असोज २८ गते सम्पन्न सञ्चालन हुने रामलीला आयोजक समितिले जनाएको छ ।

कार्यक्रमका संरक्षक रहनुभएका अनन्त विभुषित स्वामी गोबिन्दाचार्य महाराजले स्वागत मन्तव्य प्रस्तुत गर्नुहुँदै पुनर्वासका नगर प्रमुखलाई कोटेश्वर महादेवको नाममा रहेको जमिनको विवाद शान्तिपुर्ण तवरबाट आफ्नै कार्यकाल भित्र टुङ्गाउन आग्रह गर्नुभएको थियो । कार्यक्रमलाई लोक तथा दोहरी गायिका हेमन्ता भट्टराई र बागिश्वरी माबिका शिक्षक पदम शाहले सञ्चालन गर्नुभएको थियो ।

